|

छुटिनु अघि
छुटिनु अघि

देखाउनु तिमीले
एक झलक
बस् एक झलक

हेर्नुछ मलाइ :
कसरी उभिन्छ शरीर
कसरी मुस्कुराउछ ओठ
चमक हराउछ म मा
या
हराउँछ तिमीमा
अथवा
हराएको देख्छ आँखाले

खोज्नुछ फरक
पहिलो र अन्तिम हेराइको
पहिलो र अन्तिम मुस्कानको
पहिलो र अन्तिम छटपटीको
पहिलो र अन्तिम स्पर्शको

हेर्नु छ, एकटकले—
विदाइमा हल्लिएको हात
कदम बढिरहेको पाइताला
हावाले हल्लाइरहेको केश
बढ्दै जान लागेको दुरी

एक कौतुहलता त मनमा
झनै गढिरहेछ
जस्तो कि
जादाँजादैँ तिमी
कतिचोटि हेरौला
फर्किएर।

सम्बन्ध
एकाबिहानै
झस्काएर गयो अखवार
लोग्नेको हत्यारा
स्वास्नीलाइ बनाएर

हिजो मात्र दिएथेँ
नानीहरुलाइ होमवर्क
लेख्न लगाएथेँ निबन्ध
बडो मुश्किलले जुराएथेँ – शीर्षक
सोधेका थिए,
बुझ्ने गरि भन्नुस न
सम्बन्ध के हो ?
रुखो थियो मेरो जवाफ
भनेको थिएँ :
बाबुआमालाइ सोध्नु

के भन्दा हुन् बाबुआमा
आफैलाइ हेरेर फर्काउछन् उत्तर
या
कितावी शैलीमा ओकल्छन् झुट
व्यवहारले बनाउछ सम्बन्ध
या
सम्बन्धअनुसार हुन्छ व्यवहार
साच्चै,
अखवारले मलाइ लाटो बनायो

मेटिएन तिर्सना
सोधे बुढा बालाई
जसले पार गरिसकेका थिए
सम्बन्धै सम्बन्धको डिस्टिङसन
बडो भाबुक शैलीमा
कपालमा हात राखेर भन्नुभो:
बाबु!
मान्छेको आयु हुन्छ
सम्बन्धको हुँदैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.