यार्ड विस्तार गर्न भन्सार विभागलाई सुझाव

|

विराटनगर : अरुले अनुदान या सहयोग गरे पनि दीर्घकालीन सोचको अभावले नेपालले सहयोगको सही सदुपयोग गर्न नसकेको आलोचना हुँदै आएको छ। सोही आलोचनालाई बल पुग्ने गरी भारतले बनाइ दिएको बथनाहा-कटहरी रेल मार्गको बुधनगर 'कस्टम यार्ड' साँघुरो भए पनि तत्कालै कार्गो (मालबहाक रेल) आउने सम्भावना देखिँदैन।

भारतबाट मोरङको बुधनगरसम्म सञ्चालन गर्न सक्नेगरी रेलमार्ग निर्माण भइसकेको छ। उक्त रेलमार्गबाट मालबहाक ट्रेनले नेपालमा आयात हुने मालवस्तु ल्याउने छ। कार्गोबाट सामान आउन थालेपछि सडकको ८० प्रतिशत चाप बुधनगरस्थित कस्टम यार्डमा सर्नेछ। तर बुधनगरको कस्टम यार्डमा कार्गो आए पनि सामान लोड अनलोड गर्ने, कन्टेनर, ट्रकको मुभमेन्ट तथा २/४ वटा गाडी राख्ने ठाउँ पनि नहुँदा निक्कै समस्या हुने देखिएको छ।

कार्गो ट्रेनको कस्टम यार्ड कटहरीमा निर्माणाधीन छ, कटहरीमै तत्काल रेलमार्ग आउने जोडिएको छैन। तर, नेपालको पहिलो बिन्दु बुधनगरमा भने रेलमार्ग र कस्टम यार्ड बनिसकेको छ।

पहिलो चरणमा बुधनगरसम्म रेल आउने आशामा रहेका उद्योगी, व्यापारी भने अहिले यार्ड साँघुरो भएको पत्तो पाएपछि निराश बनेका छन्। यदि अहिलेकै अवस्थामा कार्गो आए पनि कस्टम यार्ड साँघुरो हुँदा सामान लोड अनलोड तथा पार्किङको ठूलो समस्या देखिने भएको छ। 

तत्काल त्यस ठाउँमा मुआब्जा दिएर निजी जग्गा खाली नगरे नेपालमा कार्गो (मालबहाक रेल) नआउने सम्भावना बढेको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा विराटनगरका उद्योगी अविनाश बोहराको भनाइ छ। ‘कार्गो आउन थालेपछि हाल सडकमा देखिएको लोडमध्ये ८० प्रतिशत त्यस ठाउँमा हुनेछ’, बोहराले भने, ‘तर, बुधनगरको कस्टम यार्डमा खाली कन्टेनरसमेत लगेर राख्ने ठाउँ छैन।’

निर्माणाधीन एकीकृत भन्सार जाँच केन्द्र (आइसिपी ) सँगै बनेको नेपाल कस्टम यार्ड प्राविधिकरुपमा कार्गो रेलबाट सेवा सुरु हुने बताइएको छ। भारतको बन्दरगाहमा लोड भएको सामान जोगवनी हुँदै नेपालसम्मै ढुवानी गर्ने उद्देश्यले जोगवनी कटहरी रेल्वे लाइन बिस्तार गरिएको थियो। अहिले बनेको यार्डमा थोरै संख्यामा मात्र कन्टेनरहरू राख्न सकिने अवस्था छ।

कार्गो रेलले  एकैपटक सयौंको संख्यामा कन्टेनरहरु ढुवानी गरेर ल्याउँछ। बुधनगरदेखि कटहरीसम्म रेलवे लाइन विस्तारको काम भइरहेको र कटहरीमा पनि यार्ड बन्ने भएकोले तत्काल बुधनगरमा विस्तार नगर्ने हो कि भन्नेमा सरकार अलमलिएको देखिन्छ। उद्योगी बोहराले भने सरकारले तत्काल यार्ड विस्तार गर्ने प्रक्रिया अघि बढाउनु पर्नेमा जोड दिए। 

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले रेल्वे कस्टम यार्ड विस्तार गर्नुपर्ने सुझाव भन्सार विभागलाई गराइसकेको बताए। उनले अहिलेको यार्डसँगै जोडिएको पूर्व तर्फको जमिन अधिग्रहण गरेर यार्ड विस्तार गर्न सकिने सम्भावना रहेकोले त्यसको जानकारी पनि विभागलाई गराएको बताए।

रेलबाट सामान ल्याउँदा ढुवानी खर्चमा धेरै बचत हुन्छ। रेल सञ्चालनका लागि सबै पूर्वाधार तयार भइसकेको छ। यद्यपि विराटनगर भन्सार कार्यालयले नै बुधनगरको यार्ड विस्तार गर्नुपर्ने सुझाव दिएकोले विभागले सोही अनुसार योजना बनाउने बताइएको छ।

विराटनगरको बुधनगरमा निर्माण गरिएको एकीकृत भन्सार जाँच केन्द्र भन्सार विभागलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ। त्यससँगै यात्रु तथा सबै मालबहाक ट्रक सोही मार्ग हुँदै विराटनगर गन्तव्यसम्म पुग्नेछन्।

कार्गोबाट सोझै नेपालसम्म सामान ढुवानी गर्ने सपना भने यार्ड साँघुरो भएकै कारण तत्काल पूरा नहुने भएको छ। यसतर्फ सरकारले चाँडो ध्यान दिएर जग्गा मुआब्जाको प्रक्रिया सुरु गर्नुपर्ने उद्योगीको माग छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.