निर्वाचन एउटा वडामा, कार्यालय अर्कै वडामा

|

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका-१० (साबिक लालपुर गाबिस) मा वडा अध्यक्षको निर्वाचनको सरगर्मी सुरु भएको छ। आउदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नगरपालिकाको चन्द्रौटामा मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरिएको छ।

आगामी कार्तिक २७ गते मनोनय पत्र दाखिला गर्ने मिति रहने गरी निर्वाचनका कार्यक्रम सार्वजनिक गरिएको छ। स्वतन्त्र उम्मेवारबाट वडा अध्यक्षमा जितेकी सकुन्तला भारतीको मृत्युपछि उक्त वडामा निर्वाचन हुन लागेको हो।

पार्टी छाड्दै चुनाव लड्दै

उपनिर्वाचनका लागि उम्मेदवारहरूले राजनीतिक आस्थालाई बिर्सिएको पाइएको छ। २०७४ को स्थानीय तह, प्रदेशको निर्वाचनमा एक राजनीतिक दलबाट उम्मेदवार भनेका व्यक्तिहरू अहिलेको उपनिर्वाचनमा पार्टी परित्याग गर्ने क्रम बढेको छ। कुर्सीको लोभमा राजनीतिक आस्थालाई नै गुमाएको स्वयं मतदाताहरू बताउँछन्।

यता, वडा अध्यक्षमा सत्तारूढ नेकपाबाट अदालत मनिहर, कांग्रेसको तर्फबाट देव भारती, र राजपाबाट मन्जु मिश्राले टिकट पाउने चर्चा छ। भारती सकुन्तलाका छोरा हुन्। उनी गत संविधानसभाको निर्वाचनमा राप्रपाबाट प्रदेश सदस्यमा उठेका थिए। आमाको मृत्युपछि कांग्रेसले वडा अध्यक्षमा टिकट दिने प्रतिबद्धता जनाएपछि भारती कांग्रेसमा प्रवेश गरेका थिए।

गत निर्वाचनमा कांग्रसको तर्फका उम्मेदवार तीर्थबहादुर रायमाझी यस पटक समाजवादी पार्टी नेपालका उम्मेदवार बनेका छन्। उनी गत निर्वाचनमा झिनो मतले  वडा अध्यक्षमा पराजित भएका थिए।

यस्तै, राजपाबाट मन्जु मिश्राले टिकट पाएकी छिन्। मिश्रा राजपाको नेता रवीदत्त मिश्राकी श्रीमती हुन्। पार्टीको वडा कमिटीको उपाध्यक्ष मन्जुका श्रीमान् तत्कालीन लालपुर गाविसका अध्यक्ष हुन्। चारैजना उम्मेदवारले आफूले जित्ने दाबी गरेका छन्। राजपा नेता रवीदत्त मिश्राले आफू गाविस अध्यक्ष हुँदा कुल खसेका मतको ६० प्रतिशत बढी एक्लै पाउने भएकाले मुख्य प्रतिस्पर्धा हुने उनले बताए।

उता, समाजवादी पार्टीका जिल्ला नेता कृष्ण चौधरीले रायमाझी गत निर्वाचनमा झिनो मतले हारेकोले यस पटक जित्ने दाबी गरे। नेकपाका मनिहरले तीन पार्टी बीचको लडाइँले मत बाँडिने र त्यसको फाइदा आफूलाई हुने तर्क गर्छन्। तत्कालीन माओवादी केन्द्र र एमालेले छुट्टाछुट्टै उम्मेदवार खडा गरेकोमा यसपटक नेकपाबाट एकलौर्टी उम्मेदवार बनेकोले यसपटक आफ्नो जीत हुने मनिहरको दाबी छ।

अघिल्लो निर्वाचनको समीकरण

कुल २ हजार ७२ मतदाता रहेको वडामा २ मतदान स्थलमा ३ वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ। गत निर्वाचनमा सकुन्तलाले ३ सय १९, निकटतम प्रतिद्वन्दी तीर्थबहादुर रायमाझीले २ सय ३०, स्वतन्त्र उम्मेदवार तीरथ पासीले १ सय ८१ मत ल्याएका थिए।

