फूलाउन सके बेच्‍न दु:ख छैन

|

कपिलवस्तु : कपिलवस्तुमा पहिलोपटक पुष्पखेती सुरु गरिएको छ। जिल्लाको शिवराज नगरपालिका– ५ नौडिहवामा युवाहरुको अगुवाईमा जिल्लामै पहिलोपटक पुष्पखेती सुरु गरिएको हो।

स्थानीय ८ युवाले सञ्चालन गरेको ऋग्वेद कृषि फर्मले १० कट्ठामा सयपत्री पुष्प खेती गरेको हो । आठमध्ये ६ युवा वैदेशिक रोजगारीबाट फर्किएका हुन् भने २ वैदेशिक रोजगारमा जाने तयारी त्यागेर पुष्प खेतीतर्फ लागेका छन्।

२ वर्षदेखि व्‍यावसायिक तरकारी खेती गरेका उनीहरुले पहिलो पटक व्‍यावसायिक रुपमा पुष्पखेती गरेका हुन्। फर्मका संचालक युधीर पौडेलले तिहारलाई लक्षित गरेर आफूहरुले यसवर्षदेखि पहिलो पटक सयपत्रीको व्‍यावसायिक रुपमा उत्पादन थालेको बताए।

फर्ममा ४० लाख रुपैया लगानी भइसकेको छ। उत्कृष्ट युवा कृषक तथा राष्ट्रपति पुरस्कार विजेता भास्कर पंगेनीको प्रेरणाबाट आफूहरू व्‍यावसायिक पुष्पखेतीमा लागेको पौडेलले बताए।

फूलाउन सके बेच्‍न दु:ख छैन

गत साउन पहिलो सातामा चितवनबाट ३० हजारको बीउ किनेर ल्याएका थिए। बीउ, जोताई, सिँचाइलगायत गरी पुष्प खेतीमा एक लाखको हाराहारीमा लगानी गरिएको पौडेलले बताए। उनले सयपत्रीको माग बुटवल, भैरहवा, पोखरा, नेपालगंजलगायत स्थानबाट आएको बताए।

‘बिक्रीको खासै चिन्ता छैन, सके जति व्‍यापारीलाई बेच्छौँ बाँकी रहे गाडीमा डुलाएर बेच्ने योजनामा छौं' उनले भने। ‘दसैंमा फूल तयार भएन, तिहार र छठलाई लक्षित गरी अहिले बजारसम्म पुर्‍याइरहेका छौं,’ उनले भने, ‘२ क्विन्टल फूल चितवन पठाइसक्यौं । शनिबार थप २ क्विन्टल पठाउने तयारी गर्दैछौं ।’ ५ सय रुपैयाँ प्रतिकिलोका दरले फूल बिक्री गरिरहेको उनले बताए।

नेपालमै केही गर्ने सोच

एक दशक इजरायल बसेर फर्किएका अर्का संचालक सन्तोष पन्तले नयाँ काम गरी राम्रो आय आर्जन गर्न सकिन्छ भनेर देखाउन खोजेको बताए । ‘यहीं राम्रो आम्दानी हुन्छ, विदेश जाने सोच बनाउनेका लागि मुलुकमै सम्भावना छ भन्ने देखाउन चाहन्छौं,’ उनले भने । फूल आयात बढेको भन्दा पनि हामीले सम्भावना हुँदाहुँदै पनि खेतीका लागि जाँगर नचलाउनु समस्या भएको उनको जिकिर छ ।

तीन लाख आम्दानी

फूल रोप्न १ लाख खर्च भएको र ३ लाख रुपैयाँसम्म आम्दानी हुने अनुमान गरिएको सञ्चालकहरूले बताए । साढे ४ महिनासम्ममा फूल तयार हुन्छ । माला पनि बनाएर बेच्ने गरेको उनीहरूले बताए । एउटा माला सय रुपैयाँमा बिक्री भइरहेको छ। यसपटक १० क्विन्टल फूल उत्पदान हुने अनुमान छ ।

‘फूल व्यवसायलाई व्यावसायिक र राम्रो गर्दै लैजाने सोच छ,’ सञ्चालक पन्तले भने, ‘आगामी दिनमा सयपत्रीसँगै मखमलीलगायत फूल पनि लगाउने योजना बनाएका छौं ।’ चाडपर्वमा मात्र नभएर पूजा, बिहेवारी र अन्य कार्यक्रमलाई पनि लक्षित गरी धेरै किसिमका फूल लगाउने योजना रहेको उनीहरूले सुनाए ।

छोटो सयममै राम्रो आम्दानी

संचालक कपिल न्यौपानेले नेपालमा पुष्पखेतीको राम्रो संभावना रहेको र छोटो सयममै राम्रो आम्दानी पाईने भएकाले पुष्पखेती गरिएको बताए। ‘अझै पनि भारतबाट करोडौंका फूल नेपाल भित्रिएको छ , त्यसलाई बिस्थापित गर्न पनि हामीले यो व्यवसाय सुरु गरेका हौ’ उनले भने। युवा पलयान रोक्न र स्वदेशमै राम्रो आम्दानी लिन सकिन्छ भन्ने उद्देश्यले नै कृषि र पुष्प खेती गरेको उनले बताए।

आफूहरुले सुरु गरेको खेतीले युवा स्वरोजगार, आयात प्रतिस्थापन, वातावरण संरक्षण, मौलिक संस्कृति सम्र्बद्धन लगायतका काममा सहयोग पुग्ने विश्वास रहेको युवाहरुको भनाइ छ। फर्मको रेखदेखका लागि ८ जना कामदार छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.