'पञ्‍चेश्वरको पानी आधा-आधा हुन्छ'

|
फाइल तस्विर

बैतडी : नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैतडीको पञ्चेश्वर गाउँपालिकामा बिहीवारदेखि राष्ट्र निर्माण महामहोत्सव सुरु भएको छ। महामहोत्सवको उद्घाटन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका छन्।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले कालापानी नेपालकै भूभाग रहेको बताए। भारतीय नक्सामा नेपालको भूमि राखिएको भन्‍ने कुरा सञ्चारमाध्यमबाटै थाहा पाएको बताउँदै उनले भारतबाट आधिकारिक जानकारी आइनसकेको स्पष्ट पारे।

'कालापानी हाम्रै हो,' उनले भने, 'भारतीय नक्सामा नेपाली भूमि राखिएकोमा कूटनीतिक पहल भइरहेको छ। हामीले विज्ञप्ति निकालिसकेका छौँ। मित्रता आफ्नो ठाउँमा होला तर एक इञ्च पनि सीमा मिच्‍न दिइने छैन।'

वर्षौदेखि कुराकानी भएर पनि अगाडि बढ्न नसकेको पञ्चेश्वर परियोजनाको काम थाल्ने सहमति भइरहेको उनले बताए। 'पानी आधा-आधा हुन्छ', उनले भने 'सहमतिमा जोड दिएका छौँ।'

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणको लागि भारत सहमति नजिक रहेको पनि उनले जानकारी गराए। बैतडीमा पुल निर्माणको माग गर्दै ३७ दिनसम्म रिले अनशन समेत बसेका कुरा थाहा भएको बताए।

'भारत सहमति गर्न तयार रहेको जानकारी गराएको छ' उनले भने 'भारतका विदेश मन्त्री एस जयशंकरसँग प्रत्यक्ष भेटघाट गरिसकेका छौँ, कूटनीतिक पहलमा छौँ।'

एक फरक प्रसंगमा परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्र निर्माणका लागि सबैले एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए। 'विकास निर्माण र सकारात्मक कामको लागि राजनीतिक स्वार्थ त्याग्नु पर्छ' उनले भने, 'राजनीतिक स्वार्थभन्दा माथि उठेर देश निर्माणको अभियानमा सबैले हातेमालो गर्नुपर्छ।'

यसैबीच पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले परराष्ट्रमन्त्री ज्ञवालीलाई सातबुँदे ज्ञापनपत्रसमेत बुझाएका छन्।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अगाडि बढाउनुपर्ने, पाटन-पञ्चेश्वर सडक पञ्चेश्वर बाधस्थलसम्म कालोपत्रे, पञ्चेश्वरस्थित महाकाली नदीमा झोलुंगे पुल निर्माण, छोटी भन्सार कार्यालय स्थापना हुनुपर्ने लगायतका सातबुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो। महामहोत्सव उद्घाटनपछि परराष्ट्रमन्त्री ज्ञवालीले पञ्चेश्वर परियोजनाको बाँधस्थलको पनि अनुगमन गरे।

समग्र बैतडीको औद्योगिक विकासका लागि लोक कल्याणकारी ट्रष्ट महाअभियानअन्तर्गत महोत्सवको आयोजना गरिएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए। बैतडीको पञ्चेश्वरमा गुमनाम रहेका पञ्चेश्वर धाम, देवताल, गणमेश्वर धामलगायतको विकाससँगै औद्योगिक ग्राम विस्तारका लागि महोत्सवबाट सहयोग पुग्ने विश्वास लिइएको छ।

लोक कल्याणकारी राष्ट्र निर्माण ट्रष्ट सेवाको संयोजनमा पञ्चेश्वर गाउँपालिका ३ कुलाउमा सञ्चालन हुने महोत्सव मसिंर २ गते सम्पन्न हुनेछ। महोत्सव अवधीभरमा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्रीलगायत विभिन्न विशिष्ट व्यक्तित्वको पनि उपस्थिति रहने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.