|

कपिलवस्तु : मूर्ति बिर्सजनलाई लिएर उत्पन्न हिंसा रोक्न कृष्णनगरमा जारी कर्फ्यु प्रशासनले अझै कायमै राखेको छ। दीपावलीमा पूजा गरिएको गणेश/लक्ष्मी पुजाको मूर्ति बिर्सजनका क्रममा झडप भएपछि स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेदेखि अनिश्चितकालिन समयका लागि जारी गरेको थियो।

बुधबार राती १० बजेदेखि १ बजेसम्म दुवैपक्ष (हिन्दू–मुस्लिम समुदाय) बीच झडप भएको थियो। लक्ष्मीपूजाको मूर्ति बिसर्जनका क्रममा सुरु भएको हिन्दू र मुस्लिम पक्षको विवाद हिंसाको तहसम्म पुगेपछि जिल्ला सुरक्षा समितिको बैठकले कृष्णनगर बजार वरपरका क्षेत्रमा कर्फ्यु जारी गरेको थियो। बुधबार र बिहीबारको विवादले उग्ररुप लिएसँगै शुक्रबारपनि कृष्णनगर बजार क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ।

झडपका क्रममा प्रहरीले करिब ५० बढी अश्रुग्यासको सेल प्रहार गरेको थियो। आन्दोलनकारीले पनि प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए। हिंसामा प्रहरी र दुईसमुदाय बीचकै ६ जना प्रर्दशनकारी र १२ जना प्रहरी घाइते भएका थिए।

कर्फ्यु आदेशको अवज्ञा गरेको भन्दै प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमै चियापसल संचालन गर्दै आएका भारतीय नागरिक सुरज कुमार पाण्डेको मृत्यु भएको थियो। उनको टाउको गोली लागेको थियो। मृतक पाण्डेको शव पोष्मार्टमका लागी जिल्ला अस्पताल तौलिहवा ल्याइएको छ। मोष्ट मार्टमपछि मृतकका परिवारलाई शव जिम्मा लगाउने बताइएको छ।

यसैबीच दुई पक्षको झडपका कारण भएको तनावले रोकिएका मूर्ति विर्सजन ११ बुँदे सहमति भएसँगै विर्सजन गरिएको छ। बिहीबार राति २:०० बजे दुवै पक्षबीच सहमति भएपछि लक्ष्मीका मूर्ति विर्सजन गरिएको हो। कर्फ्युका बीच सुरक्षा घेराबन्दीमा मूर्तिको विर्सजन गरिएको थियो।

सहमति भएका बुँदामा मृतक सुरज कुमार पाण्डेको क्षतिपूर्तिका लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने, मूर्ति विर्सजन गर्न अवरोध गर्ने ब्यक्तिलाई कानुनी कार्वाही गर्ने, प्रहरीले दमन गरे/नगरेको छानबिन गर्ने, कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गर्ने, कर्फ्युलाई क्रमशः घटाउँदै लैजाने लगायतका बुँदामा सहमति भएको प्रशासनले जनाएको छ।

दुवै वक्षबीच भएको वार्तामा प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक दीप शमशेर जबरा, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष लगायतको सहभागिता रहेको थियो। कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि प्रशासनले कर्फ्यु जारी गरेको छ।

कपिलवस्तु गोलीकाण्ड : मृत्यु हुने भारतीय नागरिक

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.