|

काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले खर्च कटौतीको योजना ल्याएको छ। निगमले बुधबार पत्रकार सम्मेलन गरेर कटौतीको माध्यमबाट एक वर्षको अवधिमा २ अर्ब १७ करोड रुपैयाँ बचत गर्ने योजना अघि सारेको हो। 

खर्च कटौती र गन्तव्य बिस्तारका माध्यमबाट उक्त रकम बचत हुने नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए। उनका अनुसार अब जहाजले अतिरिक्त इन्धन बोकेर हिँड्नु नपर्ने गरि व्यवस्था मिलाइएको छ। 

जसले गर्दा मूल्य कटौतीमा भूमिका खेलेको दाबी खरेलले गरे। अर्कोतर्फ रुट व्यवस्थापनको माध्यमबाट पनि खर्च घटाइएको उनले जानकारी दिए। इन्जिनियरिङ विभागले  धेरै काम स्वदेशी जनशक्तिबाटै गर्न थालेपछि पनि खर्च घटेको निगमको दाबी छ। 'जसले गर्दा खर्च घटाउन भूमिका खेलेको हो', खरेलले भने।  

जापान उडान क्रमशः नाफामा जाने क्रममा रहेको निमगले जनाएको छ। 'अन्य गन्तव्यमा निगम नाफामै उडेका कारण निगमको बचत बढिरहेको छ', खरेलले थपे।

'हामी इमानदारपूर्वक काम गरिरहेका छौँ', उनले थपे, 'खर्च कटौतीलाई तीव्र बनाएका छौँ। आगामी मार्चसम्म जापानको नारिता, साउदीको रियाद र चीनको ग्वाङ्झाउ उडानको तयारी निगमले गरिरहेको छ।'

आफ्नो तर्फबाट सबै तयारी पूरा भए पनि सम्बन्धित मुलुकका कारण उडान पछाडि सरिरहेको खरेलले जानकारी दिए। सम्बन्धित मुलुकले उडान अनुमति दिनासाथ निगमका जहाज उड्न तयारी अवस्थामा रहेको खरेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.