|

म्याग्दी : समुद्री सतहदेखि २ हजार ४ सय ३० मिटरको उचाइमा रहेको म्याग्दीको पर्यटकीय स्थल टोड्केमा ९ जना संस्थापकसहित ३३ जना व्यवसायीको करिब ३ करोडको लागतमा संचालित टोड्के रिसोर्ट प्रालिले पर्यटकलाई आकर्षित गर्नका लागि गज्जबको उपाय अबलम्बन गरेको छ।

परम्परागत तरिकाले कुनै पनि व्यवसाय अब सफल हुन सक्दैन भन्ने कुरा बुझेका रिसोर्ट संचालकले नयाँ उपाय पर्यटकीय स्थल टोड्केको प्रचारप्रसारसँगै आफूलाई पनि व्यावसायिक लाभ हुने बताएका छन्।

म्याग्दीको रघुगंगा, मंगलागाउँ पालिका र बेनी नगरपालिका गरी तीनओटा स्थानीय तहको बोर्डर (सीमा)मा रहेको पर्यटकीय स्थान टोड्केको टोड्के रिसोर्ट प्रालिमा शनिबार नितान्त नौलो कार्यक्रम गरेर पर्यटकको ध्यान आकर्षित गरिएको छ।

म्याग्दी जिल्लामा जन्मिएर संसारका विभिन्न देशहरूलाई कर्मथलो बनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागि भएका ५० वर्षमाथिका पाँचजना खेलाडीहरूलाई सम्मान गर्नुका साथै १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा भाग लिने ह्याण्ड बलका खेलाडीहरूलाई टोड्केमा बोलाएर हाइअल्लिच्यूड तालिमको समेत आयोजना गरेर टोड्के हिल रिसोर्ट प्रालिले पर्यटकको ध्यानाकर्षण गराएको हो।

हाइलल्लिच्यूड स्थानमा तालिम लिएपछि शहरी क्षेत्र वा बढी तापक्रम भएका ठाउँहरूमा खेल खेल्दा खेलाडीलाई पनि फाइदा पुग्ने राष्टिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले बताए।

उनले पर्यटकलाई आकर्षित गर्ने सबैभन्दा महत्वपूर्ण माध्यम भनेको प्राकृतिक सुन्दरता र त्यसपछि खेलकुद नै भएको बताउँदै टोड्केको पर्यटन प्रवर्द्धनमा पनि खेलकुद महत्वपूर्ण माध्यम भएकोले यहाँ एउटा हाइअल्लिच्यूड मापदण्डको खेलमैदान आवश्यक रहेको औँल्याए।

कस्तो छ टोड्के

म्याग्दी सदरमुकाम बेनीदेखि सवारी साधनमार्फत दुई घण्टाको यात्रापछि पुग्न सकिने आकर्षक गन्तव्य टोड्के प्राकृतिक सौन्दर्ययुक्त शितोष्ण हावापानी भएको लेकाली ठाउँ हो। यहाँबाट धौलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे, मानापाथीलगायत दर्जनौँ मनोरम हिमश्रृंखलाहरू देखिन्छन्।

टोड्केबाट बागलुङ र पर्वत जिल्लाको डाँडाकाँडासमेत देखिन्छ। यहाँ माघ फागुनमा ढकमक्क फुल्ने लालीगुराँसले पर्यटकलाई लोभ्याउँछ। आलु, फापर र मुलाका लागि पनि प्रख्यात ठाउँ हो, टोड्के।

आँखैअगाडि चाँदी झैँ टल्केका हिमश्रृंखला,चैत बैशाखमा राताम्यै फुल्ने लालिगुराँस, अर्गानिक खानाका परिकार, सुविधायुक्त बसाइँ, पारिवारिक वातावरण, जंगली जनावरको अवलोकन आदि यहाँका विशेषता रहेका टोड्के हिल रिसोर्ट प्रालिका अध्यक्ष मीनबहादुर पाइजाले बताए।

‘टोड्के प्रचुर पर्यटकीय सम्भावनायुक्त ठाउँ रहेछ, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले भने ‘यसको प्रचारप्रसार गर्ने हो भने यो ठाउँमा धेरै पर्यटक आउने मलाई लागेको छ।

त्यसैगरी, नेपाल ह्याण्डबल संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले स्वर्गीय आनन्दको अभूतपूर्व अनुभूति हुने ठाउँको रूपमा टोड्केलाई अर्थाए। उनले भने ‘यहाँबाट हिमाल र पहाडको अति रोमाञ्चक दृश्य देखिदोरहेछ, आहा! कति आनन्दा आउने ठाउँ।'

