|

पर्वत : विद्यालय वा सरकारी कार्यालयहरू बिदाका बेला ‘मुड फ्रेस’ गर्ने थलो बन्दै गएको छ बिहादी गाउँपालिकामा रहेको गेप्ताङ्ग होमस्टे। यहाँको होमस्टेमा पुग्ने पर्यटकको रोजाइमा स्थानीय कोदोको विशेष परिकार पर्न थालेको छ।

जिल्लामा उत्पादन हुने प्रमुख खाद्य बालीका रुपमा रहेको कोदो पछिल्लो समय निकै कम खेती गर्न थालिएको छ। खानाको रूपमा धानको चालमको भात मात्रै खाने प्रवृत्तिको विकास भएपछि स्वास्थ्यका लागि उपयोगी मानिने कोदोको परिकार खानेहरू कम छन्। तर, गाउँमा कोदो हराउँदै गएको बेलामा बजारका होटलहरुले कोदोको परिकार बेचेरै नाम र दाम कमाएका छन्।

यसैलाई हेर्दै गेप्ताङ्ग होमस्टेले कोदोको परिकारलाई होमस्टेको प्रमुख परिकारका रूपमा राखेको छ। होमस्टेका सञ्चालकहरुले भने गाउँबाट विस्थापित हुनै लागेको त्यही कोदोको परिकारलाई मीठो स्वादमा पकाएर आकर्षक तरिकाले सजाएर पाहुनालाई खान दिन्छन्। यही कारण गेप्ताङ्ग होमस्टे कोदोको परिकार खाने गन्तव्यका रूपमा चिनिँदै गएको छ। 

कोदोको परिकारलाई चरेसको थालमा चटक्क मिलाएर राखिन्छ। कोदोको रोटीलाई आकर्षक तरिकाले टुक्रा पारेर पुदिना र गोलभेँडाको चटनी अनि राम्रोसँग सफा गरिएका पुदिनाका पातहरू पूmलजस्तै सजाएर चरेसको थालमा राखिनुले परिकार खानेहरूलाई जिब्रोबाट पानी निकालिदिन्छ। त्यही स्वाद मज्जा लिनका लागि आन्तरिक पर्यटकहरू बिहादीको गेप्ताङ्ग होमस्टेसम्म पुग्ने गरेका छन्। 

बिहादी गाउँपालिका–५ उरामपोखरामा सञ्चालित होमस्टे स्थानीय मगर समुदायले सञ्चालन गरिरहेका छन्। होमस्टेमा सदरमुकाम कुस्मासहित स्याङ्जाको वालिङ, कास्कीको पोखरा, बाग्लुङका विभिन्न ठाउँका पर्यटकहरू जाने गरेका छन्। होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष कुमारी थापाका अनुसार होमस्टेमा पुग्ने पर्यटकहरूले कोदोको परिकारकै चर्चा सुनेर त्यसैको स्वाद लिनका लागि आउने गरेको बताउँछन्।

‘गाउँबाट हराएको कोदोको परिकारको महत्त्व यति धेरै रहेछ, होमस्टे बनेपछि यसले पाएको चर्चाले थाहा भयो,’ उनले भनिन्, ‘हामीले कोदोबाटै अन्य परिकारहरू तयार पार्न सिक्ने प्रयत्न पनि गरिरहेका छौँ। अब पर्यटकहरू झनै बढ्ने आशा गरेका छौँ।’

कोदोबाट बनेका परिकारलाई प्रवर्द्धन गर्ने योजना छ। यसबाहेक मगर समुदायका बटुक, तरुललगायतका परिकार पनि पाहुनाका लागि उपलब्ध छन्। पाहुनाको रुचिअनुसार अन्य परिकार पनि खुवाउने गरिएको तथा बजारभन्दा गाउँमा नै जैविक हिसाबले तयार पारेका परिकारहरूको माग बढी रहेको होमस्टेका सञ्चालकहरू बताउँछन्। गण्डकी प्रदेश सरकारको सहयोगमा गेप्ताङ्गमा २०० जना अट्न सक्ने सभाहलसहितको पाहुना घर बनाउने काम पनि भइरहेको छ।  

होमस्टेमा आउने पर्यटकले कोदोबाट तयार पारिएको रोटी, ढिँडो, पुवा, मदिरा खाने गरेका छन्। प्रतिनिधिसभाका सांसद पदम गिरीले उक्त होमस्टेमा पुगेर बसेको र त्यहाँ पाइने परिकारको स्वाद जिब्रोमै बसेको बताउँछन्। हामीले खाँदै आएका स्थानीय परिकारलाई पनि फरक तरिकाले पकाउने हो भने त्यसले अरूको मन जित्न सक्ने रहेछ भनेर आपूmले भोगेको सांसद गिरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.