|
फाइल तस्विर

बागलुङ : आगामी मंसिर १४ गते बागलुङमा हुने प्रदेशसभा र स्थानीय निकायको उपनिर्वाचनका लागि निर्वाचन आयोगले २५ मतदान स्थल तोकेको छ। बागलुङ क्षेत्र नं २ (ख) का लागि तोकिएका २४ र बडिगाड गाउँपालिका-२ का लागि तोकिएको १ मतदना स्थलमध्ये सुरक्षाका दृष्टिले कुनै पनि मतदना स्थल सामान्य नरहेको जिल्ला सुरक्षा समितिले जनाएको छ।

२५ मतदान स्थलमध्ये ८ वटा मतदानस्थल अति सम्वेदनशील र १७ वटा मतदान स्थल सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए। मतदान स्थललाई तीन भागमा विभाजन गरी सुरक्षा योजना बनाईएको क्षेत्रीले बताए।

‘हामीले योजना बनाएर माथि पठाएका छौँ, सोही अनुसारको तयारी हुन्छ’ क्षेत्रीले भने ‘अति सम्वेदनशील र सम्वेदनशील केन्द्रको तयारी पनि सोही अनुसारको हुन्छ।’ भौगोलिक विकटता, दलीय अस्वस्थ्य प्रतिस्पर्धा, दलीय विभाजनको वैमनस्यता, सरकार विरोधी शक्तिका गतिविधि र यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अति सम्वेदनशील, सम्वेदनशील र सामान्य गरी मतदान स्थल तथा केन्द्र छुट्याइएको क्षेत्रीले बताए।

‘मंसिरमा हुने निर्वाचनमा हिउँ परेर वा चिसोका कारण पनि सुरक्षा सम्बेदनशिलता हुन सक्छ’ क्षेत्रीले भने ‘हाम्रो निर्वाचन हुने क्षेत्र उच्च भूभागमा पर्छ सोही अनुसारको योजना बनाएका छौँ।’ निर्वाचनको समयमा सर्वसाधारण्लाई असुरक्षित महशुस हुन नदिन जिल्ला सुरक्षा समिति र जिल्लाका सुरक्षा निकायले सबैखाले तयारी गरिरहेको उनको दाबी थियो।

‘अहिले नै कति सुरक्षाकर्मी कहाँ-कहाँ भनेर नजाऔँ’ क्षेत्रीले भने ‘हामी तयारी अवस्थामा नै छौँ, अवश्यक सबै शक्तिको परिचालन हुन्छ।’ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले तीनवटा घेरामा सुरक्षा दिने क्षेत्रीले संकेत गरे।

दलीय अस्वस्थ्य प्रतिस्पर्धाका कारणले बागलुङ क्षेत्र नं २ (ख) निर्वाचन क्षेत्र थप चुनौतीपूर्ण मानिन्छ भने भौगोलिक हिसाबले पनि निकै बिकट क्षेत्र हो। निर्वाचन हुने सबै गाउँहरूमा यातायातका साधनको सरल पहुँच नभएका कारणले पनि सुरक्षामा चुनौती हुन सक्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.