दुवै पक्षबाट करिब ५० जना वकिल बहस गर्दै

|

रौतहट : रौतहटको राजपुरमा इँटाभट्टामा जिउँदै मान्छे पोलेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको बयान मंगलबार साँझसम्म पनि सकिएन। मंगलबार साढे ४ बजेसम्म अदालतले आलमको बयान लिएको थियो।

बयान नसकिएपछि पुनः भोलि बुधबार १० बजे बयानका लागि बोलाइएको रौतहट जिल्ला अदालत गौरका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए। बयानका लागि अदालत पुर्‍याइएका आलमलाई काउन्सिलिङका लागि आलमका कानुन व्यवसायीले समय माग गरेपछि केहीबेर बयान रोकिएको थियो।

आलमका पक्षबाट बहस गर्ने कानुन व्यवसायीहरूले सरकारी वकिल कार्यालयले आलमविरुद्ध तयार पारेको मिसिलको प्रतिलिपि पाउनुपर्ने माग र आलमलाई काउन्सिलिङका लागि केही बेर समय दिन माग गरेपछि बयान रोकिएको श्रेस्तेदार पराजुलीले बताए।

आलमको  ४ नम्बर इजालशका जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा बयान भएको हो। आलमलाई न्यायाधीश ढकालले ९ वटा प्रश्न सोधेका थिए। आलमको परिचय तथा कानून व्यवसायी राखे नराखेको सम्बन्धी प्रश्नहरू मात्रै गर्दा अदालतको समय समाप्त भएकोले बाँकी बयान बुधबार हुने सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्र राज कटुवालले बताए।

केही बेरको काउन्सिलिङ र मिसिलको प्रतिलिपि उपलब्ध गराएपछि बयान सुरु भएको उनले बताए। आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीनवटा अभियोगमा मुद्दा दायर भएको छ। आलमको बयान सकिएपछि थुनछेकको बहस सुरु हुनेछ। त्यसपछि मात्रै आलमलाई कस्तो सजाय दिने भन्नेबारे अदालतले आदेश दिनेछ।

आलमलाई कारबाही माग गर्दै बादीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय रौतहटका सहन्यायाधिवक्ता रामप्रसाद पन्थी, महान्यायाधिवक्ताको कार्यालय काठमाडौंबाट आएका सूर्यराज दाहाल, अर्जुनप्रसाद कोइराला, सरकारी वकिल कार्यालय पर्साका न्यायाधिवक्ता रुद्र पन्थी र आफूले बहस गर्ने जिल्ला न्यायाधिवक्ता कटुवालले जानकारी दिए ।

आलम 'केश'मा बादी र प्रतिबादी दुवै तर्फबाट करिब ५० जना वकिलले बहस गर्ने भएका छन्। आलमका तर्फबाट मात्रै करिब २७ जनाले वकालत नामा लिएको बुझिएको छ भने सरकारी वकिलको तर्फबाट पनि उतिकैको हाराहारीमा वकिल बहस गर्ने भएका छन्।

सरकारी वकिल कार्यालय रौतहटले जिल्ला अदालत रौतहट गौरमा अभियुक्त आलमसहित १० जनाविरुद्ध सोमबार जन्मकैदको मुद्दा दर्ता गरिएको थियो। जिल्ला अदालत रौतहटमा दायर भएको ०७६ सिए ००९५ मुद्दामा सरकारी वकिल कार्यालयले ३९ पानाको अभियोग पत्र तथा ८७८ पृष्ठको मुद्दा मिसिल दर्ता गराएको थियो।

पहिलो संविधानसभाको निर्वाचनको दिनभन्दा अघिल्लो सात २०६४ चैत्र २६ गते बनाउँदै गर्दाको बम विष्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेर जलाएको आरोपमा आलमलाई गत असोज २६ गते रौतहट प्रहरीले पक्राउ गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.