|

म्याग्दी : हिमाली जिल्ला म्याग्दीका महिला उद्यमीहरुलाई तिहारका लागि झिनिया बनाउन भ्याइनभ्याई भएको छ। नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएलगत्तै उनीहरुलाई झिनिया बनाउने व्यस्तता बढेको हो।

बेनी नगरपालिका–८, हस्पिटलचोककी महिला उद्यमी भुलकुमारी रोका यतिबेला झिनिया बनाउने काममा व्यस्त छिन्। २०६० सालबाट झिनिया बनाउने काम सुरु गरेकी उनले पछि विस्तारै व्यावसायिक रुपमा झिनिया बनाउन थालेकी हुन्। सुरुवातको समयमा सामूहिक रुपमा पाँच जनाले झिनिया बनाएकोमा अहिले रोकासँगै दुईजनाले झिनिया बनाइरहेका छन्।

सुरुको चरणमा पाँचहजार रुपैयाँको मेसिन खरिद गरेर झिनिया बनाउन थालेकोमा अहिले आएर ७० हजारमा बिजुलीबाट चल्ने झिनिया बनाउने मेसिन जडान गरेकी छन्। तिहार पर्व नजिकिएसँगै झिनिया बनाउन सुरु गरेकी महिला उद्यमी रोकाले हरेक वर्ष दसैं, तिहार र अन्य समयमा अर्डरअनुसार झिनिया बनाउने गरेको बताइन्।

महिला उद्यमी रोका जस्तै रघुगंगा गाउँपालिका–५, झीँ गाउँका ४ जना महिलासहित मंगला–१, हिदीको हुमादेवी फगामीको समूह पनि तिहारका लागि झिनिया बनाउने काममा व्यस्त छन्। उनीहरुले दैनिक रुपमा झिनिया बनाउँदै आइरहेका छन्। १ दर्जन झिनियालाई एकसय ६० रुपैयाँका दरले बिक्री गर्ने गरेको महिला उद्यमी गौरा पाइजा बताउँछिन्।

रोका र पाइजा जस्तै सदरमुकाम बेनीबजारदेखि जिल्लाको ग्रामीण भेगसम्म महिलाहरु झिनिया र सेलरोटी बनाउने तयारीमा जुटेका छन्। नेपालीहरुमा महान् पर्व दसैंमा विशेष गरी प्रायः मासु खाने प्रचलन रहेकोमा तिहारका लागि भने झिनिया र सेलरोटी लगायतका परिकारहरुको प्रयोग गरिन्छ। दसैं तिहारमा अन्य परिकारसँगै झिनियालाई पनि मानिसहरुले रुचाउने गरेका छन्। निकै मेहेनतका साथ बनाइने झिनिया स्वादिष्ट मानिन्छ।

हरेक वर्ष बडादशैं, तिहार पर्व, ब्रतबन्ध, विवाह, पुजाआजा र अन्य समयमा झिनिया बिक्री गरेरै महिलाहरुले मनग्गे आम्दानी गर्दै आइरहेका छन्। चाडपर्वका साथै विवाह, व्रतबन्ध, पूजाआजा, बर्थ–डे पार्टी, अन्य भोजभतेरसहित माङ्गलिक कार्य गर्दा झिनिया खपत हुने गरेको छ।

चामललाई धोएर घाममा सुकाई त्यसलाई पिसेर पीठो बनाएपछि विभिन्न किसिमका रङहरुको प्रयोगमा झिनियाँ बनाउने गरिन्छ। म्याग्दीमा उत्पादित झिनिया तराईका जिल्लाका साथै पोखरा र काठमाडौंको बजारसम्म पुग्ने गरेको छ। उज्यालोको पर्व तिहारमा झिनिया, सेलरोटी, मिठाई जस्ता परिकारहरु खाने तथा सयपत्री, मखमलीसहित विभिन्न प्रकारका फूलहरुको माला लगाएर तिहार पर्व मनाउने गरिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.