एक दिनका लागि खोज्दैनन् दाजुभाइ

|

काठमाडौं : समय गतिशील छ, परिवर्तनशील पनि। मानिसले आफ्ना अभ्यासहरुलाई समयसँगै परिवर्तन गर्दै लैजान्छ। समयको यो नियम मानिरहेकाले मानिस आजसम्म पृथ्वीमा सर्वश्रेष्ठ प्राणीका रुपमा अस्तित्वमा छ। 

भाइटीकाका दिन कतिपय चेलीहरुले परिवर्तनको यही नियमलाई पछ्याउन थालेका छन्। केही वर्षअघिसम्म दाजुभाइ नहुने दिदीबहिनीको तिहार र भाइटीका खल्लो हुने गर्थ्यो। भाइटीकाका लागि कि त अरुका दाजुभाइकहाँ जानुपथ्र्यो, कि त खाली निधार बस्नुपर्थ्यो। 

तर फरक फरक स्थानका दिदीबहिनीहरुले बेग्लै अभ्यासले विस्तारै चर्चा पाउन थालेको छ। दाजुभाइ नभए पनि उनीहरुले आफ्नो निधार खाली राखेनन्। दिदीबहिनी मिलेर टीका लगाए अर्थात् ‘दिदीबहिनी टीका।’ चेलीहरु अर्थात् दिदीबहिनीले एकापसमा टीका लगाएर तिहारलाई खल्लो हुन दिएनन्, झन् खुसी भए, उपहार आदानप्रदान गरे, रमाए।

यो पटक काठमाडौंकी लक्ष्मी बर्देवाले दाजुभाइको अभाव महसुस हुन नै दिइनन्। अर्थात् उनका तीन दिदी बहिनीले मिलेर भाइटीकाको दिन टीका लगाए अनि उपहार र शुभाशीष आदान प्रदान गरे। 

भाइटीकाका दिन दिदीबहिनी मिलेर टीका लगाउने अर्का चेली हुन् झापाको बिर्तामोडका प्रकृति र प्रणिका न्यौपाने। यी दिदीबहिनीले यो पटकको भाइटीकामा निधार खाली राखेनन्। इश्वरका बरदान छोराछोरी समान हुन् भन्ने मान्यतालाई स्थापित गर्ने क्रममा उनीहरुले भाइटीकाको दिन ‘दिदीबहिनी टीका’ लगाए। 

प्रकृति र प्रणिकाले एकापसमा टीका लगाउन थालेको तीन वर्ष बितिसकेको छ। यो पटक पनि उनीहरुले त्यसलाई निरन्तरता दिए। प्रकृतिको बुझाइमा आफूहरुले परम्परा तोडेको होइन, बरु नयाँ सुरुवात गरेको हो।

‘तीन वर्ष पहिले हामी दिदी बहिनी मिलेर लगाएको टीकाले यो साल पनि निरन्तरता पायो’, उनी भन्छिन्, ‘परम्परा तोड्न होइन, दाजुभाइ नहुने हामी जस्ता दिदिबहिनीका लागि ‘दिदिबहिनी टीका’ एउटा सुरूवात हो।’

उनले बुझेकी छन्, दाजुभाइको अभावमा निधार खालेर मन दुःखी बनाउनु राम्रो होइन। ‘निधार खाली राखेर मन दुःखी बनाउनु भन्दा आफूसँग जे पर्याप्त हुन्छ, त्यसमै चित्त बुझाउने संस्कृतिको सुरुवात हामीले गर्यौँ’, प्रकृति भन्छिन्।

काठमाडौं निवासी दाङकी सोनी पाण्डे थापाका तीन दिदीबहिनीले पनि एकापसमा टीका लगाए। सोनी, सीमा पुरी र मीना बस्नेतले भाइटीकाको दिन एकापसमा ‘दिदीबहिनी’ टीका लगाएर खुसी आदान प्रदान र ढोगभेट गरे।

यसरी टीका लगाउँदा उनीहरु कम्ता खुसी छैनन्। सोनीका दिदीबहिनीले थालेको नयाँ अभ्यास देखेर उनकी साथी जानु नेपाल पनि खुसी छिन्। उनको बुझाइमा दाजुभाइ नहुनेले अन्यत्र खोज्नु भन्दा दिदीबहिनीले एकापसमा टीका आदान प्रदान गर्नु राम्रो।

