|

डोटी : कुनै बेला बटुवाका लागि बास बस्ने मुख्य ठाउँ धर्मशाला जीर्ण बन्दै गएका छन्। यातायातको सुविधा नहुँदा नुन ल्याउन जाँदा वा लामो यात्रामा जाँदा अपरिचित गाउँमा बटुवाको सहारा बनेका धर्मशाला होटेलेको बिकास भएसँगै हराउँदै गएको हो।

सायल गाउँपालिका–६ नारागाउँका ७५ वर्षीय बहादुरे रोकायाले भने, ‘यात्राका क्रममा कतिपटक धर्मशालामा बास बसियो होला, याद गरिएको छैन तर आजभोलि बास बासेका धर्मशाला भत्किएको देख्दा साह्रे दुःखः लाग्छ ।’

नुन ल्याउन हाट (बजार) जान एक महिनाको यात्रा गर्दा बटुवाहरुमा धर्मशालामा बास बस्थे। १०/१५ वर्षअघि ओहोरदोहोर गर्ने बटुवाको बास बस्ने ठाउँ धर्मशाला नै हुन्थ्यो। पछिल्लो समय सडकको सहज पहुँच र होटलको खुल्न थालेपछि धर्मशालामा बास बस्न छोडेका छन्। यससँगै धर्मशालाहरु जीर्ण बन्दै गएका छन्। 

‘भारी बोकेर आउने बटुवाहरुले धर्मशाला भरिन्थे। सुत्ने ठाउँ नपाएर आगो बालेर धर्मशालाबाहिरै कति रात काटाइयो,’ डोटी बग्लेगका धर्म ठकुल्लाले आफ्नो अनुभव सुनाउँदै भने, ‘उहिलेका खुट्टा टेक्न ठाउँ नहुने धर्मशालाहरुमा आजभोलि पानी पर्दा गाईगोरु ओत लाग्ने ठाउँमा परिणत भएका छन्।’

धर्म हुने आशामा बाटोमा बरपिपल रोप्ने, चौतारी निर्माण गर्ने र बास बस्नका घर नभएका ठाउँमा धर्मशाला बनाउने परम्परा थियो। तर, पछिल्लो समय त्यस परम्परा लोप भएको बोगटान फुड्सिल गाउँपालिका–६ का  सकराम चन्द बताउँछन्।

‘पहिला बरपिपल रोप्ने, धर्मशाला बनाउने काम बडो पुन्यको काम मानिन्थ्यो,’ उनले भने, ‘तर आजकाल त्यस्ता चिज प्रयोगविहीन भएपछि यस्ता संरचना निर्माण हुन छाडेको छ।’

पर्यटन वर्ष २०२० आउनै लाग्दा धर्मशालाहरुलाई समेत पर्यटनसँग जोड्नु पर्ने यस क्षेत्रका पर्यटन व्यवसायीहरुको भनाइ छ।  सुदूरपश्चिम प्रदेश होटल व्यवसायी संघका अध्यक्ष दीपकबहादुर खड्का भन्छन्, ‘यस क्षेत्रमा घुम्न आउने पर्यटकहरुका लागि परम्परागत रहनसहन पनि आकर्षणको विषय बन्न सक्छ। पुर्खाले निर्माण गरेका धर्मशाला बास बस्न प्रयोगमा ल्याउन नसकिए पनि संरक्षण गर्नुपर्छ।’

दिपायल सिलगढी नगरपालिकाका धर्मबहादुर भण्डारी अनुसार यस क्षेत्रमा सडक सञ्चालनमा आउनुअघि तत्कालीन सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल र जिल्ला सदरमुकाम सिलगढीबीचको ठाउँमा मात्रै ओहोर दोहोर गर्ने दैनिक सयौं मानिस हुन्थे। ती बटुवाहरुलाई सजिलो होस् भनी दिपायल र सिलगढीबीचमा मात्रै अलग अलग स्थानमा धर्मशाला निर्माण गरिएको छ। तर, अहिले त्यसको उपयोग हुन छागेपछि जीर्ण बनेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.