|

मुगु : वर्षेनी यो समय रारा घुम्नका लागि उपयुक्त मौसम मानिन्छ। अहिले रारा घुम्न आउने आन्तरिक पर्यटकको घुइँचो छ। यो समयमा दैनिक पाँचसयदेखि एक हजारसम्म आन्तरिक पर्यटक रारा पुग्ने गरेका छन्।  

बाह्य पर्यटक भन्दा रारा आन्तरिक पर्यटकको चाप बढ्दो क्रममा छ। रारा एकपटक पुग्नै पर्छ भन्ने मान्यता आन्तिरक पर्यटकलाई भए पनि  रारामा भने जस्तो सेवा सुविधा नहुँदा पर्यटक समस्यामा छन्। रारामा पर्यटक बढे्सँगै  बास बस्न र खानको समस्या देखाउदै रारामा एक डेढ घण्टा रमाउने र बास बस्न जुम्लाको भुलभुले, गोठिज्युलातिर फर्कने गरेका छन्।

राराभित्र दुई होटल एक होम स्टे छ यिनै होटल, होम स्टेमा एक पटकमा मुस्किलले तिन सय जनाले र टेन्ड, पाल हालेमा ५ सय सम्मले बास बस्न सक्छन्। तर नजिकै रहेको मुर्मा गाउँ, माँझघट्ट, सल्लेरीमा होटेल भए पनि व्यवस्थित नहुँदा स्थानीयले आम्दानी लिन नसेकेका रारा पर्यटन विकास समितिका अध्यक्ष देवीकृष्ण रोकायाले बताए। उनका अनुसार रारा आउने पर्यटकले चाहे जस्तो मनोरञ्जन पनि लिन सकेका छैनन्।

दशैं र तिहारको विदा, फुर्सद मिलाएर रारा आउने पर्यटक फर्किँदा केही खल्लो महशुस गरेर फर्किने गरेका अध्यक्ष रोकायाको भनाई छ। रारा घुमेर फर्किने क्रममा रारा प्रवेश गर्ने प्रमुख नाका सल्लेरी बजारको एक होटेलमा खाना खान बसेका काभ्रे पलाञ्चोकका सुरेश श्रेष्ठले केही दुखेसो गरे।

रारा घुम्न चाहने हामी जस्ता धेरै छन् तर हिलाम्मे सडक र धुलाम्मे तथा खाल्डा खुल्डी सडकका कारण रारा आउदा जाँदा निकै सास्ती हुने रहेछ। परिवारसहित दशैंको विदा मनाउन काभ्रेबाट चार दिन लागेको बताउँदै रारा पुगेकी शान्ति श्रेष्ठले भनिन,' राराको नाम सुन्दा वित्तिकै सबैको मन त्यतिकै लोभिन्छ। तर खान बस्न जे सुकै होस रारासम्म पुग्नेबाटोको स्तरोन्नति गरिनु पर्छ।'  

सल्लेरीदेखि रारामा होटेल रहेको स्थानसम्म जंगलको बाटो भए पनि सुरक्षा पोष्ट नरहेको र एक्लै यात्रा गर्ने पर्यटकलाई समस्या पर्न सक्ने, महिला बालबालिका असुरक्षित हुन सक्ने शान्तिको भनाई थियो। बास बस्ने र खानाका लागि होटल पर्याप्त नभए पनि मान्छे जसो मिलाएर बसिहाल्छन्। तर रारा जान अन्तिमसम्म सवारी साधन रोकिने स्थान सल्लेरी बजारमा गाडीमा चाहिने इन्धनको वितरण केन्द्र र एक सवारी साधनमर्मत गर्ने ग्यारेज अनिवार्य खोल्नु पर्ने सुरेशले बताए। 

यदि गाडी वा मोटरसाइकल विग्रिए खान बस्न भन्दा ठूलो समस्या त्यो हुने उनको तर्क छ। परिवारसहित घुम्न आएका काठमाडौंका पुष्कर कँडेलले पनि उस्तै गुनासो गरे। 'खान बस्नको त्यति धेरै समस्या छैन।

हजारौ मान्छे घुम्न आउछन्। ती मध्ये एक दुई जनालाई समस्या होला। तर सबैले दु:ख पाए भन्न मिल्दैन' कडेंलले भने। तर राराका आसपासमा होटेल व्यवसाय गर्ने होटेल व्यवसायीले आउने पाहुनालाई सेवा दिने भन्दा पनि कसरी पैसा कमाउने भन्नेमा लाग्ने गरेको आफूलाई महशुस भएको उनले बताए। उनले पनि रारा पुग्ने पर्यटकका लागि बाटो नै मुख्य समस्या देखाए। 

नाग्मदेखि गमगढी सम्ममा सडक खण्ड स्तररोन्नतिका लागि सडक डिभिजन कार्यालयले काम छिटो नगर्दा समस्या छ भने छायानाथ रारा नगरपालिका ७ र ८ मा पर्ने टोप्लादेखि सल्लेरी रारासम्मको बाटो खुले पनि सडक कच्ची र ठाउँ ठाउँमा खाल्डाखुल्डी रहेकाले सवारी साधन आवत-जावतमा सास्ती भोग्नु परेको छ।

उद्योग वाणिज्य संघ भन्छ : राराबाट उपलब्धि शून्य

यता उद्योग वाणिज्य संघ मुगु नेपालकै सबैभन्दा ठूलो ताल रारामा पर्यटकको चाप बढ्दै गए पनि मुुगुलाई फाइदा नभएको बताएको छ। रारा मुगुमा पर्छ तर मुगाली जन्ताले रारा बाट लाभ लिन सकेका छैनन्। एक दुईजना पहुँचवालाले राराको नाम बाट फाइदा लिएका भए पनि रारा बाट मुगाली लाई फाइदा नभएको  मुगु उद्योग वाणिज्य संघ मुगुका अध्यक्ष कमल बुढाले बताए। 

रारामा पहुँचवाल दुई जनाको होटल भए पनि पर्यटक बढेमा थेक्न सकिँदैन। रारा आउने सडक भरपर्दो छैन। त्यही पनि रारा आउने पर्यटक मुगु सदरमुकाम गमगढी नपुगी माथिबाटै रारा जाने र उतैबाट फकिर्ने गर्नाले पर्यटक पनि सास्ती खेप्नु परेको र ब्यवसायीले पनि राराबाट फाइदा नलिएका अध्यक्ष बुढाको भनाई छ। 
उनी भन्छन् ,'रारा मुगु र मुगालीको हो। राराबाट पहिलो फाइदा मुगालीले लिनुपर्छ।' 

त्यसका लागि रारा जाने बाटो माथिबाट नै नभई पिना बालै गमगढी हुँदै रारा जोडिनु पर्ने अध्यक्ष बुढाले बताए। यो सडकको विकल्पलाई रोजी पर्यटकलाई एक बास सदरमुकाम गमगढीममा बस्ने वातावरणको सिर्जना गरे पर्यटकले पनि सास्ती नपाउने र मुगालीले पनि लाभ लिने भएकाले सम्पूर्ण सरोकारवाला निकायले यसप्रति चासो दिनुपर्ने अध्यक्ष बुढाको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.