|

पर्सा : पर्सा जिल्ला अदालतको आदेशबमोजिम एसिड आक्रमण गरी मुस्कान खातुनलाई शख्त घाइते बनाउने दुई युवा पुर्पक्षका लागि बालसुधार गृह चलान भएका छन्। जिल्ला अदालत पर्सामा एसिड आक्रमण गर्ने अभियुक्तसहित प्रहरीले मिसिल पेश गरेलगत्तै भएको थुनछेक बहसपछि दुवै युवा पुर्पक्षका लागि वीरगन्जस्थित बालसुधार गृहमा चलान भएका हुन्।

अदालतमा पेश गरेको मिसिलमा दुवै अभियुक्तको उमेर १८ वर्ष नकटेको देखिएपछि कारागारमा नभई बालसुधार गृहमा राख्न आदेश भएको पर्सा जिल्ला अदालतले जनाएको छ।

बालसुधार गृहमा चलान भएका युवाहरुमा वीरगन्ज २ छपकैयाका सम्साद मिया र मजिद आलम रहेको पर्सा जिल्ला अदालतका श्रेष्तेदार कृष्ण प्रसाद अधिकारीले बताए।

पर्सा जिल्ला अदालतको २०७६ ‘सी' ११४ नम्बरको मुद्दा जिल्ला अदालतका एक नम्बर जिल्ला न्यायधीश प्रकाश खरेलको इजलासमा बहस भएको थियो। बहस पछि फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७९ बमोजिम उनकै आदेशबमोजिम पुर्पक्षका लागि बालसुधार गृहमा पठाइएको श्रेस्तेदार अधिकारीको भनाइ छ।

एक कानुन व्यवसायीले मात्र गरे बहस

मुस्कान खातुनमाथि एसिड प्रहार भएको सो मुद्दाका प्रतिवादी मिया र आलमको पक्षमा वैतनिक कानुन व्यवसायी प्रतिमा चौरसियाले मात्र बहस गरिन्। सरकारवादी मुद्दामा वादीको तर्फबाट सरकारी वकिल कार्यालय पर्साका जिल्ला न्यायधिवक्ता रुद्रप्रसाद पन्थी, सहन्यायधिवक्ताद्वय टिकाराम भण्डारी र उमंग निरौलाले बहस गरेको पर्सा जिल्ला अदालतले जनाएको छ।

एसिड प्रहारकर्ताको उमेर तिन थरी

मुस्कान खातुन माथि एसिड आक्रमण गर्ने मिया र आलमको उमेर मिसिलमा फरकफरक उल्लेख गरिएको छ। पर्सा प्रहरीले अभियुक्तसँग लिएको बयानमा आलमको उमेर १९ र मियाको उमेर १८ वर्ष छ।

त्यसै गरी प्रहरीको थुनामा भएका समयमा पर्सा प्रहरीले नारायणी अस्पतालमा चेकजाँच गराउँदा नारायणी अस्पतालका चिकित्सकहरुले अभियुक्तहरुको उमेर १६ देखि १८ र १८ देखि २० सम्मको उल्लेख गरेको छ।

त्यसैगरी  २०७१ माघ ८ गते जन्मदर्ता गराएको उल्लेखित जन्मदर्ता प्रमाण पत्रमा मजिद आलमको उमेर ०६२ साल बैशाख १ गते र समसाद मियाको ०६४ साल भएको उल्लेख गरिएको छ।

समसादको जन्मदर्ता ०६७ साल असोज महिनामा गराएको देखिन्छ। दुवैको जन्मदर्ताको प्रमाणपत्र हेर्दा शंकाजनक अवस्थाको भएको अदालतका एक कर्मचारीले बताए। फैसलाका समयमा थप अनुसन्धान होला। अहिले अदालत समक्ष जुन प्रमाण आइपुगेको त्यसैलाई अदालतले मान्नु पर्छ उनले भने।

घटना यसरी भएको थियो

गएको भदौ २० गते वीरगन्ज ३ छपकैयाबाट वीरगन्ज महानगरपालिका वडा नम्बर ६ मा रहेको श्री त्रिभुवन हनुमान माध्यमिक विद्यालयमा पढ्न जाने क्रममा वीरगन्ज ४ विर्तास्थित गणेशमान चोकमा पुग्दा बाटोमा नै एसिड आक्रमण गरी मुस्कानलाई मिया र आलमले घाइते बनाएका थिए। १५ बर्षीय मुस्कानलाई नातामा पर्ने मजिद आलमले मनपराएको र उनले चाहे बमोजिम नभएपछि समसाद मियाको सहयोगमा एसिड आक्रमण गरेका थिए।

मुस्कान आफ्ना साथीहरुसँग भदौ २० गते शुक्रबार बिहान ६ बजेतिर वीरगन्ज ४ बिर्तामा पुगको समयमा विर्ताको गणेशमान चौकमा दुई युवकले एसिड आक्रमण गरेको प्रहरीले पक्राउ गरेका दुवै युवाले पनि स्वीकारी सकेको मिसिलमा पनि उल्लेख छ। 

घाइते मुस्कानलाई भने वीरगन्जको नारायणी अस्पतालमा प्राथमिक उपचार पछि थप  उपचारको लागि नारायणी अस्पतालले सोही दिन काठमाण्डौको किर्तिपुर रिफर गरेको थियो। हाल उनी त्यही उपचारार्थ रहेको घाइतेका बुबा रसुल अलीले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.