अनशनप्रति समर्थन बढ्दै

|

डडेल्धुरा : चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा. गोविन्द केसीले सोमबारदेखि सुरु गरेको १७औं चरणको अनशन पाँचौ दिन जारी छ।

सदरमुकामस्थित डडेल्धुरा अस्पताल नजिकै निर्मल क्लिनिक रहेको घरको तेस्रो तलाको एउटा कोठामा केसी अनशन बसिरहेका छन्। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा छाया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडूले अनशनरत डा.केसीलाई भेटेका छन्। शुक्रबार दिउँसो केसीलाई भेटेर उनले अनशनप्रति ऐक्यबद्धता जनाएका छन्।

उनले केसीको अनशनप्रति सुरुदेखि नै कांग्रेसको समर्थन रहेको बताए। केसीले उठाएका मेडिकल शिक्षालाई गुणस्तरीय, सर्वसुलभ र सबैले पढ्न सक्ने बनाउनुपर्छ भन्ने माग जायज भएको नेता बडूले बताए। उनले मागहरु छिटोभन्दा छिटो कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे।

‘मेडिकल कलेजहरु अहिले पनि तोकेको शुल्कभन्दाब बढी लिइरहेको छन्। तर बढी लिएको शुल्क फिर्ता गर्न तयार छैनन्,’ उनले भने,‘सरकार हामी फिर्ता गराउँछौँ भन्छ तर गराउन सकिरहेको छैन।’ 
बडूले दुईतिहाइको वर्तमान सरकार गरिब विद्यार्थीको हितमा नभएको आरोप लगाए। काठमाडौँ गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई केसीले अघि सारेका ७ बुँदे मागबारे जानकारी गराउने उनले बताए। 

‘२५ गतेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको छ। त्यहाँ प्रधानमन्त्रीज्यू पनि आउनुहुन्छ,’ बडूले भने, ‘उहाँलाई डा.सापले उठाएका माग सम्बोधन गर्न आग्रह गछौँ।’

ऐक्यबद्धता बढ्दै

डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्थानीय अगुवाहरुले सत्याग्रहस्थल पुगेर डा. केसीलाई भेट्दै ऐक्यबद्धता जनाइरहेका छन्।

यसअघि डोटीका विभिन्न ५ वटा संघसस्थाले ऐक्यबद्धता जनाएका थिए। डोटी उद्योग वाणिज्य संघको नेतृत्वमा बुधबार डडेल्धुरा पुगेको टोलीले डा.केसीले राखेका मागमा ऐक्यबद्धता जनाएको हो।

उद्योग वाणिज्य संघसँगै गैरसरकारी संस्था महासंघ डोटी, शैलेश्वरी यातायात व्यवसायी संघ डोटी, होटल व्यवसायी संघ डोटी र त्रिवी प्राध्यापक संघ डोटीले डा. केसीका माग पूरा गर्न सरकार समक्ष माग पनि गरेका छन्। सयुक्त रुपमा विज्ञप्ति जारी गर्दै केसीले उठाएका माथ जनताको पक्षमा रहेको उल्लेख गरिएको छ।

अघि सुदूरपश्चिम प्रदेशका सांसद तथा नेपाली कांग्रेसका पार्टी सभापति कर्णबहादुर मल्लले उनको सत्याग्रहप्रति ऐक्यबद्धता जनाएका थिए। मंगलबार दिउँसो कार्यकर्तासहित अनशनरत केसीलाई भेटेर उनले ऐक्यबद्धता जनाएका हुन्।

स्वास्थ्यमा सुधार

अनशनको तेस्रो दिनमै बिरामी परेका केसीको स्वास्थ्य अवस्थामा बिहीबारदेखि सुधार आएको छ। तेस्रो दिन स्वास्थ्यमा समस्या देखिएपछि बोलचाल बन्द गरेका डाक्टर केसीको अवस्था बिहीबारदेखि समान्य रहेको डडेल्धुरा अस्पतालका निमित्त मेसु डाक्टर जितेन्द्र कँडेलले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.