क्षति भएको धरहराको आंशिक भागलाई सिसामा राखिने

|

काठमाडौंः गोरखा भूकम्पका क्रममा ढलेको धरहरा तोकिएको समयमा निर्माण हुन नसक्ने भएपछि ठेकेदार कम्पनी समयावधि थप्नले लविङमा जुटेको छ।

धरहराको बाँकी संरचना निर्माणका लागि पर्याप्त जग्गा समयमा उपलब्ध हुन नसकेको भन्दै निर्माण कम्पनीले समय थप गर्न पुनर्निर्माण प्राधिकरणलाई आग्रह गरिरहेको छ। 

निर्माण कम्पनीसँग दुई वर्ष भित्रमा धरहराको निर्माण सक्नुपर्ने गरि सम्झौता भएको थियो। तर निर्माण कम्पनी अहिलेदेखि नै म्याद थप्ने लविङमा लगिरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयले जानकारी दिएको छ।

धरहरा निर्माण सुस्त भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सम्पदा विभागका प्रमुख राजुमान मानन्धरले बताए। उनका अनुसार असोजसम्ममा धरहरा टावरको सम्पूर्ण काम सकिसक्नु पर्ने थियो। ५० प्रतिशत काम सकिसक्ने अवस्थामा अहिलेसम्म धरहराको भौतिक संरचनाको ३० प्रतिशत मात्रै काम भएको उनले जानकारी दिए ।

निर्माण व्यवसायीले धरहराको निर्माण गर्ने बेला सम्झौता भएअनुसार ४२ रोपनी जग्गा उपलब्ध गराउनु पर्ने माग गरेको उनले बताए। उनले भने, 'प्राधिकरणले समयमा जग्गा उपलब्ध गराउन नसकेको हो, त्यो कुरा प्राधिकरणले स्वीकार्नु पर्छ।'

दुई महिनाअगाडि हुलाक घर भएको भवन भत्काएर जग्गा उपलब्ध गराइसकिएको उनले जानकारी दिए। समय-समयमा रकम भुक्तानी गरिरहँदा पनि निर्माण कम्पनीले ढिलो गरिरहेको उनको भनाइ छ। निर्माण गर्न ढिलो हुँदा समय थप्न ठेकेदार कम्पनीले विभिन्न बहाना बनाइरहेको दाबी उनले गरे।

'हुलाक घरको जग्गा बेसमेन पार्किङका लागि खाली गरिएको हो। तर धरहरा बनाउन जरूरी हुलाक कार्यालय बाहिर नै पर्याप्त थियो,' उनले भने, 'जग्गा हुँदा हुँदै किन ढिलो गरिरहेको छ, धरहराका लागि टावर र जग बनाएर निर्माण अगाडि लान सकिन्थ्यो।'

धरहरा निर्माणको प्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पनि बुझाइसेको उनले बताए। निर्माण कम्पनीले विभिन्न माग र राखेर समय थपिदिनु भनेर प्रधानमन्त्री कार्यालयमा जानकारी गराइसेको उनले प्रष्ट पारे। 'निर्माण कम्पनीले ढिलो गरेकै हो, यसमा दुईमत छैन,'उनले भने ।

निर्माण प्रक्रियाले गति लिएको छैन। त्यसमा बढी भन्दा बढी कामदार लगाएर काम समयमा सम्पन्न गर्नुपर्नेमा कम्पनीले गम्भीर काम नगरेको  उनको भनाइ छ। प्राधिकरणले काम प्रगतिको र निर्माणको शैलीको लिस्ट पनि चाँडै माग्ने उनले थाहाखबरलाई बताए ।

धरहरा निर्माण प्रक्रियामा केही ढिलो भएको छ त्यसमा विविध कारण रहेको  धरहरा निर्माण कम्पनी जिआइटिसी रमणका निर्देशक रमण महत्तोले बताए। उनका अनुसार नेपाल टेलिकम र विद्युत प्राधिकरणले बिजुलीको तार  हटाउन नसक्दा काममा ढिलासुस्ती भएको हो ।

उनले भने, 'स्थानीयले पटक पटक काममा अवरोध गरेर निर्माण कार्यमा अवरोध गरेका छन्।' कहिले बीचमा बाटोमा खोलिदिनु पर्ने भनेर पनि विवाद आउँदा पनि काममा बाधा आएको उनले बताए ।

समयमा काम नसकिने भएपछि म्याद थप्न पुनर्निर्माण प्राधिकरणलाई अनुरोध गरेको महतोले बताए। समय नथपिए पनि काम लथालिङ्ग छाड्न नहुने उनले प्रष्ट पारे। त्यसका लागि प्राधिकरणसँग छलफल भइरहेको उनले बताए ।

पुनर्निर्माण प्राधिकरणसँग २०२० अक्टोबर ८ सम्ममा धरहरा  निर्माण गर्ने गरी जिआइटीसी रमण कम्पनीले सम्झौता गरेको हो। निर्माण सुरु भएको एक वर्ष भइसकेको उनले बताए।

उनले भने, 'काममा पनि कुनै ढिला नभएको छैन, धरहराको तल्लो सतहको काम पनि भइसकेको छ।' धरहराको पिल्लरको निर्माण गरिसकेर टावरको लागि ढलान गर्ने काम भइरहेको उनले बताए। पिलर निर्माण गर्दा बढी हिलो भएर पनि काममा बाधा आएको उनले जानकारी दिए। 'कम्पनीको प्राविधिक कारणले पनि  केही ढिलो भएको हो, 'उनले भने।

सुख्खा सुनधारामा धरहरा निर्माण भएपछि २४ घन्टै पानी बग्ने उनले जानकारी गराए। 'पानी संकलन गर्न दुईवटा बोरिङ गरेको छ,'उनले भने। भूकम्पले क्षति गराएको धरहरालाई १२ एम,एम को सिसा लगाएर संरक्षण गरिने उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.