‘तीन दिदीबहिनी (सोनी, सीमा र मीना) को टीका साह्रै मन परेको छ’, उनी भन्छिन्, ‘दाजुभाइ नहुनेले अन्त खोजी खोजी बनाउनुभन्दा यो धेरै राम्रो थालनी।’

मिना खतिवडाका छोरीहरु हुन्, इच्छा खतिवडा र ऊर्जा खतिवडा। पत्रकार तथा साहित्यकार अश्विनी कोइरालाकी छोरी हुन् विप्सा कोइराला। अश्विनी र मीना दाजुबहिनी हुन्। विप्सा अश्विनीकी एक्ली छोरी हुन् भने इच्छा र ऊर्जा पनि मीनामा दुई सन्तान हुन्। 

उनीहरुका लागि पाँच वर्षअघिसम्म बाबुआमाले तिहारको भाइटीकाका लागि दाजुभाइ खोज्न हिँड्नुपथ्र्यो। तर जब यी तीनैजना बुझ्ने भए तबदेखि अवस्था फेरिएको छ। यी तीन दिदीबहिनीले भाइटीका दिन ‘दिदीबहिनी टीका’ लगाउन थालेको पाँच वर्ष बितिसकेको छ। 

‘उनीहरुले कुरा बुझ्ने नहुन्जेल हामीले भाइटीका लगाउनैका लागि दाजुभाइ खोज्ने गरेका थियौँ’, विप्साका बाबु अश्विनीले थाहाखबरसँग भने, ‘तर, जब उनीहरु कुरा बुझ्ने भए तब तीन दिदीबहिनीले आपसमै भाइटीकाको दिन टीका लगाउँछन्। 

बाबु अश्विनीले छोरी विप्सासहितले गरेको यो अभ्यासलाई ‘विद्रोह’ भनेका छन्। उनको बुझाइमा संस्कृति नमान्नु मात्रै विद्रोह हुन सक्दैन। ‘विद्रोही हुनुको अर्थ संस्कृति नमान्नु होइन’, उनी भन्छन्, ‘बरु अरुलाई असर नपर्ने गरि यसलाई आफ्नो अनुकूल प्रयोग गर्नु हो।’

इच्छा र ऊर्जाकी आमा मीना पनि विद्रोही स्वभावकी छन्। उनले छोरीहरुलाई नै छोराका रुपमा हुर्काइन्। आमाबाट सिकेको कुरालाई छोरीहरुले अहिले फरक तरिकाले अभ्यास गरिरहेका छन्।

‘संगतका कारण हुनसक्छ, मेरी बहिनी पनि विद्रोही छिन्’, दाजु अश्विनी भन्छन्, ‘सायद यही कारण उनले ‘छोरीहरु’ लाई नै छोराका रुपमा हुर्काइन् र आफू जस्तै फरक बनाइन्। मीनाका छोरीहरुले आफैं सिके-भाइटीकाको अर्थ, आफूसँगै जन्मिएका दाजुभाइ, दिदीबहिनीप्रति प्रेमभाव। एकअर्काको सम्मान।’

पाँच वर्षयता यी तीन दिदीबहिनीले एकापसमा टीकाको अभ्यास गरिरहेका छन्। उनीहरु आफू-आफूलाई टीका लगाइदिन्छन्, खुट्टा ढोग्छन् र उपहार आदान प्रदान गर्छन्। 

अश्विनीकै भनाइमा यसरी उपहार आदान प्रदान गर्न चाहिने पैसा उनीहरु आमाबुवासँग माग्दैनन्। ‘अघिल्ला दिनहरुमा देउसी भैलो खेलेको पैसाको सदुपयोग गर्छन्। उनीहरुका बिचारमा उमेरले ठूलो व्यक्ति दाजु हो भने उमेरले सानो बहिनी’, उनी भन्छन्, ‘यो पटक त उनीहरुले दशैंको टीका र अन्य आम्दानीले एकैखालको पहिरन सिलाएर भाइटीका मनाए।’

भाइटीकाको दिन दिदीबहिनीले एकापसमा टीका लगाउनुलाई राम्रो सुरुवात भन्नेहरु धेरै छन्। यस्तै प्रतिक्रिया दीपक महतले फेसबुकमा दिएका छन्। ‘नानीबाबु दुवैको भूमिकामा छोरीहरु उत्रिँदा फरक पर्दैन’, उनको सटिक तर्क छ, ‘खोजेर हिँड्नु भन्दा आफैसँग भएको भावना र क्षमता प्रयोगमा ल्यानु पर्दछ भन्ने छोरीहरुलाई धन्यवाद!’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.