नेपालमै प्रत्यारोपण गर्दा परिवार सदस्यको मिर्गौला

|

काठमाडौं : १२ वर्षअघि प्रत्यारोपण गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाले विस्तारै काम गर्न छोड्दै गएपछि पछिल्लो समय छिटो छिटो बिरामी हुन थालेका छन्। पछिल्लो समय प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेपछि गत साता ग्राण्डी अस्पतालमा डायलाइसिस नै गरिएको छ।

उनको उपचारमा संलग्न चिकित्सकहरुले नै अब प्रमले हप्तामा तीन पटक नियमित डायलाइसिस गर्नुपर्ने सुझाएका छन्। यदि त्यसो हुन नसकेमा प्रत्यारोपणको विकल्प रहेको बताएका छन्।

यता प्रम स्वयमले समेत पार्टी सचिवालयको बैठकमा आफ्नो मिर्गौलाले विस्तारै काम गर्न छोडेको  जानकारी गराइसकेका छन्। आफूले अब कि नियमित डायलाइसिस गर्नु पर्ने वा प्रत्यारोपण गर्नु पर्ने विकल्पबारे उनले पार्टी सचिवालयमा जानकारी दिइसकेका छन्।

१२ वर्षदेखि स्वास्थ्य समस्या देखिँदा सिंगापुर र अन्य देश जाने गरेका ओलीको नेपालमा पनि निरन्तर उपचार जारी छ। यसअघि गत सिङ्गापुरको नेशनल युनिभर्सिटी अस्पतालमा प्लाज्मा फेरेसिसको माध्यमबाट शरीरमा जम्मा भएको एन्टिबडिज नष्ट गरेर प्रम ओली गत भदौ २० गते नेपाल फर्किएका थिए।

तिहारअघि अजरबैजान गएका ओली स्वदेश फर्किएपछि पनि सिस्नुपानी नेपालको देउसी कार्यक्रममा सहभागी भएका थिए। चाडपर्वका बेला बाक्लिएको भेटघाटसहित कामको धपेडीले उनको रगतमा हानिकारक तत्व बढेर समस्या निम्तिएको हो।

पछिल्लो समय ओलीको प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेपछि डाइयलाइसिस सुरू गरिएको छ। सिंगापुरमा ६ पटक पाल्जामा फेरोसिस गरेर फर्किएपनि त्यो प्रभावकारी नभएको खुलेको छ। पछिल्लो सातादेखि प्रम ओलीको मिर्गौलाले काम गर्न छोडेपछि नियमित डायलाइसिसमा जानुपर्ने विकल्प रोजिएको  छ। 

कस्तो बेलामा गरिन्छ डायलाइसिस?

हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन्। शरीरको एउटा मिर्गौला बिग्रँदा अर्कोले पनि काम गर्न छाड्छ। यस्तो अवस्थामा चिकित्सकहरूले नियमित डायलाइसिस वा प्रत्यारोपणको विकल्प सुझाउँछन्।

हाम्रो शरीरको भित्री भागमा सिमीको दाना आकारका दुईवटा मिर्गौला हुन्छन्। मिर्गौला पेटको पछिल्लो भागमा मेरुदण्डको दुवैतिर करङको तल्लो भागमा दायाँ र बायाँ रहेका हुन्छन्।

जुन मिर्गौलाले हाम्रो शरीरमा रगत सञ्चालन गर्ने तथा मिर्गौलाले रगत छान्नेदेखि हामीले खाएका खानेकुरामा भएका विकार वस्तुलाई छान्ने गर्छ। तर मिर्गौलाले यो काम गर्न नसकेको अवस्थालाई चिकित्सकहरुले मिर्गौला फेल भएको बताउँछन्।

यसरी प्राकृतिक रुपमा  मिर्गौलाले रगत छान्ने वा अन्य काम गर्न नसकेपछी चिकित्सकहरुले कृतिम रुपमा डायलाइसिस गर्ने काम गरिन्छ। हाम्रो शरिरका मिर्गौलाले ९० प्रतिशत काम गर्न छोडेपछि मात्र चिकित्सकले डायलासिस विधि अपनाउने गर्छन्। जुन विरामीको जीवन लम्ब्याउने एक उत्तम विकल्प पनि हो।

डायलाइसिस दुई प्रकारको हुन्छ। मिर्गौला फेल भएका बिरामीको प्रमुख उपचार भनेको प्रत्यारोपण नै हो। डायलाइसिस भने बिरामीको जीवन लम्ब्याउने चिकित्सकीय प्रविधि हो। यसरी गरिने डायलाइसिस दुई प्रकारका हुन्छन् : पेरिटोनियल डायलाइसिस र  हेमो-डायलाइसिस

