|

धनकुटा : जिल्ला अस्पताल धनकुटामा दुई हप्तादेखि एक्स-रे सेवा अवरुद्ध भएको छ। एक्स-रे सेवा लिनु पर्ने बिरामी महँगो शुल्क तिरेर निजी क्लिनिक धाउन बाध्य भएका छन्।

जिल्लाको एक मात्र एक्स-रे सेवा दुई हप्तादेखि बन्द हुँदा बिरामीहरू बाहिरी जिल्ला जानु परेको हो। छातीको एक्सरे गर्नु पर्ने बिरामी धनकुटाको छथर जोरपाटी गाउँपालिकाका ३५ वर्षीय टेक बहादुर श्रेष्ठले सेवा नपाएपछि धरान जाने तयारीमा रहेको बताए। उनले भने 'जिल्ला अस्पतालमा एक्स-रे छ भनेर आएको, बिग्रेको छ रे। अब धरान जान्छु।’

यस्तै, गुनासो धनकुटा नगरपालिका २ भीरगाउँका ७३ वर्षीय हरिबहादुर थापाको पनि छ। 'छातीको एक्स-रे गर्न अस्पताल आएको एक्स-रे मर्मत भएको छैन। दैनिक अस्पताल आउने र जाने गरेको छु। स्वास्थ्यकर्मीले एक्स-रे मेसिन बिग्रको छ भन्छन्’ उनले भने ‘आर्थिक अवस्था बलियो भएका बिरामी त बाहिरी जिल्ला गइसके। आर्थिक अवस्था कमजोर भएका मजस्तै बिरामी अस्पतालको बाटो कुरेर बस्नु परेको छ।’

जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. अमिताभ ठाकुरले एक्स-रे मेसिनको ट्रान्सर्फमर पड्केर करिब दुई हप्तादेखि काम नगरेको बताए। पुरानो मेसिन भएकाले पटकपटक बनाउनभन्दा केही दिनमा नयाँ मेसिन जडान गरि समस्याको दीर्घकालीन समाधान हुने उनको भनाइ छ। दैनिक २०/२५ जनाको एक्स-रे गर्नुपर्ने अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.