|

धनगढी : धनगढी उपमहानगरपालिकाको अधिकांश भित्री सडकहरू जीर्ण बन्न थालेका छन्। समयमै मर्मत नगरिंदा सहायक रोडका रुपमा रहेका भित्री सडकहरू जीर्ण बन्न थालेका हुन्।

धनगढी प्रदेशको एक मात्रै उपमहानगरपालिका हो। तर, प्रदेशकै आर्थिक ‘हव’ को रुपमा रहेको धनगढीमा कालोपत्रे सडक फुटेर ठाउँ-ठाउँमा खाल्डाखुल्डी परेको छ। सडक बिग्रेका कारण दुर्घटनाको जोखिम पनि बढेको छ। सडक बिग्रेको धेरै समय भए पनि मर्मत नहुँदा स्थानीयले उपमहानगरपालिकाको कार्यालयप्रति आक्रोस व्यक्त गरेका छन्।

‘सडक बिग्रेर हिडडुल गर्न समस्या धेरै छ। तर, बनाउनका लागि पहल गर्ने कसले?’, धनगढी उपमहानगरपालिका १० घुइयाघाट गौरी कटानका दत्यबहादुर बिश्वकर्माले भने,‘वडा अध्यक्षहरू सधैं यही बाटोमा हिड्छन्। तर अहिलेसम्म बनाउनका लागि पहल गरेका छैनन।’

धनगढी गाउँदेखि जुगेडा जाने कालोपत्रे सडक जीर्ण भएर आवत-जावतमा समस्या रहेको बिश्वकर्माले उल्लेख गरे। क्याम्पस रोडदेखि चटकपुर शहीद गेट जोड्ने सडक, मालपोत रोड, धनगढी गाउँदेखि जुगेडा जोड्ने सडक, पुरानो सब्जी मण्डी, गुल्म-चर्च रोड लगायतका सडकहरू बिग्रेका छन्।

क्याम्पस रोड-शहीद गेट, मालपोत, गुल्म-चर्च रोड क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत निर्माण हुने भन्दै धनगढी उपमहानगरपालिकाको कार्यालयले मर्मतमा हात हालेको छैन। तर, कतिपय आफैले बनाउनु पर्ने रोड पनि उपमहानगरपालिकाको कार्यालयले बनाएको छैन।

उपमहानगरपालिकाले क्षेत्रीय सहरी विकास आयोजनामार्फत सडक निर्माण हुने प्रतीक्षा गर्दा दिनप्रति दिन सडकको अवस्था बिग्रिँदै गएको छ।


मान्छे र सवारी साधनको चाप बढेकाले बिग्रेको सडकमा ठूलो दुर्घटना हुन सक्ने जोखिम पनि बढेको छ। सडक बिग्रेका कारण सवारी साधन चलाउन समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको वडा नम्बर ८ धनगढी गाउँका कुलनारायण चौधरीले बताए।

‘धनगढी गाउँ–जुगेडा बाटो जीर्ण भएको धेरै भइसक्यो’, उनले भने,‘तर, मर्मत गर्नेतर्फ उपमहानगरपालिकाको कार्यालयले ध्याननै दिएको छैन।’ सडक मर्मत नहुँदा आवत-जावतमा ठूलै समस्या रहेको चौधरीले बताए। मालपोत रोडमा सामाजिक विकास मन्त्रालय अगाडि नै खाल्डो परेर पानी जमेको छ।

मन्त्रालयकै अगाडि सडक बिग्रेर खाल्डो परेको धेरै समय भएपनि मर्मत गरिएको छैन। यसैगरी, क्याम्पस रोड-शहीद गेट धनगढीको बजारपछिको दोस्रो मुख्य रोड हो। यो सडक पनि जीर्ण बन्दै गएको छ। विभिन्न ठाउँमा खाल्डाखुल्डी भइसकेको यो सडकलाई क्षेत्रीय सहरी विकास आयोजनाले निर्माण गर्ने जनाइएको छ। 

क्याम्पस रोड-शहीद गेट सडक फराकिलो भए पनि कालोपत्रे धेरै सानो भएकाले समस्या रहेको वडा नम्बर ५ हसनपुरका रोशन चौधरीले बताए। ‘कालोपत्रेभन्दा छेउछाउमा बढी स्थान रहँदा पनि सबैले कालोपत्रेमा गाडी गुडाउन खोज्छन्’, उनले भने,‘अब यो सडक बनाउँदा पिच पनि फराकिलो गर्नु पर्‍यो।’

वडा नम्बर ५ स्थित तारानगरमा बिग्रिएको बाटो निर्माणको कार्य भने सुरु गरिएको छ। धनगढी सवडिभिजन वन कार्यालयदेखि बोराडाँडीसम्म सो सडक खण्डमा ठूलठूला खाल्डो परेको थियो। यस्तै, क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत निर्माण हुने सडक निर्माणको प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।

धनगढी उपमहानगरपालिकाको कार्यालयले बिग्रेका सडक निर्माणका लागि ठेक्का भइ काम पनि सुरु भएको जनाएको छ। केही सडकहरुको निर्माणको काम भइरहेको पनि सो कार्यालयले जनाएको छ।

‘बिग्रेका सडकहरू तिहारभन्दा अगाडि नै बन्छ’, विदेश जानु अगाडि नगर प्रमुख नृपबहादुर वडले भने,‘सडक निर्माणको लागि टेन्डर भइसकेको छ। केही सडकमा काम पनि सुरु भइसकेको छ।’ तर, बाटो अवस्था बिग्रिँदा नगरवासीले भने धनगढी उपमहानगरपालिकाको आलोचना गरिरहेका छन्। उनीहरूले कर मात्रै लिएको तर जनताको समस्या समाधानतर्फ उपमहानगरपालिकाको कार्यालय र जनप्रतिनिधि गम्भीर नरहेको आरोप लगाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.