विष्णुले बनाउँदैछन् अल्जाइमर्सको औषधि

|

दमक(झापा) : ज्येष्ठ नागरिकमा बढ्दै गएको बिर्सने रोग अल्जाइमर्स विश्वव्यापी चुनौती बन्दै गएको छ। जीवनको लामो समय विभिन्न क्षेत्रमा योगदान दिएका वृद्धवृद्धाहरू उमेर ढल्कँदै गएपछि बिर्सने समस्याबाट ग्रस्त हुने गरेका छन्।

यसबाट वृद्धवृद्धा नै समस्यामा पर्नुपर्ने अवस्था एकातिर छ भने उनीहरूको अनुभव र क्षमता पनि नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन। कतिपय औषधि विकास भए पनि तिनले गर्ने नकारात्मक प्रभावका कारण अरु समस्या निम्तिने गरेका छन्। यो विश्वव्यापी चुनौतीको सामना गर्न अमेरिकामा बृहत् अनुसन्धान भइरहेको छ।

यसमा अमेरिका, जर्मनी, स्विटजरल्याण्ड, चीन र फ्रान्सका वैज्ञानिकहरु सन् २०१९ देखि जुटेका छन्। तर अल्जाइमर्सविरुद्धका नयाँ र प्रभावकारी औषधि आविष्कार गर्ने यो खोजको नेतृत्व गरिरहेका छन्, झापाको दमक स्थायी घर भएका नेपाली युवा वैज्ञानिक डा.विष्णु रायमाझीले।

पोष्ट डक्टरपछि अनुसन्धान

वि.सं. २०५६ देखि २०६६ सम्म एक दशक उनले दमक बहुमुखी क्याम्पसमा प्राध्यापन गरे। उनी विज्ञान संकायबाट सहायक क्याम्पस प्रमुखसमेत थिए, जागिर पनि स्थायी थियो।

२०५५ सालमा त्रिभुवन विश्वविद्यालयबाट जैविक रसायनशास्त्रमा स्नातकोत्तर उनलाई उच्च शिक्षा अध्ययनको तलतल मेटिएन। त्यसैले सूचना प्रविधिको उपयोग गरि अमेरिकामा अवसरको खोजी गरे।

जब उनी सन् २००९ मा अमेरिका पुगे, एलिनोई राज्यको वेष्टर्न एलिनोई युनिभर्सिटीबाट २ वर्ष लगाएर एमएस तहको अध्ययन् पूरा गरे। त्यसपछि सन् २०११ देखि २०१६ सम्ममा ओहायोको द ओहायो स्टेस युनिभर्सिटीबाट विद्यावारिधि गरे, जैविक रसायनमा नै। विद्यावारिधिपछि अनुसन्धानात्मक अध्ययन-पोष्ट डक्टरल २०१७ र २०१८ मा गरे।

नेपालबाट अवसरलाई पछ्याउँदै अमेरिका पुगेको ९ वर्षमा नामको अघि उनी डाक्टर उपाधि थप्ने हैसियमा मात्र पुगेनन्, उनलाई बिभिन्न अवसरले पछ्याउन पनि थालिहाले। त्यसपछि उनी सन् २०१८ को डिसेम्बरमा फ्लोलिडाको आर्चर फर्मास्युटिकल्समा अनुसन्धान वैज्ञानिकको रुपमा जोडिन पुगे। २०१९ बाट शुरु भएको अनुसन्धान २०२२ मा सक्ने लक्ष्यसहित उनीसहितको वैज्ञानिक टिम अहिले जुटिरहेको छ। 

कस्तो हो अनुसन्धान?

