|

दाङ : दाङको निर्वाचन क्षेत्र नं ३ (ख)को प्रदेशसभा सदस्यको उपनिर्वाचनमा भाग दिने उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। प्रदेशसभा उपनिर्वाचन, मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा बिहीबार दिउँसो पुगी जिल्लास्थित राजनीतिक दलका उम्मेदवार तथा केही स्वतन्त्र गरी १४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्ता गराउनेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट विमला वली, नेपाली कांग्रेसबाट केशवराज आचार्य, राष्ट्रिय जनमुक्ति पार्टीबाट धनराज सुनार, नेपाल मजदुर किसान पार्टीबाट सुरेश परियार, राप्रपा संयुक्तबाट छोटीलाल थारूले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, नेकपा मालेबाट हरिप्रसाद डाँगी, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, राप्रपाबाट भुपाल रावत, मंगोल नेशनल पार्टीबाट घनश्याम चौधरी, नेपाल लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री, साझा पार्टीबाट शिवकुमार चौधरी, नेपाली कांग्रेस (विपी) विचारबाट दीपककुमार धिताल तथा स्वतन्त्र रुपमा गोविन्द केसी र टीकाराम आचार्यको उम्मेदवारी परेको छ।

राजनीतिक दलका उम्मेदवार उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउन दल बलका साथ बाजागाजासहित र्‍याली लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। मनोनयनका लागि बिहान १० बजेदेखि १ बजेसम्मको समय निर्धारण गरिए पनि दलका केही उम्मेदवारको मनोनयन पत्र र मतदाता नामावलीमा नाम नामेसी नमिल्दा निर्धारित समयभन्दा केही ढिला गरी मनोनयनको काम सकिएको थियो।

मनोनयन दर्तापछि कार्यालयले मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरेको जनाएको छ। अब शुक्रबार २२ गते उम्मेदवारको विरोधमा उजुरी दिने व्यवस्था गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै, २३ गते बिहान ११ बजेदेखि १ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरिने र सोही दिन २ बजेदेखि ५ बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताइन्। २४ गते बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय दिइएको उनले बताइन।

सोही दिन २ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ। २५ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत थापाले बताइन्।

नेकपाको तर्फबाट उम्मेदवार दिएकी स्वर्गीय उत्तरकुमार वली पत्नी विमलाले  प्रदेशसभा सदस्यमा आफूले नै जित्ने दावी गरिन्। उनीले त्यस क्षेत्रको सुखदुःखसँग नजिक रहेको बताउँदै सिंगो पार्टी र त्यहाँका नागरिकक साथ रहेकाले आफूले जित्ने बताइन्।

यस्तै, उनीले श्रीमानले छाडेर गएका अधुरा काम पूरा गर्न आफू प्रतिबद्ध भएको बताउँदै पश्चिम दाङको विकासका लागि आफ्नो विकल्प अरू कोही नभएको स्पष्ट पारिन्।

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार आचार्यले आफ्नो उम्मेदवारी प्रजातन्त्र रक्षा, देशमा भएको विसंगती, भष्टाचारको विरोधमा उम्मेदवारी दिएकाले पश्चिमी जनताले  आफूलाई साथ दिने बताए। उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएसँगै अहिले उम्मेदवार र राजनीतिक दल चुनावी प्रचार प्रसारमा जुटेका छन्।

उम्मेदवारी दर्ता गराउन पुगेका उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृत थापाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह तथा सरोकारवाला निकाय एवं व्यक्तिले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिता, २०७२ तथा स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ का विषयमा सचेत हुँदै प्रचारप्रसारमा सहभागी बन्न आग्रह गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.