काठमाडौं : समाजको तल्लो तप्काको मर्मलाई आफ्ना कविता र निबन्धमार्फत प्रस्तुत गर्न रुचाउँछन् कवि तथा निबन्धकार रमेश सायन।
वि.सं. २०७१ मा उनको कविताकृति 'भागेर भूगोलभरि' प्रकाशन भएको थियो। कविताको क्षेत्रमा पाठकका प्रिय बनेका उनी निबन्ध लेखनमा पनि परिचित छन्। उनले लेखेको संस्मरणात्मक कृति 'छुटेका अनुहार' ले वि.स २०७५ को पद्मश्री साहित्य सम्मान प्राप्त गरेको थियो।
कविता लेखनबाट नेपाली साहित्यमा प्रवेश गरेका सायनले कवितालाई चेतनाको ईश्वर मान्छन्। कविता लेखनमा उनको आकर्षण र अहिलेको नेपाली कविता लेखनमा उनको बुझाई बारे थाहाखबरकर्मी राजु पौडेलले गरेको कविता संवाद :
कविताप्रति आकर्षण किन?
कविताको तत्व थाहा पाएर कविता लेख्न थालेको होइन्। कविता रहर थियो। स्कुलमा पुरस्कार पाइने लोभले कविता लेखेँ। त्यसपछि साथी भाइले कवि भनिदिन्छन् कि भन्ने लोभमा लेख्न थालेँ। पत्रपत्रिकामा नाम छापिने लोभले कविता लेख्न थालेँ। कविता लेखनको आनन्द छुट्टै रहेछ भन्ने कुरा निकै पछि मात्र थाहा पाएँ। कविताको सौन्दर्य विषय र गहन अर्थ भर्खर थाहा पाउँदै छु।
कविताको धर्म के हो?
कविता आत्मासँग जोडिएको विषय हो जस्तो लाग्छ। कविता ध्यान रहेछ। अनुभूतिपरक कविता लेख्दा मलाई ध्यानमा गएको जस्तो लाग्छ। कविता आत्मिक ध्यान हो।
पहिलोपटक पढेको कविता याद छ?
यो प्रश्नले मलाई 'टालाटुली बाटुली' भन्ने कविता याद दिलाउन मद्धत गर्यो।
कविता लेखनको लागि वातावरणको महत्व कति छ?
कवितामा वातावरणको महत्वभन्दा घटना ज्यादा हुन्छ। कविता घटना हो। घटना घटिरहँदैन। घटनालाई 'क्याच' गर्ने हो। कविता वातावरणमा भन्दा घटनामा आधारित हुन्छ।
अन्य कविको कुनै त्यस्तो कविता छ जुन मैले लेख्न पाएको भए हुने लाग्ने?
मलाई धेरै कविको कविता पढ्दा यस्तो कविता लेखिन होला भन्ने लाग्छ। अनगिन्ती कविका कविताहरू छन्। जुन पढ्दा मैले यो विषय बारे किन सोचिन भन्ने लाग्छ। मेरो बुद्धी कहाँ थियो भन्ने लाग्छ।
कविता लेख्नु चानचुने कुरा पक्कै होइन। यद्यपि, कविता लेखनमा आकर्षण बढ्दो छ। कविता रहरले लेखिने चिज हो कि रहर नै कवि हुनुको पहिलो खुड्किलो हो?
रहरले नै कविता लेखिने हो। आत्मिक सन्तुष्टिको लागि लेखिने कविताको पहिलो खुड्किलो रहर नै हो। जब कविताले आनन्दित हुन थालिन्छ। तब झन झन कविता लेख्न रहर लागिरहन्छ। त्यसपछी कविताका आन्तरिक तत्वहरूको ज्ञान पनि बुझिदैं गइन्छ सायद
पछिल्लो पुस्ताका कविले देश, माटो, मृत्यु, घाट, आकाश, फूल, जून, सपना र प्रेमका विम्व सबैभन्दा अटाएका छन्। के यी विम्वलाई कवितामा नअटाएसम्म कवि हुन नसकिने हो?
जो कवि कविता लेख्नकै लागि कविता लेख्छन्। कसैले कवि भनिदिउँन भनेर कविता लेख्छन्।तिनले मात्र यी विम्वको प्रयोग गर्छन्। मैले पनि त्यस्ता विम्वको प्रयोग गरेको छु।
वास्तविक कविले चेतना र कलाको उच्चतम प्रयोग गर्छ। अनुभूतीपरक कविता लेख्ने कविले यी विम्व मात्रको प्रयोग नगर्लान । यी विम्वभन्दा धेरै माथी उठेर कविता लेखिन्छन्।
भौगोलिकताले कविता लेखनमा असर पर्छ?
कवितामा भौगोलिकताको असर रहन्छ। यो महत्वपुर्ण विषय पनि हो। जुन ठाउँमा जसरी बाँचिरहन्छ मान्छे उसले त्यही ठाउँको धार्मिक आर्थिक सामाजिक राजनितिक असर पार्छ। एउटा कवि समाजबाट टाढा भाग्न सक्दैन। आफ्नो भोगाइको वृतभन्दा पर पुग्न सक्दैन। अहिले त झन् नेपाली कवितामा पहिचान, आफ्नोपनको विषय उठिरहेको छ। आफ्नोपनलाई कसरी कलाको माध्यमले सुन्दर बनाउने भनेर बहस गरिरहेका छन्।
नराम्रा कविता बारे बोल्न चाहनुहुन्न। सबैको प्यारो बन्ने रहर पुगेन?
नराम्रा कविता बारे किन बोलिरहनु र? जुन कविताले छुन्छ उक्त कवितालाई मैले नराम्रो भनेपनि राम्रै हुन्छ।
कविता लेख्नेले पनि कविताको संरक्षणका लागि पनि भूमिका केही होला नी?
कविहरूले कविता संरक्षणको लागि सोचेका हुन्छन्। कविता नमास्सिउन र कविताको सौन्दर्य उच्चतम होस् र पाठकलाई छुन सकुन् भनेर कविले सोचिरहेका हुन्छन्। मैले पनि गरिरहेको छु। तर देखाउन सकिन होला।
जीवनमा कसैको निम्ति कविता लेख्नुभयो?
मैले आफ्ना लागि कविता लेखेँ। मैले प्रेम गरेँ। प्रेमका लागि कविता लेखेँ। समाजमा हुर्केँ। समाजकै लागि कविता लेखेँ। यी सब मसँग नै जोडिएका विषय हुन्। जसले अरूका लागि कविता लेखेँ भन्छ। उसले झुट बोलिरहेको छ। मान्छेले आफू वरीपरीका विषयलाई कवितामा उतार्ने हो।
पहिलोपटक गिफ्ट पाएको कविता कृति?
प्रशस्त पाएको थिएँ। तर याद गर्न सकिनँ।
अधिकांश नेपाली कविलाई विदेशी कवि मन पर्छ। (यो कुरा प्रशस्त कविहरूको अन्तर्वार्ता पढ्दा देखिन्छ) के अहिले नेपालमा सुन्दर कविता लेख्ने कवि छैनन्?
मेरा पुस्तामा प्रशस्त कवि छन्। मेरो पुस्ताका राम्रा कविहरूको नाम भन्नुपर्दा डा. निरज भट्टराई र नविन प्राचिन हुन्। उनीहरूले नेपाली कवितामा अनुभूति र भावलाई जुन गहिराईमा कविता लेखिरहेका छन्। ति साच्ची नै सुन्दर छन्। उनीहरूबाट मैले कविता लेख्न सिकिरहेको छु।
तपाईंको ईमेल गोप्य राखिनेछ ।