हात्ती आक्रमणबाट ५ वर्षमा पाँचकै मृत्यु

|

कञ्चनपुर : कञ्चनपुरमा जंगली हात्ती र मानव विचको द्वन्द्व उत्कर्षमा पुगेको छ। हात्तीको आवागमनमार्ग र वास स्थान मिचेर बस्ती बस्न शुरु गरेपछि द्वन्द्वको शृंखला सुरु भएको हो।

हात्तीले हिँडने जैविक मार्ग मासेर बस्ती बसेपछि जंगली हात्तीले प्रत्येक वर्ष उपद्रो मच्चाउँदै आएको छ। द्वन्द्वकै कारण हात्तीको आक्रमणबाट मानव मारिने र मानवको आक्रमणबाट हात्ती मारिने क्रम चल्दै आएको छ। बुधबार मात्रै शुक्लाफाँटा नगरपालिका १ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराको हात्तीले आक्रमण गर्दा ज्यान गयो। अर्का नारायण सार्कीले भागेर ज्यान जोगाए।

विगत पाँच वर्षको अवधिमा पाँच जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन् भने आधा दर्जन बढी बासिन्दा घाइते भएका थिए। पुनर्वास नगरपालिकाको ‘ख’ गाउँमा तीन वर्षअघि जंगली भाले हात्ती मृत अवस्थामा फेला पर्‍यो। त्यसको अघिल्लो वर्ष एक हात्ती घाइते अवस्थामा फेला परेको थियो।  हात्तीले पाँच वर्षको अवधिमै तीन दर्जन बढी बासिन्दाका घर भत्काई क्षतिसमेत गरेको छ।

लालझाडी र शुक्लाफाँटामा हात्तीको जोखिम

भदौ महिना शुरु हुँदै जंगली हात्तीको बथान कञ्चनपुरका ग्रामीण क्षेत्रमा पुगेर उपद्रो मच्चाउन सुरु गर्छन्। भारतीय दुधुवा नेशनल पार्कबाट छिर्ने हात्तीको बथानले निरन्तर रूपमा पुनर्वास, बेलौरी, बेलडाँडी, लालझाडी, कृष्णपुर, महाकाली, भीमदत्त र शुक्लाफाँटा नगरपालिका क्षेत्रमा पुगेर उत्पात मच्चाउने गरेका छन्। सबैभन्दा धेरै चारैतर्फ जंगलले घेरिएको लालझाडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिकामा हात्तीले क्षति पुर्‍याउँदै आएको छ।

स्थानीय किसानले खेतमा रोपेको धान, उखु, केरा लगायतका बालीमा हात्तीले नोक्सानी पुर्‍याउनु यहाँका लागि नौलो होइन।

कमैले पाउँछन् क्षतिको राहत

भित्र्याउन तयार रहेको धान लगायतको बाली व्यापक रुपमा हात्तीको बथानले नोक्सान पुर्‍याउँदै आए पनि हालसम्म थोरै व्यक्तिहरुले मात्रै बालिनालीको क्षतिपूर्तिको रकम पाएका छन्। शुक्लाफाँटा नगरपालिकाले दुई वर्षअघि १९० जना हात्ती पीडितलाई दुई हजारका दरले अन्नबालीको बीउ खरिदका लागि रकम उपलव्ध गराएको थियो।

मृतकका परिवारलाई पाँच लाख

हात्तीले आक्रमणमा परेर चार वर्षअघि ज्यान गुमाएका बेलौरी नगरपालिकाका सुन्दरी चौधरीका परिवारलाई तत्कालीन वन कार्यालयले पाँच लाख क्षतिपूर्तिवापत उपलव्ध गराएको थियो।

हात्तीले घर भत्काएर बालीनालीमा नोक्सानी पुगेका केही परिवारले सोही कार्यालयमार्फत राहत रकमसमेत बुझेका थिए। त्यसपछि हात्तीले किसानका खेतमा व्यापक नोक्सानी गर्दै आए पनि राहत रकम पाएका छैनन्। अधिकांश शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती र चुरे क्षेत्र आसपासका बस्तीहरुमा हात्तीको बथानले बढी नोक्सानी पुर्‍याउने कार्य गर्दै आएको छ।

खेतको धान सकिएपछि भण्डारको खान आउँछ

प्रतिवर्ष हात्तीको बथानले झण्डै दुई सय बढी विघामा लगाईएको धानबालीमा नोक्सानी गर्दछ। धानबाली खेतमा सकिएपछि हात्तीको बथानले स्थानीय किसानले घरभित्र भण्डारण गरेर राखेको अन्न खानसमेत पछि पर्दैन। 

