जनप्रतिनिधिबाट पनि सुनुवाई भएन

|

काठमाडौं : चितवन खैरेनी नगरपालिका १३ का स्थायी वासिन्दा कुष्ठरोगी दम्पत्ति शिवबहादुर सापकोटा र सबिना माझी सापकोटाले आफूहरूको एक बिघा जग्गा जालसाँझी गरेर छिमेकीले नै आफ्नो नाममा पारेको भन्दै न्यायको याचना गरेका छन्। 

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सापकोटा दम्पत्तिले यस्तो याचना गरेका हुन्। छिमेकीसमेत रहेका गणेशकुमार श्रेष्ठले उनीहरूको जग्गा जालसाँझी गरेर आफ्नी बहिनीको नाममा (फिल्ड बुक) मा दर्ता गराएको सापकोटा दम्पत्तिको आरोप छ। उनीहरूका अनुसार श्रेष्ठले आफ्नी बहिनी तिलमाया श्रेष्ठको नाममा सापकोटा दम्पत्तिको जग्गा फिल्ड बुकमा दर्ता गराएका थिए।

आफूहरू घरमा नभएको मौका छोपेर श्रेष्ठले जालसाँझी गरेको भन्दै न्याय माग्न स्थानीय निकायमा धाउँदासमेत जनप्रतिनिधिले कुनै सुनुवाई नगरेको पीडित शिवबहादुर सापकोटाको गुनासो छ। उनले भने, ‘हामी घरमा कोही पनि नभएको मौका छोपेर गणेश श्रेष्ठले यस्तो गलत काम गर्‍यो। उसले २०६३ सालमै यस्तो गलत काम गरेको रहेछ। तर हामीले २०७४ सालमा मात्रै थाहा पायौं। थाहा पाउनेबित्तिकै हामी सम्बन्धित निकायमा पुगेर यस्तो गलत काम गरिएको रहेछ भनेर जानकारी गराएका थियौं। तर वडाअध्यक्षले कुनै सुनुवाई नै गर्नुभएन। उल्टै हामीलाई हप्की र दप्की गर्नुभयो।’

बैशाखी टेकेर पत्रकार सम्मेलनमा उपस्थित भएका सापकोटाले रुँदै भने,‘दोषीलाई कारबाही गर्नुपर्छ। दिनदाहाडै यस्तो गलत र गैरकानुनी काम गर्नेलाई कुनै पनि हालतमा छुट दिनुहुँदैन। फिल्ड बुकमा तिलमायाको नाम हटाएर मेरो परिवारको नाम राख्नुपर्छ।’

एक बिघा ९ कठ्ठा जग्गा रहेकोमा अहिले ९ कठ्ठाको मात्रै जग्गाधनी पुर्जा आफूसँग रहेको उनले सुनाए। ‘एक बिघा जग्गा चाहीँ श्रेष्ठले जालसाँझी गरेर विवाह गरेर दिएकी बहिनी तिलमायाको नाममा फिल्डबुकमा चढाएको छ’ उनले भने। 

आफू बाल्यकालदेखि कुष्ठरोगी भएकोले अस्पताल धाउनुपर्ने बाध्यता रहेको सापकोटाको भनाई छ। ‘म त विरामी हुँ, त्यही भएर धेरैजसो समय घर बाहिर भएँ। श्रेष्ठले त्यसरी एक बिघा जग्गा बहिनीको नाममा फिल्ड बुकमा चढाउँदा हामी ललितपुरको टिकाभैरवमा रहेको कुष्ठरोग अस्पतालमा थियौं’ सापकोटाले सुनाए। 

सापकोटा दम्पत्ति बैशाखी टेकेर भए पनि आफूहरूको जग्गा अर्को व्यक्तिले जालसाँझी गरेर खान खोजेकोले न्याय माग्न निवेदन बोकेर वडा कार्यालय धेरैपटक धाए। तर, जग्गाको पूर्जा निकाल्न अनुरोध गर्दा न्याय दिनुको साटो वडाअध्यक्ष बालकुमार उप्रेतीले धम्की दिने गरेको उनीहरूको गुनासो छ। उनले भने,‘वडाअध्यक्ष उप्रेती जालसाँझी गर्ने श्रेष्ठसँग मिलेका छन्। मेरो जग्गा यसरी मिलेमतोमा खान खोजियो। वडाअध्यक्षले त तँ बढी न हो। तेरो गालामा पड्काई दिन्छु भनेर धम्क्याउँने काम गरे।’

उनीहरू वडाले न्याय नदिएपछि खैरेनी नगरपालिका पुगेर प्रमुख लालमणि चौधरीलाई भेटे। प्रमुखसँग अनुनय-विनय गर्दा पनि उनले पनि न्यायको लागि कुनै ठोस कदम नचालेको र उल्टै वडा कार्यालयमा पठाएको सापकोटा दम्पत्तिको गुनासो छ। उनले भने,‘न्यायको लागि मेयरले पनि राम्रो पहल गर्नुभएन। उहाँले खासै वास्ता गर्नुभएन। हामी न्याय खोज्दै मिडियासामू काठमाडौं आएका हौं। तपाईंहरूले न्याय दिलाउनको लागि पहल गरिदिनुहोस्।’

दशैंलगत्तै आफूहरूले असुरक्षित महशुस गरेर घर छोडेको पनि उनीहरूले जनाए। हाल उनीहरू पर्सा वीरगन्जमा रहेको दिदी-भिनाजुको घरमा आश्रय लिएर बसेका छन्। 

सापकोटा दम्पत्तिको एक सन्तान छन्। उनीहरूको छोरा गणेश सापकोटा हाल काठमाडौं फर्पिङमा कुष्ठरोग निवारणले सञ्चालन गरेको स्कुलमा अध्ययनरत छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.