त्यसबेला माओवादी केन्द्र र अहिले नेकपाका उम्मेदवार मनिहरले १ सय ५२ मत तथा तत्कालीन एमालेबाट उम्मेदवार बनेका रामदेव कुर्मीले १ सय २३ मत हासिल गरेका थिए। २०७४ को स्थानीय तहको निर्वाचनमा त्यस बेला वडामा ११ उम्मेदवारमध्ये पाँचजना स्वतन्त्र थिए।

अनिवार्य रूपमा सम्पत्ति विवरण पेस गर्नुपर्ने

२०७४ सालको स्थानीय तहको निर्वाचनभन्दा यसपटक उम्मेदवारले मनोनयन दर्ता गर्दा निर्वाचन आयोगले केही परिमार्जनसहित आचारसंहिता जारी गरेको छ। यसपटक वडा अध्यक्षको उम्मेदवारले मनोनय पत्र दर्ता गर्दा अनिवार्य रूपमा सम्पत्ति विवरण पेस गर्नु पर्नेछ।

यस्तै, जग्गाको विवरण र नम्बर लगायतका विवरणसमेत मनोनय पत्रमा खुलाउनु पर्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले बताए। निर्वाचन आचारसहिंताअनुसार वडा अध्यक्षका उम्मेदवारले बढीमा २ लाखसम्म खर्च गर्न पाउने र खर्चको विवरणसमेत बुझाउनु पर्ने उल्लेख गरिएको छ।

जिल्ला निर्वाचन कार्यालयले तौलिहवास्थित प्रशासन कार्यालयमा बिहीबार निर्वाचनका विषयमा राखेको छलफल कार्यक्रममा प्रजिअ गजेन्द्रबहादुर श्रेष्ठले निर्वाचन स्वच्छ, निष्पक्ष धाँधलीरहीत बनाउन हरतरहले पहल गरिने बताए। उनले सबै मिलेर निर्वाचनलाई सफल बनाउनु पर्ने बताए।

प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश लोकजंग शाहले निर्वाचनलाई सफल बनाउन कुनै कसर बाँकी नराखिने बताए। सो अवसरमा दलका नेताहरूले निर्वाचनमा शान्ति सुरक्षा, आचारसंहितालगायतका विषयमा ध्यान दिनुपर्नेमा जोड दिए।

वडानम्बर १० मा चुनाव : कार्यालय वडा नम्बर ५ मा स्थापना

मंसिर १४ गते हुने उपनिर्वाचन शिवराज नगरपालिका-१० मा हुँदैछ तर वडा नं. ५ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय संचालनमा आएको छ। मंसिर १४ मा हुने उपनिर्वाचनमा शिवराज नगरपालिका-१० मा अध्यक्ष पदका लागि निर्वाचन हुने भएपछि कार्यालय संचालनमा आएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश लोकजंग शाहले बताए।

निर्वाचन मिति नजिकिदै गर्दा निर्वाचन कार्य सम्पादनका लागि कार्यालय संचालन भएको शाहले बताए। वडा नम्बर १० लालपुर गाउँ भौगोलिक हिसाबले बिकट अवस्थिति रहेको छ। गाउँको बीच भागमा खोला रहेकाले पनि मतदान कार्यमा असहजता आउने बुझाइ स्थानीयको छ। निर्वाचन हुने वडामै निर्वाचन कार्यालयको सम्पर्क कार्यालय स्थापना गरिनु गलत रहेको स्थानीय राजेश भारतीको भनाइ छ।

यता, वडा नं. १० को निर्वाचनमा मनोनय पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन कार्तिक २७ गते, उम्मेदवारको विरोधमा उजुरी दिने कात्तिक २८ गते, मनोनय पत्र र उजुरी उपर जाचबुझँ २९ गते, मनोनय भएको उम्मेदवारको नामावली प्रकाशन २९ गते, उम्मेदवारले नाम फिर्ता लिने ३० गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने ३० गते, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान मंसिर १ गते र मतदान १४ गते गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचान अधिकारी अयोध्याप्रसाद अधिकारीले बताए। कार्यालयले मतदानपश्चात मतगणना, नतिजा घोषणा, विजेता घोषणालगायतको काम गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.