'मेरो मात्र कथा होइन तीन दशकअघिको ग्रामीण समाजको चित्रण'

|

धनकुटा : साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ आउँदो साता मुलुकभर एकसाथ रिलिज हुने भएको छ। चलचित्र बनेको लामो समयपछि आउँदो सातादेखि प्रदर्शन हुन लागेको हो।

चलचित्रले साढे तीन दशक पहिलेको ग्रामीण समाजको अवस्था उतारेको घिमिरे बताइन्। उनले आफ्नो मात्र नभएर फरक शारीरिक अवस्था भएका व्यक्तिको भोगाइका रूपमा आफूले चलचित्रलाई लिएको बताइन्।

‘मेरो पुस्तकमा आधारित चलचित्र प्रदर्शनी हुने खबरले खुसी छु,’ उनले खुट्टाले लेख्दै प्रतिक्रिया दिइन्, ‘यो मेरो र परिवारको मात्र कथा नभएर साढे तीन दशकअघिको नेपाली ग्रामीण समाजको चित्रणका रूपमा सबैको बुझाइ रहोस् भन्ने आग्रह गर्छु।’ घिमिरेले आफ्नो जीवन भोगाइ संगालेर लेखेको कृति ‘जीवन काँडा कि फूल’ ले मदन पुरस्कार प्राप्त गरेको थियो।

चलचित्रमा रहेको प्रमुख पात्र झमक, कृष्णबहादुर, आशादेवी र मीनालाई झमककै परिवारका रूपमा मात्र बुझाइ भए गलत हुने उनको भनाइ छ। साढे तीन दशक पहिले फरक शारीरिक अवस्था भएका व्यक्तिले भोग्नुपरेको जटिल अवस्था अहिले भने तुलना गर्न नसकिने उनको दाबी छ।

आमाबुबाले असाध्यै माया गर्ने भए पनि चलचित्रमा केही छुच्चो रोल भएको प्रति भने घिमिरेको मन दुखाइ छ। त्यसलाई फिल्मको कथाका रूपमा मात्र लिनुपर्ने उनको तर्क छ। घिमिरेको धनकुटा ६, कचिडेस्थित निवासमा उनको बहुप्रसिद्ध कृति ‘जीवन काँडा कि फूल’ मा आधारित फिल्मबारे जानकारी दिन निर्माता तथा निर्देशक विनोद विष्ट पुगेका थिए।

अघिल्लो वर्ष नै झमकको गृहनगर धनकुटामा घिमिरेसामु उक्त फिल्मको च्यारिटी शोसमेत गरिएको विष्टले बताए। झमक घिमिरेको जीवनमा आधारित भएकाले जोकोहीले हेर्नैपर्ने विष्टको भनाइ छ। विष्ट ब्रदर्शको ब्यानरमा निर्माण भएको चलचित्र ‘छुट्टै विशेषता बोकेको भएकाले सहज रूपमा रुचाइने आशा’ गरेको उनले बताए।

घिमिरे सानो छँदाको पुरानो घर र पुस्तकमा वर्णन गरिएअनुसारका दृश्य जुटाएर कृत्रिम घर निर्माण गरी घिमिरे निवास कचिडेमा अधिकांश छायांकन गरिएको थियो। विष्टका अनुसार ९० प्रतिशत धनकुटा र बाँकी धरान तथा राजधानीमा छायांकन भएको छ। सुरु र अन्त्यमा झमक स्वयंसमेत फिल्ममा देखिन्छिन्।

झमकको भूमिका भने फरक-फरक उमेरका आधारमा तीनजनाले गरेका छन। विनोद विष्टले निर्माण तथा निर्देशन गरेको यो चलचित्रमा झमक सानो छँदाको भूमिकामा सिलगुडीकी अवस्था थापा र ठूला हुँदाको भूमिका काठमाडौंकी रोजिता बुद्धचार्यले गरेका छन्।

त्यस्तै, झमकको बहिनीको भूमिकामा बाल कलाकारमा स्वीकृति शर्मा र ठूलो हुँदा सारिका घिमिरे, बुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भूमिकामा मेनुका प्रधानलगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ।

घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा रहेको छ। दर्जनौँ चलचित्रमा पटकथा लेखेका बरालले ‘जीवन काँडा कि फूल’ मा आइपुग्दा फरकपन महसुस भएको बताए। चलचित्रमा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ। प्रकाशकै संगीत रहेको गीतमा जुनु गौतम, सविता गजमेर, मीना निरौलाको स्वर रहेको छ भने नृत्य निर्देशक कमल राई रहेका छन्।

शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन, रीता बलामी र विमला तामाङको मेकअप रहेको यो चलचित्रको सह-निर्माता बद्री चौहान, उमेश सुवेदी र जुनु गौतम रहेका छन्।

चलचित्रलाई श्रीराम बालाजी टेलीफिल्म सुनिल मानन्धरले वितरण गर्दैछन्। चलचित्रका यसअघि पोष्टर, गीत र ट्रेलर सार्वजनिक भएका छन्। अस्ट्रियाको भियनामा सफलतापूर्वक प्रदर्शन भएकाले स्वदेशमा अझ बढी आशावादी रहेको विष्टको भनाइ छ। विष्टले यसअघि ‘प्रेम प्रतीक्षा’, ‘संग्राम’ र ‘म कसरी भनुँ’ जस्ता चलचित्र निर्माण र निर्देशन गरिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.