१८ जनाले दाबी गरेपछि अन्योल

|

भक्तपुर : भक्तपुर क्षेत्र नं. १ (क)को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र उम्मेदवार छान्नै सकस परेको छ। उम्मेदवार छनोटका लागि गत शनिबार बसेको जिल्ला कमिटीको बैठकमा डेढ दर्जन नेताहरूले उम्मेदवारीको आकांक्षा व्यक्त गरेपछि नेकपालाई उम्मेदवार छनोटमा सकस परेको हो।

बैठकमा नेकपाका नेताहरू मोहनवीर श्रेष्ठ, रामबहादुर श्रेष्ठ, रमेश बुढाथोकी, शम्भु दाहाल, दामोदार दंगाल, देवीप्रसाद (डिपी) ढकाल, निर्मला लामिछाने, नीरञ्जन बजगाईं, कृष्णमुरारी खनाल र कृष्णराम गेलाललगायत उम्मेदवारीको आकांक्षा व्यक्त गरेको नेकपा जिल्ला अध्यक्ष वचन देउजाले जानकारी दिए।

‘सुरुमा ६/७ जना नेताहरू उम्मेदवारका आकांक्षी देखिएकोमा बैठकमा १८ जनाको नाम आएपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो,’ उनले भने,

उम्मेदवारीको आकांक्षीको संख्या धेरै भएपछि नेकपाले आधिकारिकरूपमा नाम दर्ता नगरी टिपोट मात्र गरिएको अध्यक्ष देउजाले जानकारी दिए। उनले भने, ‘आकांक्षी धेरै संख्या भएकाले उनीहरूको नाम दर्ता गरेको छैन, मात्र टिपेको हो।’

भक्तपुर क्षेत्र नं. १ (क)मा यसअघि २०७४ सालमा भएको निर्वाचनमा तत्कालीन वाम गठबन्धनअन्तर्गत नेकपा एमालेका हरिशरण लामिछाने विजयी भएका थिए। उनको मस्तिष्कघातका कारण मृत्यु भएको थियो। उनको मृत्युपछि खाली भएको यस स्थानमा मंसिर १४ मा उपनिर्वाचन हुन लागेको हो।

उम्मेदवार हुन पार्टी केन्द्रले कुनै मापदण्ड निर्धारण नगरेकाले पनि उम्मेदवार हुने आकांक्षीको संख्या बढेको अध्यक्ष देउजाको भनाइ छ।

तीनजनाको नाम पठाउने तयारी

नेकपाभित्र केन्द्रको निर्देशनअनुसार उम्मेदवार हुन इच्छुकमध्येबाट सर्वसम्मत रूपमा एकजनाको नाम सिफारिस गर्ने त्यसो हुन नसके कम्तीमा तीनजनाको मात्र नाम सिफारिस गर्ने आन्तरिक तयारी भइरहेको स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार शनिवारको बैठकले जिल्ला इञ्‍चार्ज दिलीप प्रजापति, सहईन्चार्ज सोमप्रसाद मिश्र, जिल्ला अध्यक्ष वचन देउजा र सचिव देवीप्रसाद (डि पी) ढकालसहितको समिति गठन गरी तीन जनाको नाम टुंगो लगाउने तयारी गरेको छ।

सोहीअनुसार बुधबार (हिजो) नेकपाका केन्द्रीय सदस्य एवं सांसद महेश बस्नेतसहित जिल्ला इञ्‍चार्ज प्रजापति, सहइञ्‍चार्ज मिश्र, जिल्ला अध्यक्ष देउजा र सचिव ढकालबीच उम्मेदवार छनोटको विषयमा छलफल भएको स्रोतले बताएको छ।

समितिले बिहीबारसम्म नामावली टुंगो लगाउने र शुक्रबारसम्म प्रदेश समितिमा तीन जनाको नाम सिफारिस गर्ने तयारी गरिरहेको छ। ‘हामी पर्सि (शुक्रबार)सम्ममा सबै टुंगो लगाई प्रदेश समितिमा ३ जनाको नाम सिफारिस गरी पठाउँछौ। भएन भने केन्द्रबाटै सबै टुंगो लाग्छ,’ जिल्ला अध्यक्ष देउजाले भने।

नेकपा स्रोतका अनुसार जिल्लाका वरिष्ठ नेता मोहनवीर श्रेष्ठको नाममा सहमति गराउने प्रयास भइरहेको छ। त्यसमा जिल्ला सचिव ढकालले असहमति व्यक्त गर्दै आफूले टिकट पाउनुपर्ने दाबी गर्दै आएका छन्। २०७४ मा भएको निर्वाचनमा वामगठबन्धन अन्तर्गत भक्तपुर क्षेत्र नं. १ (क) तत्कालीन माओवादीको भागमा परेको थियो र गठबन्धनले ढकाललाई आधिकारिक उम्मेदवार घोषणा गरेको थियो। तत्कालीन एमालेले हरिशरण लामिछानेलाई आधिकारिक टिकट दिएपछि विवाद उत्पन्न भएको थियो।

विवाद समाधान गर्नेक्रममा लामिछानेको उम्मेदवारीलाई आधिकारिक घोषणा गरी ढकाललाई फिर्ता लिन निर्देशन दिएको थियो तर ढकालले उम्मेदवारी फिर्ता लिएनन्। सोही कारण नेकपाका पूर्वएमाले नेताहरू ढकाललाई उम्मेदवार दिन नहुने अडानमा छन्।

नेकपाभित्र श्रेष्ठ र ढकालबीच सहमति नभए स्व. लामिछानेकी पत्नी निर्मला लामिछानेलाई उम्मेदवार बनाउने विषयमा समेत छलफल भएको स्रोतले बताए। तर निर्मलाको राजनीतिक सक्रियता नभएकोले उनलाई उम्मेदवार बनाउन नहुने एकथरिको भनाइ रहेको स्रोतको भनाइ छ।

कांग्रेसले छान्यो १० जना

नेपाली कांग्रेसले भने यसअघि नै १० जना आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिसकेको छ। सरकारका पछिल्ला गतिविधिले जनता निराश भएको आंकलन गरिरहेको अवस्थामा उपनिर्वाचन आफ्नो पक्षमा आउन सक्ने विष्लेषण गरेको कांग्रेसको प्रदेश समितिले उम्मेदवार हुन आकांक्षीको नाम ७ हजार शुल्क लिएर दर्ता गरेको थियो।

पार्टी केन्द्रले उम्मेदवार हुन चाहने एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न निर्देशन दिए पनि दर्ता भएका १० जनाबीच सहमति हुन नसकेपछि नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ (क) प्रदेश समितिले १० जनाको नाम क्षेत्रीय समितिमा सिफारिस गरेको थियो। सो नामावलीमा आवश्यक छलफलपछि जिल्ला समितिले १० जनाकै नाम केन्द्रमा सिफारिस गरेको हो।

सिफारिसमा परेका नामावलीमा कृष्णलाल भँडेल, यादवप्रसाद अधिकारी, सुरेश श्रेष्ठ, विनोद प्रकाश कायस्‍थ, रुपा थापा, उद्धव खड्का, किरण न्यौपाने, मनोजकुमार थापा, हरिप्रसाद नेपाल र सुभद्रा काफ्ले छन्।

जिल्ला सभापति दुर्लभ थापाले भने, ‘प्रदेश समितिले सिफारिस गरेका १० जनाको नाम केन्द्रमा सिफारिस गरी पठाएका छौं। जसको नाममा टिकट आउँछ सबै एकजुट भएर अघि बढ्ने छौं।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.