|

हेटौँडा : हेटौंडा-६ स्थित चित्रेपानी सामुदायिक वन क्षेत्रमा नेपाल-भारत मैत्री बहुप्राविधिक महाविद्यालयको मंगलबार शिलान्यास भएको छ।

महाविद्यालय निर्माण गर्न नेपाल र भारतबीच भएको सम्झौताको ९ वर्षपछि मंगलबार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका हुन्। मुख्यमन्त्री पौडेलले भारतीय दूतावास काठमाडौंका चार्ज डिअफेयर्स डा. अजयकुमारको उपस्थितीमा शिलान्यास गरेका हुन्।

२५ विगाहामा ५८ करोड लागत

नेपाल-भारत मैत्री बहुप्राविधिक महाविद्यालय २५ बिगाहा क्षेत्रफलमा निर्माण गरिने भएको छ। उक्त महाविद्यालयको भवन ५८ करोड ४४ लाख लागतमा निर्माण हुने प्रदेश सरकारका मुख्यमन्त्री पौडेलले बताए।

पौडेलको दाबीअनुसार चारवटा प्राविधिक विषयमा पढाइ हुने महाविद्यालयले प्रत्यक वर्ष २ हजार ५ सय प्राविधिक विद्यार्थी उत्पादन गर्ने भएको छ। 

२२ वर्षदेखिको योजना

प्रदेश ३ का मुख्यमन्त्री पौडेलले २२ वर्ष अगाडिको योजनाको बारेमा समेत खुलाशा गरेका छन्। २२ वर्ष अगाडी तत्कालीन समयमा हेटौँडा नगरपालिकाका मेयर हुँदा मुख्यमन्त्री पौडेलले हेटौँडामा देशकै ठूलो प्राविधिक शिक्षालय खोल्न योजना अगाडि सारेका थिए।

उक्त समयमा जग्गा, आर्थिक र अन्य कारणले समेत गर्दा उक्त ठाउँमा नै अगाडि सारेको योजनाले मूर्तरूप पाउन सकेको थिएन्। २२ वर्षदेखि महाविद्यालय  योजना अलपत्र परेकोमा दुःख व्यक्त गर्दै उनले अब निर्माण हुने काममा ढिला सुस्ती हुन नदिने दाबीसमेत गरे।

समय मिलाएर आफूले बारम्बार अनुगमन गर्ने भन्दै पौडेलले गौरिटारको रंगशाला र प्राविधिक महाविद्यालय एकै पटक निर्माण गर्नेगरि काम गर्नुपर्ने बताए। उनले तोकिएको समयभन्दा अगाडि काम सकेमा प्रदेश सरकारले निर्माण कम्पनीलाई पुरस्कृत गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा विसं २०६६ फागुन ४ गते तत्कालीन राष्ट्रपति रामवरण यादवको भारत भ्रमणका क्रममा दुई देशबीच मित्रताको प्रतीकका रूपमा भारतीय लगानीमा हेटौँडामा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो।

५८ करोड लागतमा २६ वटा सुविधासम्पन्न भवन, खेल मैदान, कक्षाकोठा, प्रयोगात्मक कक्षा, छात्रावास तथा आवास रहने जनाइएको छ। भारत सरकारको सहयोगमा निर्माण हुने दुई देश विच भएको सहमति दुई दशकभन्दा बढी अवधिसम्म पनि निर्माण हुन नसकेको नेपाल-भारत बहुप्राविधिक महाविद्यालयको नेपाल र भारतीय पक्षबाट रूख कटान नभएको भन्दै काम रोकिएको थियो। प्रदेश सरकारको पहलमा रोकिएका रूख कटानको काम सकिएपछि महाविद्यालय निर्माण गर्ने बाटो खुलेको हो।

कार्यक्रममा प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल, प्रदेशसभा सदस्यहरूको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.