|

काठमाडौं : आवश्यकताका आधारमा बिरामीलाई आहारपुरक खाद्य पदार्थ (फुड, न्युट्रास्युटिकल्स तथा डायटरी सप्लिमेन्ट) प्रेस्काइब गर्ने अधिकार डाक्टरसँग मात्र रहेको चिकित्सकहरुको साझा संस्था नेपाल चिकित्सक संघले  दावी गरेको छ।

कतिपय उपभोक्तावादी संस्था तथा सरोकारवालाले चिकित्सकहरुले अनावश्यक रुपमा आहारपुरक खाद्य पदार्थ प्रेस्काइब गरी बिरामीलाई अनावश्यक आर्थिक भार पार्ने काम गरेको आरोप लगाइरहेका बेला संघको यस्तो धारणा सार्वजनिक भएको हो ।

संघका महासचिव डा. लोचन कार्कीद्वारा जारी गरिएको विज्ञप्तिमा चिकित्सकहरुले खाद्य ऐन २०३३ र खाद्य नियमावली २०२७ मा उल्लेख भएका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्वीकृति प्रदान गरेका आहारपुरक खाद्य पदार्थ बिरामीको रोग उमेर र आवश्यकताअनुसार सिफारिस हुने गरेको उल्लेख छ। त्यसरी सिफारिस गरिएको आहारपुरक खाद्य पदार्थ स्वास्थ्य उपचारमा सहयोगी सावित हुने भएकाले अन्तर्राष्ट्रिय मान्यता अनुरुप सिफारिस गर्दै आएको महासचिव कार्कीको दाबी छ।

यता औषधि व्यवस्था विभागले भने न्युट्रास्युटिकल्स बिक्री वितरणलाई निरुत्साहन हुने गरी औषधि पसलमा त्यस्ता वस्तु राख्न र बिक्री वितरण गर्न नपाइने बताएको छ।औषधि क्षेत्रका कतिपय व्यक्तिहरुले भने कमिसनको चक्करमा चिकित्सकहरुले अनावश्यक रुपमा न्युट्रास्युटिकल्स प्रडक्टहरुको सिफारिस गर्ने गरेको आरोप लगाउने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.