पूर्वमन्त्री, सांसद प्रचार समितिमा

|

पोखरा : आगामी मंसिर १४ मा कास्की २ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको लागि नेपाली कांग्रेसले प्रचारप्रसार समिति गठन गरेको छ। जिल्ला सभापति कृष्ण केसीको संयोजकत्वमा कांग्रेसले तीन हजार पाँचसय ५१ जनाको जम्बो प्रचारप्रसार समिति गठन गरेको हो।

शुक्रबार गठन गरेको समितिको मूल समितिमा कास्की २ का क्षेत्रीय सभापति माधवप्रसाद बास्तोला (मधु) र पोखरा महानगरका सभापति बजिरमान श्रेष्ठ सहसंयोजक छन्। कास्की २ भित्रपर्ने महानगरका ११ वडाभित्र आगामी मंसिर १४ मा उपचुनाव हुँदैछ। त्यस्तै कांग्रेसले हरेक वडामा विभिन्न जिम्मेवारीसहित संयोजकहरू तोकेको छ। संयोजकमा पूर्व मन्त्री, सांसद पनि छन्। 

पोखरा ४ मा पूर्वमन्त्री यज्ञबहादुर थापा संयोजक छन् भने ७ मा कास्की कांग्रेसका पूर्वसभापति शुक्रराज शर्मा, ८ मा पूर्वमन्त्री तारानाथ रानाभाट, ९ मा वीरेन्द्रनारायण विजुक्छे, ११ मा पूर्व सांसद शारदा पौडेल, १५ मा राष्ट्रियसभा सदस्य बृन्दादेवी राना, १६ मा केन्द्रीय आमन्त्रित सदस्य तथा प्रदेश सांसद कुमार खड्काले चुनावी कार्यक्रमको नेतृत्व गर्नेछन्।

यस्तै, १७ नम्बर वडामा कास्की कांग्रेस सभापति केसीले नै संयोजन गर्नेछन् भने २० मा प्रदेश सांसद विन्दुकुमार थापा, २१ मा गुरु बराल र ३३ मा केन्द्रीय सदस्य जीवन परियार संयोजक छन्। त्यस्तै चुनावको लागि २६ सदस्यीय विशेष सल्लाहकार समिति पनि गठन भएको छ। यसमा उम्मेदवार बन्न आकांक्षी नेता, पूर्व सांसद, पूर्व जिल्ला सभापति, सांसद लगायतका छन्। त्यस्तै चुनाव हाक्न ३२ वटा उपसमिति मात्रै बनाइएको छ। 

कांग्रेसले अर्थ संकलन उपसमितिमा ऋषि सापकोटा, अनुगमन समितिमा राजेन्द्रनिधि कोइराला, सचिवालय ब्यवस्थापनमा देवेन्द्र रानाभाट, बुद्धिजीवी परिचालनमा आनन्दराज मुल्मी, प्राध्यापक परिचालनमा दीपेन्द्र पराजुली, अन्तरक्षेत्रीय समन्वय समितिमा पोषनाथ शर्मा संयोजक छन्। 

यसैगरी उद्योग व्यवसाय, पर्यटन परिचालनमा सांसद विन्दुकुमार थापा, सञ्चारमा नवीन सिग्देल, स्वयंसेवक परिचालनमा भोजबहादुर गुरुङ, भातृ तथा शुभेच्छुक संस्था परिचालनमा गुरु बराल, स्थानीयतह परिचालनमा रामजी कुँवर र युवराज कुँवर, निर्वाचन समन्वयमा कृष्ण तिमिल्सिना र युवा परिचालनमा विजयराज आचार्य संयोजक छन्। 

यसैगरी, प्रचार प्रसार सामग्री व्यवस्थापनमा दीपेन्द्र मरासिनी, युवा-तरुण परिचालनमा मनोज गुरुङ, सम्पर्क समाज परिचालनमा ऋषि काफ्ले, महिला तथा आमा समूह परिचालनमा कोपिला रानाभाट, ट्रेड युनियन परिचालनमा मुरारी शर्मा, यातायात व्यवस्थापनमा जीतबहादुर गुरुङलाई संयोजक तोकेको छ। कांग्रेसले आइतबारदेखि चुनावी प्रचार सुरु गर्ने जनाएको छ। 

‘प्रचारका लागि ११ वटै इकाइमा हाई कमाण्डमा बनाएर पठाएका छौं। खटिएका प्रतिनिधिले कार्यालय उद्घाटन गर्ने र ४ नम्बर वडाबाट घरदैलो सुरु गर्ने कार्यक्रम छ’, सभापति केसीले भने। उनले जिम्मेवारीमा रहेका सबैलाई कार्य क्षेत्रमा गएर काम थाल्न आग्रह गरेका छन्।

मंसिर १४ गते हुने चुनावका लागि कांग्रेसले पाका नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको छ। नेकपाले भने स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई चुनावी मैदानमा उतारेको छ।

नेकपाले २ हजार ६४१ सदस्यीय परिचालन समिति गठन गरेको थियो। यस्तै २६ वटा उपसमिति बनाएको थियो। संघीय समाजवादी पार्टीले ५०१ सदस्यीय प्रचार समिति गठन गरेको छ। यहाँ २२ जना उम्मेदवार चुनावी मैदानमा छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.