उनको समूहमा अमेरिका, जर्मनी, स्विटजरल्याण्ड, चीन र फ्रान्सका बैज्ञानिकहरू छन्। उनी अनुसन्धानकै क्रममा बढुवा भएर ‘सिनियर साइन्टिष्ट’ भएका छन्। यो समूहले ३ वर्ष लगाएर एउटा औषधि आविष्कार गर्दैछ। जुन औषधि अज्लाइमर तथा पार्किन्सनका लागि नयाँ बरदान हुने विश्वास छ।

‘अहिले प्रयोग भइरहेका औषधिहरूले मस्तिस्क सुनिने समस्या देखिएको छ’ आफ्नो आविष्कार अनुसन्धानको लक्ष्यबारे उनले भने,‘हाम्रो आविष्कारलले  मस्तिष्कलाई सुनिन दिने र अरु कुनै नकारात्मक असर पनि नदेखिने विश्वासा छ।’ उनीहरूले आविष्कार गरेको औषधि हाल आयरल्याण्डमा ‘क्लिनिकल ट्रायल’ का लागि पुगेको उनले जनाए।

सन् २०२२ भित्रमा यो औषधिको व्यवसायिक उत्पादन शुरू गर्ने लक्ष्य छ। यो औषधिले अज्लाइमर तथा पार्किन्सनका बिरामीलाई हाल प्रचलित औषधिको भन्दा कयौं गुणा बढी लाभ दिने उनी बताउँछन्।

नेपालमा सम्भावना छ?

यो औषधि आविष्कार गर्दा ३ वर्षमा नेपाली १ अर्ब रुपैयाँ हाराहारीमा खर्च हुने अनुमान छ। हाल नेपालमा पनि कतिपय औषधि उद्योगहरू छन्। उनीहरूले यसअघि आविष्कार भएका शुत्रका आधारमा औषधि उत्पादन गर्दै आएका छन्।

यदि नेपालमा नै नेपाली वैज्ञानिकले यो तहको अनुसन्धान गरी औषधि उत्पादन गर्ने हो भने विश्वव्यापी रुपमा नेपालको खोज र अनुसन्धानस्तर अरु देशका लागि सिक्न योग्य हुने उनको धारणा छ। उनलाई पनि आफ्नै देशमा आएर खोज अनुसन्धान गर्ने इच्छा छ। तर अहिले जारी अनुसन्धान पूरा भएपछि मात्र यसबारे योजना बनाउने उनले बताए।

‘यो क्षेत्रमा मात्र होइन। अरु क्षेत्रमा विज्ञता हासिल गरेका कयौं नेपाली वैज्ञानिक अरु देशमा पनि छन्। उनीहरूलाई आफ्नै देशमा खोज अनुसन्धान गर्ने वातावरण बनाउने हो भने धेरै नेपाल फर्किन चाहि रहेका छन्’, अमेरिका बसाई कतिन्जेल रहन्छ भन्ने प्रश्नमा उनले थपे,‘म पनि सधैं अमेरिका बस्न गएको होइन। हामी जस्ता वैज्ञानिक अमेरिकामा कति छन् कति? हाम्रो कुनै पहिचान छैन। सबै कुरा पैसा होइन। केही वर्षपछि नेपालमै खोज अनुसन्धान गर्ने योजना छ।’

नयाँ खोज र आविष्कारका लागि चाहिने लागत शुरुमा हेर्दा ठूलो देखिए पनि यसबाट देश र सिंगो संसारले लिने फाइदा भने कयौँ गुना ठूला हुने उनी बताउँछन्। त्यसैले नेपालमा नै विश्वस्तरीय अनुसन्धान सम्भव छैन भन्ने तर्कसँग उनको विमति छ। नीति हुने हो भने लगानी पनि जुट्न सक्नेमा उनी विश्वस्त छन्। 

सामुदायिक शिक्षालयबाटै अमेरिकासम्म

२०३३ सालमा तत्कालीन दमक-१९ मा जन्मिएका उनले प्रारम्भिक शिक्षा स्थानीय सिंहदेवी माविबाट गरे। तर कक्षा ९ मा बिषय रोज्नु पर्थ्याे। उनको चाहना ऐच्छिक गणित। तर यो बिषय त्यस विद्यालयमा नभएपछि सुरुङास्थित मावल बसेर कन्काई माविमा पढे। त्यहीँबाट २०४६ मा एसएलसी पास गरे। त्यसपछि महेन्द्र मोरङ क्याम्पस बिराटनगरबाट २०४९ मा आइएस्सी र २०५२ मा बीएस्सी पूरा गरे। त्यसपछिको यात्रा उनको त्रिभुवन विश्वविद्यालय कीर्तिपुरतिर सोझियो।

