सञ्‍चारमन्त्री बाँस्कोटाले गरे विमोचन

|

पाल्पा : स्याङ्जाको प्रसिद्ध धार्मिकस्थलको रूपमा परिचित आलमदेवी मन्दिर अंकित पाँच रूपैयाँको हुलाक टिकट प्रकाशनमा आएको छ। शुक्रबार स्याङ्जाको कालिगण्डकी गाउँपालिका–३ आलमदेवीस्थित आलमदेवी मन्दिर प्रांगणमा आयोजित एक समारोहकाबीच नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले टिकटको विमोचन गरेका हुन्।

टिकटको विमोचन गर्दै उनले यहाँका नागरिक भाग्यमानी र कर्मशिल भएकोले गाउँमा रहेको आलमदेवी मन्दिर अंकित हुलाक टिकट प्रयोजनमा आएको बताए।

मन्दिर अंकित हुलाक टिकट निस्कन्छ भन्ने आफूलाई पनि थाहा नभएको र आलमदेवी मन्दिर टिकटमा आउँदा लोभ लागेको मन्त्री बाँस्कोटाले बताए। ठट्यौली भाषामा उनले भने, 'मेरो गाउँमा पनि पलाञ्चोक भगवतीको मन्दिर पनि मेरो ठाउँमा छ, जसलाई मनकामनाको दिदी बहिनी भनिन्छ यो मन्दिर अंकित टिकट निकाल्ने विषयमा ख्यालै भएनछ।' मन्दिर अंकित टिकटले यो ठाउँको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा अझै प्रचार प्रसार  हुने र विकासमा थप टेवा पुग्ने उनले बताए।

भूमि व्यवस्थापन तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल स्याङ्जाको सुदूरपश्चिममा पर्ने आलमदेवी मन्दिरसम्म सरकारका उच्च पदस्थ प्रतिनिधिहरू आएर राष्ट्रियस्तरको कार्यक्रम हुनु ऐतिहासिक काम रहेको बताइन्। आलमदेवी मन्दिर अंकित टिकट प्रकाशनमा आउनुले स्याङ्जामा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत परिचित हुने उनले बताइन्।

पाल्पाको रानीघाट–आलमदेवी–सेतीवेनी–अकलादेवी हुँदै वालिङस्थत सिद्धार्थ राजमार्गमा जोड्ने लक्ष्य सरकारको छ। यो ठाउँहरुको बीचमा केवलकारदेखि जलयात्रा समेत पर्यटकले गर्न पाउनेछन्।

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मी, प्रधानसेनापति पूर्णचन्द्र थापा, योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कँडेल, रक्षा सचिव रेशमीराज पाण्डे, केहीदिन अघि अवकाश लिएका सञ्चार सचिव महेन्द्रमान गुरुङ, हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद लुइँटेल लगायतको उपस्थिति थियो।

आलमदेवी मन्दिरको महत्व

स्याङ्जा जिल्लाको सुदूरपश्चिममा पर्ने कालिगण्डकी गाउँपालिका–३ आलमदेवीमा आलम मन्दिर रहेको छ। यो मन्दिर धार्मिक तथा ऐतिहासिक महत्वले भरिपूर्ण सम्पदा हो। तत्कालीन समाजा खाँण, मल्ल तथा ठकुरी वंशद्वारा आफ्नो कुल देवीको रुपमा पूजा गरिँदै आएकी यी देवीलाई शाह वंशले समेत कुल देवीको रुपमा मानी आएको देखिन्छ। यस मन्दिरमा बडादशैँको अष्टमी र चैते दशैंमा ठूलो मेला लाग्ने मन्दिर व्यवस्थापन समितिका सचिव पर्थ थापाले बताए।

देवीलाई मल्ल ठकुरीहरुले पश्चिम चित्रौणगढबाट डोलीमा बोकेर ल्याउँदै गर्दा तिर्खा लागेकोलेपानी ल्याएर दिँदा पानीमा रक्सीको गन्ध परेकोले बोक्ने मानिसहरु आत्तिएका थिए। रक्सी परेका कारण देवीले उनीहरुलाई जनै झिकेर त्यहाँको ढुंगामा राख्न भनेको र सो जनैको चिन्ह अझै पनि मन्दिर परिसरको एक ढुंगामा रहेको जनविश्वास छ।

अर्कोपटक देवीलाई पानी लिन जाँदा देवी अलप भएकाले सो ठाउँलाई अलपदेवी नाम दिइएको भनिन्छ। कालान्तरमा सो अलपदेवी नाम अपभ्रंश हुँदै आलमदेवी बन्न पुगेको किंवदन्ती रहेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए। 

संस्कृत भाषाको आलम्ब शब्दको अर्थ आश्रय, आधार वा साहरा हुने र गण्डक क्षेत्रका समाजबाट आफ्नो आश्रयकोमूल आधार वा सहारा दिने देवीको रुपमा प्राचिनकालदेखि आफ्नो कुलधर्म परम्पराको आरध्यादेवीको रुपमा समेत मानिँदै आएको र यसलाई आलम्बदेवी हुँदै आलमदेवी भनिएको कथन छ।

वैदिक मिमांशा दर्शन विधिअनुसार शैव तान्त्रिक प्राण प्रतिष्ठा गरी कालिकुल र श्रीकुलको रुपम समेत आलमदेवीलाई मानिँदै आएको छ। वि.सं. १३५० मा निर्माण गरिएको यस मन्दिरमा दैनिक बिहान/बेलुका नियमित आरती हुने गर्दछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.