देउवासँग लडेका थिए चुनाव, तर कहिल्यै जितेनन्

|

धनगढी : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ। सरकारको सिफारिस अनुसार सबै प्रदेशमा सोमबारै साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन्।

बैतडीका गोविन्द कलौनी कर्णाली प्रदेश प्रमुखमा सोमबारै साँझ नियुक्त भएका छन्। उनीसहित सातै प्रदेश प्रमुखले मंगलबार पद तथा गोपनीयताको सपथ लिँदैछन्। सुदूरपश्चिम प्रदेशका बासिन्दा उनी छिमेकी कर्णाली प्रदेशका प्रमुख भएका हुन्। 

उनकै प्रदेशमा भने राष्ट्रपतिले चितवनकी शर्मिला उप्रेतीलाई प्रदेश प्रमुख बनाएकी छन्। यता कलौनीले प्रदेश प्रमुखको भूमिका दिएर आफूलाई पार्टीले न्याय गरेको बताएका छन्।

थाहा खबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘मलाई पार्टीले सम्मान गरेको छ। न्याय गरेको छ।’ सधैँ सक्रिय राजनीतिमा रहेर पनि कहिल्यै लाभको पद नपाएका उनलाई प्रदेश प्रमुखमा सिफारिस गर्दा यहाँका नेता कार्यकर्ताले पनि खुसी जनाएका छन्।

प्रदेश प्रमुखमा नियुक्त भएका कलौनीले अहिल्यै धेरै प्रतिक्रिया नदिने बताए। उनले थप कुरा शपथ ग्रहण पछि मात्रै बोल्ने बताए। ‘अहिले मैले धेरै प्रतिक्रिया दिन्न ’उनले भने, ‘शपथग्रहण पछि मात्रै है अरू कुरा।’

तत्कालीन एमालेमा अवसर नपाउने उच्च तहका नेताका रूपमा कलौनीलाई लिइन्छ। उनले डडेलधुरा, बैतडी र पछिल्लो समय कञ्चनपुरलाई आफ्नो राजनीतिक कर्मथलो बनाएका छन्। 

कलौनी २०५१ सालको मध्यावधि निर्वाचनमा सांसदमा लडे। त्यतिबेला उनका प्रतिष्पर्धी थिए, तत्कालीन गृहमन्त्री शेरबहादुर देउवा। मध्यावधि चुनावमा देउवासँग उनी पराजित भए। कलौनी २०५६ को चुनाव बैतडीबाट लडे। २०६४ को संविधान सभामा उनी कञ्चनपुरबाट उठे। तर, उनले जित हात पारेनन्।

२०४७ सालमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) डडेलधुरा जिल्ला सङ्गठन कमिटीको सचिव २०४७ सालमा माध्यमिक विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिई पार्टीको पूर्णकालिन सदस्य भएका थिए। २०४९ सालमा डडेल्धुरा जिल्लाबाट नेकपा एमालेको पाँचौं राष्ट्रिय महाधिवेशन प्रतिनिधिसमेत भए।

कलौनी २०५० सालमा प्रथम जिल्ला अधिवेशनबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) डडेलधुरा जिल्ला कमिटी सचिवमा निर्वाचित भएका थिए। पार्टीमा जिल्लादेखि केन्द्रीय कमिटीसम्मको जिम्मेवारी बहन गरिसकेका कलौनीले अहिलेसम्म संसदीय चुनाव जित्न सकेका छैनन्। ६५ वर्षीय कलौनीले एक पटक राष्ट्रिय सभाको चुनावमा पनि पराजय भोगेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.