पुर्खौंदेखि चुरे फेदीको बाटो  हात्तीले हिँड्न नछोडने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्लयाले बताए। हात्ती हिँड्ने क्षेत्रमा घनामानव बस्तीसँगै अन्न उत्पादन गरिने र भौतिक संरचना निर्माण गरिएपछि हात्ती र मानव बीचको द्वन्द्व हुनु स्वाभाविक भएको उनले बताए।

बथानका लागि विचरण गर्ने क्षेत्र थोरै हुँदा आहारका लागि हात्ती बस्तीमा पस्ने गरेको छ उनले भने, ‘झण्डै पाँच टन तौल भएको एक हात्तीका लागि दैनिक दुई सयदेखि तीन सय किलोग्राम घाँसपात, त्यतिकै मात्रामा पानीको आवश्यक पर्दछ।

 निकुञ्ज र संरक्षित वन क्षेत्रमा त्यसले पूर्ति गर्न नसक्ने भएकाले हात्तीले किसानका खेतमा पुगेर खेतीमा नोक्सानी पुर्‍याउने गरेको छ।’हात्ती लगायतका जनावरका लागि निकुञ्ज सहितका संरक्षित क्षेत्रको क्षेत्रफल बढाउनुपर्ने देखिन्छ। त्यो तत्काल सम्भव नभएको उनले बताए।

संरक्षित वनको क्षेत्रफल प्रतिवर्ष घट्दै जाँदा हात्तीको सुरक्षित बासस्थान समेत अभाव हुन थालेको छ। कञ्चनपुरमा चोरी शिकारीका लागि हात्ती मारिएको भने रेकर्ड छैन।

डराउन छाड्यो जंगली हात्ती

हात्ती नियन्त्रणका लागि स्थानीय किसानले रातभर जाग्राम बसेर आगो बाल्ने, होहल्ला गर्ने र पटाका लगायत पडकाउने गरे पनि हात्तीले यी क्रियाकलाप बाट हात्तीको बथानले डराउन छोडेको छ।

यी सबै कार्यमा हात्ती अभ्यस्त भइसकेको छ लालझाडी मोहना संरक्षित वननजिकै बस्दै आएका मंगल चौधरीले भने, ‘खेतमै हात्ती भगाउन बसेका हुन्छौं। कति खेर खाएर जान्छ पत्तो नै लाग्दैन। हात्ती आएको थाहा पाए पनि पूरै आहारा खाएरै फर्किने गरेको छ।’

पहिला हात्ती देखेर टाढैबाट भाग्ने स्थानीय बासिन्दा हात्ती भगाउन नजिकै जाने गरेकाले पनि हात्तीको आक्रमणमा परेर घाइतेसमेत हुने गरेको उनको भनाइ छ। हात्ती नियन्त्रण गर्नका लागि निकुञ्ज नजिकैका क्षेत्रमा मेस वायरसमेत जडान गरिएका छन्।

एक करोड ३४ लाख खर्चिने योजना

हात्तीले फलामका खम्बा जडान गरिएको मेसवायर समेत खुट्टा र सुढको सहायताले ढलाएर खेती गरिएको ठाउँमा प्रवेश गरी क्षति पुर्‍याउँदै आएको शुक्लाफाँटा नगरपालिका ६ का वडा अध्यक्ष जगता रानाले बताए।

‘इलेक्ट्रिक फेनसिङ वायर जडान नगरिँदासम्म हात्तीलाई बस्ती प्रवेश गर्नबाट रोक्न सकिँदैन’ उनले भने। हात्ती नियन्त्रणका लागि इलेक्ट्रिक वायर जडान गर्नका लागि शुक्लाफाँटा नगरपालिकाले ३४ लाख र सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रकम खर्चिने योजना अघि सारेको नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले बताए।

हात्तीको बथान चुरे क्षेत्रमा आएपछि दर्जन बढी सामुदायिक वनले मानवीय क्षति न्यूनीकरण गर्न वन प्रवेशमा समेत रोक लगाएका छन्। बैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुर महराले दैनिक लगातार वन क्षेत्रमा हात्ती देखिन थालेपछि अप्रिय घटना हुन नदिनका लागि सार्वजनिक सूचना जारी गरेर वन प्रवेशमा रोक लगाइएको बताए।

