यसपालीको चाडमा कम मानवीय क्षति

|

काठमाडौं :  नेपालीहरूको महान् चाड बडादशैं, तिहार तथा छठ पर्व लगायतलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले सहज र सुरक्षित ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना अघिसारेको थियो।

ट्राफिक प्रहरीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित महाशाखाले चाडपर्व विशेष सुरक्षा योजना लागू गरेको महानगरीय ट्राफिक महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए।

काठमाडौंबाट बाहिरिने नाकाहरु नागढुंगा, फर्पिङ, मुड्खु, जगाती लगायतका स्थानमा ट्राफिक प्रहरीको सक्रियता बढाउने तथा चेक प्वाइन्ट राखिएको, समस्या नआउने गरी चौबीसै घण्टा ट्राफिक प्रहरी परिचालन गरेको थियो।

प्रमुख ढकालले ३ सय ६८ ठाँउमा दैनिक ११ सय ८० जना ट्राफिक प्रहरीसहित ५०० जना ट्राफिक स्वयंसेवक गरिएको थियो। ट्राफिक व्यवस्थापन मात्र होइन, चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने, बाटोमै यात्रुलाई ओराल्दिने जस्ता समस्या आउन नदिन ट्राफिक प्रहरी चनाखो हुनुका साथै यात्रुहरूले ढुक्कसँग यात्रा गर्ने वातावरण बनाइएको बताए।

मापसे चेकिङमा कडाइ

काठमाडौं उपत्यकामा गन्तव्यबाट हिँडेको २, ३ किलोमिटरभित्रै सम्पूर्ण सवारीसाधन चलाएका व्यक्तिको मादक पदार्थ सेवन (मापसे) चेकिङमा  कडाइ गरी विभिन्न समयमा उपत्यकाको ३५ स्थानमा दैनिक ४ पटक मापसे चेकिङ गरिएको थियो। यसअवधिमा १७,९३१ जना व्यक्तिहरू मापसे कारबाहीमा परेको प्रमुख ढकालले जानकारी दिए।

लामो दूरीमा २ चालक भए / नभएको एप्समार्फत निगरानी

ट्राफिक सुरक्षा योजनामा लामो दूरीका सवारीसाधनमा २ जना चालक अनिवार्यरूपमा भए / नभएको 'ट्राफिक कम्युनिकेशन एप्स' मार्फत निगरानीलाई पनि थप तीव्रता दिएको प्रमुख ढकालले बताए।

यस्तै, यसै अवधिमा लेन अनुशासन मिच्ने ९९१ जना चालकलाई कारबाही, १९४ चालकलाई हेल्मेट तथा सिटबेल्ट प्रयोग नगरेकोमा कारबाही, लेजर गनमार्फत तीव्र गतिमा सवारी चलाउनेउपर ८० वटा कारबाही, ४३० बढी भाडा ट्याक्सी कारबाही, फुटपाथ र सडकमा पार्किङ गर्ने १९४, हर्न कारबाहीमा ३२७, ह्वील लकरचेन लक कारबाही ८०, ढोका खुल्ला ३८२ गरी जम्मा १७,९३१ सवारी कारबाहीमा परेका छन।

भिडभाड तथा बसपार्क एरियामा थप जनशक्ति परिचालन

महाशाखाले उपत्यका भित्रिने नाका, व्यपारिक क्षेत्रहरु भिडभाड तथा बसपार्क एरियामा थप जनशक्ति परिचालन गरेको थियो। ३६९ स्थानहरुमा दैनिक नियमित ड्युटीका लागि ७५० जनशक्ति परिचालन भइरहेकोमा चाडपर्वको समयमा अतिरिक्त थप ४३० ट्राफिक प्रहरी जनशक्ति परिचालन गरिएको थियो।

दशैँ, तिहार तथा छठ पर्वमा सवारी चाप हुने काठमाडौंका मुख्य स्थानहरूमा डाइभर्सनको समेत व्यवस्था गरिएको थियो। जस्तै, न्युरोड, भोटाहिटी, दरबारमार्ग, कालीमाटी, कलंकी, नयाँबसपार्क, गौशाला, चावहिल, कमलपोखरी, बानेश्वर, ठमेल, महाराजगञ्ज, बौद्ध, जोरपाटी, लगनखेल, मंगलबजार, भक्तपुर

छठ पर्वलाई लक्षित गरेर गुहेश्वरी, कमलपोखरी, बागमती नदीको किनार थापाथली, शंखमुल दोभान, बल्खु क्षेत्रमा सवारी साधन डाइभर्सन गरी पार्किङको समेत व्यवस्था मिलाइएको छ।

१४ स्थानमा यात्रु सहायता कक्ष

यात्रुहरूको गुनासो तत्काल सम्बोधन गर्न तथा यात्रुहरूको सहजताको लागि सरोकारवाला निकायसँगको सहकार्यमा असोज ५ गतेदेखि नै १४ स्थानमा नागरिक सहायता कक्ष पनि सञ्चालनमा ल्याइएको थियो।

नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिण्काली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहेको थियो। उक्त कक्षमा ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, यातायात व्यवस्था विभागका प्रतिनिधि, यातायात व्यवासयी, उपभोक्ता समूहका प्रतिनिधिहरू र ट्राफिक भोलियन्टर खटिएका थिए।

 

बढीमा टिकट बेच्‍ने  ४७ बिचौलिया नियन्त्रणमा

चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रण र यात्रुहरूको सहजताका लागि, यस्तै भिडभाड हुने स्थल र टिकट काउन्टरहरूमा हुन सक्ने ठगी तथा आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोसाकमा  समेत प्रहरी परिचालन गरी निगरानी गरिएको थियो।

जसअनुसार उपत्यकाको विभिन्न स्थानबाट ४७ जना  बढी मूल्‍यमा टिकट बेच्ने  बिचौलिया व्यक्ति नियन्त्रणमा  लिई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी कार्यालयहरूमा बुझाइएको छ।

साथै, सवारी साधनभित्र यात्रुले देखिनेगरी भाडा दररेट टाँस गर्ने अनिवार्य गरिएको थियो। यस्तै थानकोट – नागढुंगा सडकखण्डमा जथाभावी ओभरटेक नगरी लेन अनुशासन पालना गरी सवारी व्यवस्थापन कार्यमा सहयोग गरिदिनु हुन अनुरोध गरिएको थियो। उक्त सडककण्डमा विभिन्न स्थानमा ओभरटेक नगरौँ भन्ने ब्‍यानरसमेत राखिएको थियो।

ठुला मालबाहक सवारीसाधनहरू बिग्रेर घण्टौँसम्म हुने ट्राफिक क्‍विकलाई हटाउन र्‍याकर राखिएको छ। यस चाडवाडको समयमा १०२ वटा सवारी साधनहरूलाई हटाईएको छ।

जनचेतनाको लागि पहिलोपटक बसपार्कबाट छुट्ने सार्वजनिक बसमा अडियो–जिंगल बजाउनका लागि एक हजार गाडीलाई पेनड्राइभसमेत वितरण गरिएको थियो। त्यस्तैगरी नयाँ बसपार्कबाट छुट्ने लामा दूरीका सार्वजनिक बसमा यान्त्रिक परीक्षणसमेत गरिएको प्रमुख ढकालले बताए।

बसपार्कमा यात्रुहरूलाई सास्ती नहोस र कोही पनि यात्रु नठगिऊन् भनेर बसपार्कलगायत टिकट काउन्टर खटिने कर्मचारी, यातायात व्यवसायीलाई अनिवार्य पोशाक तथा परिचयपत्रको व्यवस्था गरेको थियो। टिकट काउन्टरमा टिकट काट्ने व्यक्तिहरु तथा यातायातसँग सरोकार राख्ने व्यक्तिहरुको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्थासमेत गरिएको थियो।

कम मानवीय क्षति

काठमाडौ उपत्यकाभित्र यस वर्षको दशैँ तथा तिहारमा सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ। घटस्थापनादेखि पूर्णिमा र तिहारको अवधिमा ५५३ सवारी दुर्घटनामा १२ जनाले ज्यान गुमाएका हुन्।

यस्तै, १० जना गम्भीर घाइते र ३८६ जना सामान्य घाइते भएका छन्। दुर्घटना हुनुका प्रमुख कारणमा तीव्रगति र चालकको लापरबाही छन्।

गतवर्षको दशैँ तथा तिहारको समयमा ४०० सवारी दुर्घटनामा १५ जनाले ज्यान गुमाएका थिए भने १२ जना गम्भीर घाइते र २६९ जना सामान्य घाइते भएका थिए।

तथ्यांक हेर्दा, विगत वर्षभन्दा दुर्घटना संख्या बढी देखिए पनि सामान्यभन्दा सामान्य दुर्घटनाको अभिलेख व्यवस्थापन गरेको तथा बिमा प्रकियाको सिफारिसका लागि सम्पूर्ण घटनाक्रम टिपोट गरी राखिएको कारण संख्या मात्र बढको हो।

त्यस्तैगरी, सवारी साधनको अत्यधिक वृद्धिका कारण पनि दिनानुदिन दुर्घटनाका संख्या बढ्दो छ। आमजनमानिसले दुर्घटनाको  सूचना दिने प्रवृत्ति धेरै बढेको कारण पनि हामीलाई  दुर्घटना अभिलेख व्यवस्थापनका लागि सहयोग पुगेको छ।

‘चालकको लापरबाहीका कारण धेरै दुर्घटना भएको देखिएकोले मादकपदार्थ सेवन गर्ने, एउटै चालकले लामो दूरीसम्म गाडी चलाउने, यसलाई मध्यनजर गर्दै हामीले लामो दूरीको गाडीमा अनिवार्य रूपमा दुईजना चालक राख्नुपर्ने व्यवस्थामा कडाइ गरेका थियौँ।

चाडपर्वको मुखमा दुर्घटना हुनु दुःखद् कुरा भएकोले त्यस्तो दुर्घटना नहोस् भनेर नै विशेष सुरक्षा व्यवस्था अपनाइएको प्रमुख ढकालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.