सामान्य किसान परिवारका उनलाई सामुदायिक विद्यालय, सरकारी क्याम्पस हुँदै स्नात्तकोत्तर सकिँरहँदा कहिँ ठेस लागेन। ‘मैले सानैदेखि सरकारी स्कुल र क्याम्पसनै पढेको हुँ, मेहनत गरियो भने नतिजा ल्याउन हाम्रो शिक्षा कमजोर छैन भन्ने मलाई लाग्छ’, आफ्नो सफलताको समीक्षा गर्दै उनले थपे,‘कलेज तहको शिक्षाको कुरा गर्ने हो भने पनि अमेरिकामा हाम्रो भन्दा कयौं गुणा महँगो छ। तर हामीले साह्रै सस्तोमा शिक्षा लिन पाइरहेका छौं।’

अमेरिका गएर पिएचडी गर्ने सपना देखेपछि इमेल, इन्टरनेटकै माध्यमबाट आवेदन गरेको उनले सुनाए। त्यसपछि पूरै छात्रवृत्तिमा आफूले अध्ययन गरेको उनले बताए। अध्ययनकै क्रममा केही समय अमेरिकामा उनले प्राध्यापन पनि गरे। ‘म अमेरिका उड्दा जहाजको टिकटबाहेक अरु केही खर्च गरिनँ’ उनले भने,‘त्यहाँ पुगेर पनि बरु पढाउन पनि पाइयो। थप आर्जन गरियो। तर अहिले ८/१० लाख रुपैयाँ कमाई गरेर अमेरिकामै रहने कुनै सपना छैन। केही समयपछि नेपाल फर्किन्छु, फर्किन्छु।’

विज्ञताको क्षेत्र के ?

औद्योगीकरणसँगै वातावरण, पर्यावरण, पारिस्थितिक पद्धति तथा मानव स्वास्थ्यमासमेत बिभिन्न प्रभाव देखिन्छन्। उद्योगहरूको धुँवा, धुलोका कारण पानी, माटो, वायु प्रदुषित हुने र यसबाट मानिस र अन्य बिभिन्न जीवजन्तुले समेत विभिन्न समस्या खेप्नुपर्छ। तर यही समस्याका कसरी समाधान गर्ने भन्ने बिषय उनको विज्ञताको क्षेत्र हो।

‘उद्योग आसपासका मानिसमा कान नसुन्ने, आँखा पाक्ने, छाला चिलाउने जस्ता समस्या देखिन सक्छ। उद्योगबाट उत्पन्न हुने रसायनिक तत्वयुक्त हावा र पानीले हाम्रो पर्यावरणलाई दुषित पार्छ। यो समस्या हाम्रो नेपालमा मात्र होइन, संसारभर छ’, उनले भने,‘तर यसलाई कति कम बनाउने र कसरी नियन्त्रण गर्ने भन्ने कुरा हो। जुन कुरा हामीले अध्ययन गर्ने अवसर पायौं।’ 

उनको घरनजिकै नेपाल-चीनमैत्री औद्योगिक पार्क बन्ने कुरा छ। केही समयअघि काठमाडौंमा यसको सम्झौता पनि भयो। यो प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर पनि हो।

‘यहाँ औद्योगिक पार्क बन्ने कुरा छ। भोलि यहाँ ठूला ठूला उद्योग स्थापना भएपछि यसले स्वास्थ्य, पर्यावरण तथा वातावरणमा समस्या पार्‍यो र यहाँका नागरिक रोगी भए भने त मैले यही बिषयमा यत्रो पढेको के काम’, उनले भने,‘मेरो विज्ञताको क्षेत्र पनि भएकाले म चिन्तित छु। यस क्षेत्रमा म नेपालमा नै बसेर पनि काम गर्न चाहन्छु। तर सरकारले सम्बन्धित क्षेत्रका विज्ञ कहाँ कति छन्। थाह त पाउनु पर्‍यो नि।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.