|

धनगढी : तिहारका लागि भन्दै प्रत्येक वर्ष सुदूरपश्चिममा भारतबाट कृत्रिम मालाको आयात बढिरहेको छ। स्थानीय क्षेत्रमा प्राकृतिक फूलको व्यवसाय नहुँदा प्रत्येक वर्ष भारतबाट कृत्रिम माला ल्याउनुपर्ने बाध्यता रहेको व्यापारीहरू पनि बताउँछन्।

कैलाली, कञ्चनपुर हुँदै सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लासम्म पनि कृत्रिम माला पुग्ने गरेको छ। भाइटीकाको दिन अधिकांशले आफँै लगाएको फूल उनेर माला लगाउने गरेको भए पनि तिहारको सजावटका लागि अत्यधिक रूपमा कृत्रिम मालाको प्रयोग बढेको हो। 

बजारमा कृत्रिम मालाको माग बढेपछि कैलाली भन्सार कार्यालयबाट तीन महिनामा एक हजार क्विन्टल कृत्रिम माला आयात भएको छ।

 

बढ्दो आयात

कैलालीको त्रिनगर नाका भएर आर्थिक वर्ष २०७६÷७७ को साउनदेखि असोजसम्म भारतबाट ३० लाख ६५ हजार ४०० रुपैयाँको सात हजार ५४६ क्विन्टल कृत्रिम माला भित्रिएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी गोपीकृष्ण उप्रेतीले जानकारी दिए।

गत वर्ष सोही अवधिमा एक हजार ३२८ क्विन्टल कृत्रिम फूल माला भित्रिएको थियो। सो अवधिमा चार लाख ६१ हजार २०० रुपैयाँ बराबरको कृत्रिम फूल माला भित्रिएकोमा एक लाख ६४ हजार २२२ रुपैयाँ राजस्व सङ्कलन भएको कैलाली भन्सार कार्यालयले जनाएको छ।

‘प्रत्येक वर्ष कृत्रिम मालाको आयत बढिरहेको छ,’ सूचना अधिकारी उप्रेतीले भने, ‘सुदूरपश्चिम प्रदेशमा फूल उत्पादनमा कमी आएका कारण भारतबाट कृत्रिम माला आइरहेको हो।’

धनगढीमा भारतको नयाँ दिल्ली र पलियाबाट कृत्रिम फूल माला आयात भइरहेको उनको भनाइ छ। धनगढीमा असोज र कात्तिक महिनामा सबैभन्दा बढी कृत्रिम फूल माला आयात भएको उनले बताए।

फूल उत्पादनमा कमी

प्राकृतिक फूल उत्पादन पर्याप्त नहुँदा कृत्रिम फूल र मालाको माग बढिरहेको धनगढीका व्यापारी नरबहादुर विश्वकर्माले बताए। ‘स्वदेशी फूल किन्न कमै आउँछन्,’ उनले भने, ‘अहिले त  घर सजाउनका लागि पनि यी कृत्रिम फूलको अत्यधिक माग छ।’ 

प्राकृतिक फूलको उत्पादन निकै कम रहेकाले कृत्रिम फूलको व्यापार बढिरहेको बताइए पनि पुष्प उत्पादकहरू भने सरकारले चासो नदिँदा उत्पादन बढाउन समस्या भइरहेको बताउँछन्। धनगढी उपमहानगरपालिका–२ की मीरा नेपालीले ६ वर्षदेखि १० कट्ठा क्षेत्रफलमा फूल खेती गर्दै आइरहेकी छन्। तर, कुनै पनि निकायबाट आफूलाई सहयोग नमिलेको उनको भनाइ छ। उनले भनिन्, ‘गत वर्ष मैले नोक्सानी बेहोर्नु प¥यो, कहीँ कतैबाट सहयोग पाइनँ। यस वर्ष फेरि जोखिम मोलेर फूलको व्यापार सुरु गरेकी हुँ।’

आत्मनिर्भर बन्ने प्रदेश सरकारको दाबी

सुदूरपश्चिम प्रदेशमा फूल खेतीको सम्भावना रहे पनि अझै व्यवसायी रूपले फूल खेती हुन सकेको छैन। जसले गर्दा प्रत्येक वर्ष भारतबाट लाखौँ मूल्यमा फूल ल्याउनुपर्ने बाध्यता रहेको छ। प्रदेश सरकारले पुष्प व्यवसायलाई प्राथमिकता दिने जनाएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले प्रदेशलाई फूलमा आत्मनिर्भर बनाउने योजना लागू गरिने बताए। 

‘पुष्प खेतीको प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ,’ उनले भने, ‘सुदूरपश्चिम प्रदेश सबै खाले फूलमा चाँडै आत्मनिर्भर बन्छ।’

प्रत्येक वर्ष स्वदेशी फूलको उत्पादन घटिरहेको छ भने भारतबाट आयत बढिरहेको छ। यसले व्यापार घाटा अझै बढाइरहेको छ। अब आफ्नैै क्षेत्रमा फूल खेतीलाई बिस्तार गर्न तीनै तहको सरकारले ध्यान दिन आवश्यक देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.