|

पर्वत : फलेवास नगरपालिका–३ शंकरपोखरीकी मनादेवी रेग्मीले केही वर्षअघि करिब १० मुरी कोदो उत्पादन गर्दिन्। तर, अहिले दुई मुरीसम्म फल्ने गरेको छ। उनले कोदो खेती गर्दै आएको जग्गा बनमारा र बोकेझारले भरिएको छ। 

छोराहरू जागिरको सिलसिलामा सहरमा भएकाले घरमा काम गर्ने मान्छे नभएको उनले बताइन्। ‘मेरो घरमा पनि काम गर्ने मान्छे छैनन्। छोराहरू व्यापार र जागिरका लागि बजारमा छन्। हामी बुढाबुढीले कति पो काम गर्न सक्छौँ,’ मनादेवीले भनिन्, ‘कोदो लगाउने जग्गा बाँभैm पल्टिएको छ।’ 

उनको परिवारले धान खेती भने गरिरहेको छ। काम गर्ने जनशक्ति नहुनु, खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको उनको भनाइ छ।

सोही नगरपालिकाकै ७४ वर्षीय बलबहादुर भण्डारीको घरमा पनि काम गर्ने मान्छे छैनन्। उनको परिवारमा वृद्धा श्रीमती र एक बुहारी छन्। छोरा रोजगारीका लागि भारतमा छन्। वर्षौँ पहिलेसम्म मुरीका मुरी कोदो फलाउने उनको घरमा पछिल्लो समय केही बोरा मात्र कोदो हुन्छ। कोदो फलाउने रहर भएर पनि बुढेसकालका खेती गर्न नसकेको बलबहादुर बताउँछन्।

‘कोदो खाँदा के फाइदा हुन्छ भन्ने कुरा अहिलेकालाई थाहा छैन। कोदोले दिने बल धानको भातले कहाँ दिन्छ र?’ उनले सम्झिए, ‘हामी साना हुँदा कोदोको ढिँडो र तरकारीसँग एक पेट भरेपछि ड्याम्म ज्यान बन्थ्यो। दिनभर काम गर्न सकिन्थ्यो।’ अहिलेका युवाहरूले कोदोको महत्त्व नबुझेका कारण उनीहरूमा पाको पुस्ताको जस्तो बल नभएको र निरोगी पनि हुन नसकेको उनको भनाइ छ। 

धेरै महत्त्व बोकेको कोदोको प्रयोग कम हुँदै गएको भए पनि सहरका होटलहरुले भने कोदोको परिकारलाई नै आकर्षणको रूपमा राख्न थालेका छन्। होटेलमा आउने पाहुनाहरूले बजारमा बेच्न राखिएको चामल भन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्न हुने गरेका छन्। पर्वत सदरमुकाम कुस्मा बजारकै होटलहरुमा कोदोको परिकारको खासै प्रचलन नरहेको भए पनि गाउँगाउँमा स्थापना गरिएका होमस्टेहरूले भने कोदोको परिकारकै कारण पाहुना तान्न सफल भएका छन्। 

बिहादी गाउँपालिकामा रहेको गेप्ताङ होमस्टे त कोदोको परिकारका लागि जिल्लाभित्र र बाहिर पनि परिचित छ। ‘गाउँबाट हराएको कोदोको परिकारको महत्त्व यति धेरै रहेछ, होमस्टे बनेपछि यसले पाएको चर्चाले थाहा भयो,’ होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष कुमारी थापा भन्छिन्, ‘हामीले कोदोबाटै अन्य परिकारहरू तयार पार्न सिक्ने प्रयत्न पनि गरिरहेका छौँ। अब पर्यटकहरू झनै बढ्ने आशा गरेका छौँ।’

कोदोलाई खानाको रूपमा प्रयोग गर्नुपर्ने ठाउँमा घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतले घरेलु मदिरा उत्पादनमा कोदोको प्रयोगलाई रोक लगाएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बर्सेनि ठूलो परिमाणमा कोदोबाट बनाइएका मदिराहरु बरामद गरेर नष्ट गर्दै आएको बताए। यसपछि कोदो परिकार खाने प्रवृत्ति केही मात्रामा बढेको उनको भनाइ छ।

चिकित्सा विज्ञानले खाद्यान्नको रूपमा कोदोको प्रयोग गर्नु राम्रो हुने बताएको छ। जिल्ला अस्पताल पर्वतका डा. शिशिर देवकोटाले धेरै प्रकारका रोगीहरूका लागि कोदोको परिकार राम्रो हुने बताए। चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीहरूका लागि कोदो राम्रो मानिने डा. देवकोटाले बताए। कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्ट लगायतका तत्वहरु  पाइन्छ। तौल घटाउन, मुटु सम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिन्छ।

पर्वतको २८ हजार ५९२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये ८०० हेक्टरमा कोदो खेती हुने गरेको कृषि ज्ञान केन्द्र कार्यालय पर्वतको तथ्याङ्क छ। कतिपय ठाउँमा विभिन्न समस्याका कारण कृषकहरूले कोदो खेती छोड्दै गएको भए पनि पछिल्ला तीन वर्षयता कोदो लगाउने कृषकहरूको संख्या क्रमशः बढ्दै गएको कृषि विकास अधिकृत रामकृष्ण अर्यालले  बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.