टोड्केको सान ज्येष्ट खेलाडीलाई सम्मान

म्याग्दीको पर्यटकीय स्थल टोड्का शनिबार म्याग्दी जिल्लामा जन्मेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्न सफल ५० वर्ष पार गरेका पाँचजना खेलाडीलाई सम्मान गरिएको छ।

सम्मानीत हुनेमा एथलेटिक्सतर्फ ६१ वर्षीय मीनबहादुर पाइजा, पौडी तथा डाइभिङतर्फ अन्तर्राष्ट्रिय उपाधि विजेतासमेत रहेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष ६१ वर्षीय क्या. डमबहादुर पुन, भलिबलतर्फ मिलन श्रेष्ठ र ५३ वर्षीया कौशीला खत्री, र बक्सिङमा ७४ वर्षीय मानबहादुर बुढाथोकी रहेका छन्।

उनीहरूलाई राष्ट्रिय खेलकुद विकास परिषद्का उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि पिताम्बर तिमिल्सीना, नेपाल ह्याडबल संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष  तेजबहादुर गुरुङ, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी, प्रहरी निरिक्षक ध्रुवप्रसाद शर्मा, टोड्के हिल रिसोर्ट प्रालिका अध्यक्ष पाइजालगायतले सम्मान गरेका थिए।

टोड्के हिल्स रिसोर्ट प्रालिले आयोजना गरेको ५० वर्ष माथिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश खेलाडीको सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष तिमिल्सिनाले खेलकुदको माध्यमबाट पर्यटक प्रवर्द्धन गर्न सकिने बताउँदै खेल पूर्वाधारको विकाससँगै खेलाडीको हितमा नीतिगत सुधारको पहल आवश्यक रहेको बताए।

सागको तयारीमा रहेका ह्याडबल खेलका खेलाडीहरुलाई उच्च स्थानमा तालिम प्रदान, जेष्ठ खेलाडीहरुको योगदानको कदर र टोड्केको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको रिसोर्टका सञ्चालक भीम शेरचनले बताए।

खेलाडीलाई हाइअल्टिच्यूड तालिम

आसन्न १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) गेममा नेपालको तर्फबाट सहभागि हुने ह्याण्डबलका खेलाडीलाई समुद्री सतहदेखि २ हजार ४ सय ३० मिटर उचाइमा रहेको म्याग्दीको  पर्यटकीय स्थल टोड्केमा हाइअल्टिच्यूड तालिम आयोजना गरिएको छ।

टोड्के रिसोर्ट प्रालिको आयोजना र राष्ट्रिय खेलकुद विकास परिषद्को व्यवस्थापनमा शनिबारदेखि शुरु भएको तालिमको राष्ट्रिय खेलकुद विकास परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले उद्घाटन गरेका थिए।

महिला र पुरुष गरी गरिब ५० जना खेलाडीको सहभागिता रहेको तालिम र ५० वर्ष माथिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि खेलाडीलाई सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद विकास परिषद्का उपाध्यक्ष तिम्सिनाले खेलकुदको माध्यमबाट नेपालमा पर्यटन विकास गर्न सकिने बताएका छन्।

उपाध्यक्ष तिमिल्सिनाले खेल पूर्वाधारको विकाससँगै खेलाडीको हितमा नीतिगत सुधारको पहल गरिएको बताए।

सागको तयारीमा रहेका ह्याडबल खेलका खेलाडीलाई उच्च स्थानमा तालिम प्रदान, ज्येष्ट खेलाडीको योगदानको कदर र टोड्केको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको रिसोर्टका सञ्चालक भीम शेरचनले बताए।

समुद्री सतहदेखि दुई हजार चार सय ३० मिटरको उचाइमा अवस्थित टोड्केको खेलमैदानमा १३औँ दक्षिण एशियाली खेलकुद (साग) मा सहभागि हुने ह्याडबल खेलको नेपाली राष्ट्रिय टोलीका खेलाडीले टोड्के हाइअल्टिच्यूट गेमका लागि अति उपयुक्त स्थान रहेको बताएका छन्।

पोखरामा बन्द प्रशिक्षणमा रहेका पुरुष र महिला ह्याडबलका १६/१६ जना खेलाडी र अफिसियलगरी ५० जना खेलाडी म्याग्दी आएका छन्। उनीहरूबीच टोड्केमा मैत्रीपूर्ण खेल खेलाइएको थियो। खेलाडीलाई मानसिक र शारिरिक प्रशिक्षण गराइएको थियो ।

खेलाडीको तनाव व्यवस्थापन र मानसिक तयारीका लागि टोड्के उपयुक्त स्थान भएको ह्याडबल संघका अध्यक्ष तेजबहादुर गुरुङले बताए। आउदा मंसिर १५ देखि २४ गतेसम्म पोखरामा १३औँ सागअन्तर्गत ह्याडबल महिला र पुरुषसहित नौवटा खेल हुने भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.