परिवार पाल्‍न भारतमा मजदुरी

अन्नबाली हात्तीको बथानले खाएर, खुट्टाले कुल्चेर नोक्सानी गर्न थालेपछि धेरैलाई परिवार पाल्‍न भारतमा मजदुरी गर्न जानुपर्ने अवस्था आएको छ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने मनराखु चौधरी हिउँद र वर्षातका बेला लगाइने बालीमा हात्तीको बथानले प्रत्येक वर्ष नोक्सानी गर्दै आएकाले परिवार पाल्नका लागि अन्न खरिद गर्नका लागि पैसा जुटाउन मजदुरीमा जानुपर्ने भएको बताउँछन्।

भारतीय दुधुवा नेशनल पार्क र चुरेको फेदी हुँदै बर्दिया राष्ट्रिय निकुञ्जबाट गरी ४० देखि ५० को संख्यामा जंगली हात्ती कञ्चनपुर पुग्ने गरेका छन्। निकुञ्जमा बाह्रै महिना रहने रैथाने हात्तीको संख्या भने पाँचवटा रहेको छ। भदौको अन्तिम हप्ता यस क्षेत्रमा पुग्ने हात्तीको बथान कात्तिक महिनामा पुरानै वासस्थानमा फर्किने गरेको छ।

मत्ता हात्तीले मान्छे लखेट्छ

एक्लै रहेको मत्ता हात्ती र छावा सहितको हात्तीले मान्छेमाथि आक्रमण गर्ने गरेको पाइएको छ। ढोइको खोजीमा रहने मत्ताले मानव देखे लखेटनेसमेत गर्दछ। बथानमा छावा सहितको पोथी हात्तीले भने छावामाथि आक्रमण हुन सक्ने संकेत पाए मात्रै आक्रमणमा उत्रिने गरेको जिवजन्तु विशेषज्ञको भनाइ छ।

बथानका अन्य हात्तीले भने आक्रमण गरेको अहिलेसम्म नपाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत पौडयालले बताए।

हात्तीले वन क्षेत्रबाहिर मानवीय क्षति गरे १० लाख, घरमा क्षति पुर्‍याए १० हजार, बालीनालीमा क्षति पुगेको अवस्थामा १० हजारसम्म क्षतिपूर्तिको रकम पाउने व्यवस्था छ। तर, झन्झटिले प्रक्रियाका कारण थोरैले मात्रै क्षतिपूर्तिका निवेदन दिने गरेका छन्।

एक अध्ययनअनुसार नेपालमा झण्डै दुई सयको हाराहारीमा जंगली हात्ती रहेको अनुमान गरिए पनि यसको आधिकारिक रूपमा गणनाको कार्य भने गरिएको छैन। राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, मध्यवर्ती क्षेत्रमा गस्ती, अध्ययन, अनुसन्धान तथा पर्यटकलाई घुमाउने काममा २५० बढी हात्ती पालिएका छन्।

हात्ती संरक्षित जनावर

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार हात्ती संरक्षित जनावरका रूपमा रहेको छ। अन्तर्राष्ट्रिय संरक्षण संघले हात्तीलाई संकटापन्न जनावरको सूचीमा सूचीकृतसमेत गरेको छ। अफ्रिकन र एसियाली गरी दुई प्रजातिका हात्ती विश्वमा पाइने गरेका छन्। जसमध्ये नेपालमा पाइने हात्ती एशियन प्रजातिको हो। 



हात्ती नियन्त्रणका उपाय

जंगली हात्ती हिँडने जैविक मार्गको कनेक्टीभिटी टुटेको क्षेत्रलाई पुनः जोडनका लागि सरकारले प्रयास गर्नुपर्ने देखिन्छ। त्यस क्षेत्रमा रहेको मानवबस्तीलाई अन्यत्र सारेर हात्तीको आवागमनलाई सहज बनाउनुपर्ने हुन्छ।

बस्तीलाई स्थानान्तरण गर्न नसकिने अवस्थामा हात्ती प्रवेश गर्ने क्षेत्रका बासिन्दाले हात्तीले नोक्सानी नगर्ने प्रकारको खेती र जडीबुटी खेतीलाई बढावा दिनुपर्ने हुन्छ। मौरीपालन गरेको ठाउँमा हात्तीले प्रवेश नगर्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई मौरीपालनमा उत्प्रेरित गर्नुपर्ने निकुञ्ज कार्यालका कर्मचारीहरुको भनाइ छ।

अल्पकालीन उपायका लागि हात्ती आउन लागेको थाहा पाउनेबित्तिकै आगो बाल्ने, होहल्ला गर्ने र गैरघातक रुपमा हात्तीलाई नोक्सान नहुने गरी भगाउन सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.