हेमोडायलाइसिस

मिर्गौला फेल भएका विरामीको रगतलाई मेसिनको सहयोगमा छान्‍ने प्रक्रियालाई हेमो डायलाइसिस भनिन्छ। हेमो डाइलासिस गर्ने बिरामीको लागि उनीहरुको शरीरमा रहेका दुईथरि नसा जोडेर ‘फिस्टुला’ बनाइन्छ। उक्त फिस्टुलामा सुईको माध्यमबाट रगत निकाल्न सजिलो बनाइन्छ।

त्यसपछि विरामीको शरीरमा रहेको सम्पूर्ण रगत निकालेर मेसिनमा पठाइन्छ। मेसिनले रगतको शुद्धीकरण गरेर पुन: शरीरमा फिर्ता पठाउँछ। जुन विधि पुरा गर्न बिरामीको शरीरको आकार अनुसार तीनदेखि चार घण्टा लाग्‍ने गर्छ।  प्रधानमन्त्रीको उपचारका क्रममा ग्राण्डी अस्पतालमा पनि यही विधि अपनाइएको छ। नेपालमा हाल हेमो डायलासिस नि:शुल्क गरिएको छ।

प्रयोग गर्न सजिलो भएकाले प्राय: बिरामीले यही प्रविधि अपनाउने गरेको पाइन्छ। मिर्गौलाका बिरामीहरुले हप्ताको ३ पटकसम्म होमो डायलाइसिस गर्नुपर्ने हुनसक्छ। विकसित मुलुकमा घरमै यस्तो संयन्त्र जडान गर्न सकिन्छ। तर नेपालमा भने अस्पतालमा मात्रै यस्तो सेवा उपलब्ध छ। पेरिटोनियल डायलाइसिसको तुलनामा यो विधिबाट संक्रमणको जोखिम कम हुने चिकित्सकहरुले बताएका छन्।

पेरिटोनियल डायलाइसिस

यो विधि यो हेमो डायलाइसिस भन्दा धेरै  फरक छ। यो विधिअनुसार बिरामीको डायलाइसिस गर्न बिरामीको पेटमा पाइप लगाएर स्लाइन पानी हालेर पखालिन्छ। बिरामीको पेटमा पाइपमार्फत् एकातिरबाट पानी हालिन्छ, त्यसलाई एक-दुई घन्टा राखिन्छ अनि फोहोर र विकार सोसेको पानी पेटबाट निकालिन्छ।

शरीरमा पानी हाल्ने र निकाल्ने नली जोडिएको हुन्छ। यो प्रविधि नेपालमा भर्खरै शुरु भएको छ। हेमो डायलाइसिसको तुलनामा यो प्रविधिको नतिजा राम्रो मानिन्छ। कतिपय विकसित देशमा ‘पिडी-फस्ट’ भन्‍ने अवधारणा कार्यान्वयनमा ल्याइएको छ। हाम्रो देशमा यो विधि खासै अपनाइएको पाइँदैन। जुन विधि बिरामीले हरेक दिन गर्नुपर्ने चिकित्सकहरुले बताएका छन्।

प्रत्यारोपणमा यस्तो छ कानुनी व्यवस्था

मिर्गौला फेल भएका बिरामीको लागि सबैभन्दा राम्रो उपचार पद्धति पुन:प्रत्यारोपण हो। मिर्गौला प्रत्यारोपण गरिसकेपछि बिरामीले आफ्नो जीवनशैलीलाई राम्रो बनाउन सके अन्य मानिस जस्तै सक्रिय जीवन बिताउन सक्छन्।

नेपालमा पनि पछिल्लो समय मिर्गौला प्रत्यारोपणका लागि सरकारीस्तरबाटै सहुलियत दिने गरिएको छ। नेपालको हकमा कुनै पनि बिरामीले प्रत्यारोपण गर्न चाहेमा आफ्नो नाता वा परिवार भित्रकोले मात्रै मिर्गौला दिन सक्ने कानुनी व्यवस्था छ।

मानव शरीरको अंग प्रत्यारोपणसम्बन्धी ऐन, २०५५ मा नजिकका नातेदारले मात्रै अंग दिन पाउने प्रावधान छ। यो कानुनले बिरामीका छोराछोरी, आमा–बाबु, दाजु–भाइ, दिदी–बहिनी, काका, भतिजा, भतिजी, बाबुतर्फको बाजेबज्यै, छोरातर्फको नातिनातिनी, छोरीतर्फको नातिनातिनी र दुई वर्षदेखि अटुट सम्बन्ध रहेका पति–पत्नी, धर्मपुत्र, धर्मपुत्री, सौतेनी आमा, सौतेनी बाबु र सासुससुरालाई नजिकको नातेदार मानेको छ। प्रम ओलीले नेपालमै फेरि मिर्गौला प्रत्यारोपण गर्न चाहेमा आफ्नै परिवारका व्यक्तिको मात्रै मिर्गौला लिनु पर्ने अवस्था छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.