नेपाल सम्बत जनजीविकासँग जोडिएको भनाइ

|

भक्तपुर : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल सम्वतलाई सबै नेपालीले स्वीकार गर्न सक्ने सम्वतको रुपमा स्थापित गर्नुपर्ने बताएका छन्। 

नेपाल सम्वत ११४० न्हुँदँको अवसरमा राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान थिमिले मंगलवार शंखधरचोकमा आयोजित माल्यापर्ण तथा सम्मान कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले नेपाल सम्वत जनजीविकासँग जोडिएको सम्वत भएको बताउँदै यसलाई सबैको साझा सम्वतको रुपमा स्थापित गर्नुपर्ने बताएका हुन।

‘जनताको जीवनसँग गाँसिएको नेपाल सम्वतको प्रवर्धनका लागि राज्यकोतर्फबाट बहुदलीय व्यवस्थाको स्थापनापछि केही पहल भएको छ,’ उनले भने, ‘नेपाल सम्वतलाई आमजनस्तरमा बुझ्न सक्ने, स्वीकार गर्न सक्ने बनाउन र  एउटा समुदाय र भाषीले मात्र अघि बढाएको भन्ने भ्रम कसरी चिर्ने भन्नेतर्फ सबैको ध्यान जान जरुरी छ। 

उनले नेपाल सम्वतको वैज्ञानिकतालाई स्थापित गर्नुपर्ने अभिभारा र चुनौतीसँगै साँस्कृतिक र समूदाय तथा जाती विशेषको नारामा मात्र नभइ सिंगो नेपालको नेपाल सम्वत हो भन्ने स्थापित गर्ने चुनौती रहेको बताए। उनले भने, ‘सबैको लागि ग्रहण योग्य, वोधयोग्य कसरी बनाउने हो, यो एउटा हाम्रो अगाडि ध्यान दिनैपर्ने, पुरा गर्नेपर्ने विषय हो सबैको ध्यान जाओस।’

उनले शंखधरलाई राष्ट्रिय विभूतिका रुपमा घोषणा गरेर मात्र नपुग्ने बताए। उनले भने ‘शंखधरलाई राष्ट्रिय विभुतीको रुपमा घोषणा गरेर केवल औपचारिकतामा मात्र सीमित गर्नुहुँदैन। यसलाई नेपाली जनजनको विषय कसरी बनाउने हो, आमजनताले यसलाई चिन्ने बुझ्ने र यो हाम्रो जीवनसित गाँसिएको विषय हो भनेर कसरी बोध गराउने? हाम्रो अगाडि एउटा गर्नुपर्ने अभिभारा छ।’

उनले सरकार भाषिकरुपमा, जातियरुपमा, सांस्कृतिकरुपमा जनताको भावनालाई आत्मसाथ गरेर अघि बढीरहेको जिकिर गरे। उनले भने, ‘सरकार जनताका धार्मिक मूल्य मान्यता र सामाजिक रीतिरिवाजहरुलाई कहिले कुण्ठित गर्न चाहँदैन।’

गुठीका दुई वटा आयाम भएको उनले बताए। ‘एउटा जनताको प्रचलनहरु, धार्मिक सांस्कृतिक मान्यताहरु, त्यसका सकारात्मक कुराहरु छन्। त्यसलाई संरक्षण गर्न गुठीले जुन भूमिका खेलेको छ सरकार त्यसको पक्षमा दृढतापूर्वक उभिन्छ’, उनले भने, ‘तर गुठीका नाममा सामन्ती शोषण उत्पीडनका थुप्रै थुप्रै कुराहरु छन्। त्यसलाई सरकार कदापि स्वीकार गर्न सक्दैन।’ 

गुठीका नाममा उपत्यका बाहिर हजारौं किसानहरु अधिकारबाट बञ्चित भइरहेको बताउँदै उपप्रधानमन्त्री पोखरेलले भने, ‘गुठीका नाममा जनताका संस्कार, संस्कृति, जनताका भावनाहरु, धार्मिक र साँस्कृतिक मूल्य मान्यताहरुको जगेर्ना गर्न जे चिजको शुरुवात गरिएको छ त्यसको पक्षमा सरकार दृढतापूर्वक उभिन्छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.