हेटौंडा : भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभागसमेत समेटेपछि अहिले नेपालमा विभिन्न समूहले आन्दोलन गरिरहेका छन्। सोही सन्दर्भमा प्रदेश ३ को राजधानी हेटौँडामा शुक्रबार दिनभरी प्रदर्शन भएको छ। हेटौँडाका विभिन्न स्वतन्त्र संस्थाहरू, बौद्धिक संस्थाहरू र युवाले भारतविरुद्ध सिर्जनात्मक विरोध गरेका हुन्।
अभिनेतादेखि ठेलासम्म
शुक्रबार हेटौंडामा भएको प्रदर्शनमा ६ वटा संस्थाले फरक फरक तरिकाले विरोध प्रदर्शन गरेका छन्। कविहरूले सडकमै कविता, गजल तथा मुक्तक मार्फत भारतीय हस्तक्षपको विरोध गरेका छन्। उन्मुक्त पुस्ता मकवानपुरले आयोजना गरेको कार्यक्रममा कवि निमेश निखिल, सुवास खनाल, शान्ति प्रियवन्दना, दीपक गौतम, यश लामा, विशाल अधिकारी लगायतले कविताबाट सीमा रक्षा र भारतीय विस्तारवादको विरोध गरेका थिए।
यस्तै, राष्ट्रिय जनसरोकार मन्च नेपालले गरेको कार्यक्रममा विभिन्न बौद्धिक वर्गहरुले सडकमै भाषण तथा अन्र्तक्रिया गरेका छन्। राष्ट्रिय जनसरोकार मन्च नेपालका अध्यक्ष उमेश गुणीको अध्यक्षतामा भएको विरोध सभामा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्षसमेत रहेका तथा समाजशास्त्री कौशल पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो। जसमा विभिन्न पेशा गत संघ संस्थाहरूको प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।
यस्तै, शुक्रबार नै हेटौंडाको बुद्धचोकमा कोण सभासमेत भएको छ। उक्त कोण सभामा मकवानपुर जागरण अभियान नेपालका अध्यक्ष कृष्णराज कोइराला, प्रकृति मानव केन्द्रित जनअभियानकी अध्यक्ष अनुराधा उप्रेती, राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र मकवानपुरका अध्यक्ष लक्ष्मी गौतम, सशक्त कार्की संघका उपाध्यक्ष रामशरण कार्की, हेटौंडाका चलचित्रका अभिनेता अमिर गौतमलगायतको सहभागिता रहेको थियो।
युवाको फरक प्रदर्शन
भारत विरोधी आन्दोलन दिनानुदिन चर्किरहेको बेलामा “युथ अफ हेटौंडा”ले फरक शैलीमा विरोध गरेको छ। भारत विरुद्धको पर्चा, पम्पलेट लिएर हेटौंडाका मेनरोड सडक खण्डमा विच भाग(सेतो धर्का)मा हिँडेर विरोध प्रदर्शन गरेका हुन्।
युवाले हेटौँडाको बुद्धचोकको वरिपरि पर्चा, पम्पलेट लिएर ३० मिनेट उभिएका थिए भने सिमा चोक, उद्योग वाणिज्य संघको चोकमा पनि गोलो भएर र दुई तर्फी उभिएर विरोध गरेका थिए। हेटौंडा हुँदै भारतीय गाडी धेरै हिँड्ने सिमा चोकमा युवा अभियान्ताले ३० मिनेट उभिएर मौन प्रदर्शन गरेका थिए। “युथ अफ हेटौंडा”को सक्रियतामा हेटौंडाका ठेला चलाउनेलाई समेत पर्चा पम्प्लेट बाँढ्दै राष्ट्रियताको विषयमा जानकारी गराएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।