|

सल्यान : जिल्लाको छत्रेश्वरी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता अझै वितरण हुन सकेको छैन्। ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका, अपांगता भएकाले पाउनुपर्ने पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता अझैसम्म वितरण हुन नसकेको हो।

कात्तिक महिनाको सुरुमा नै पाउनुपर्ने भत्ता हालसम्म पनि नपाएको उनीहरूको गुणासो छ। रकम निकासा नहुँदा एकल र छुट्टिएर बसेका ज्येष्ठ नागरिकले दैनिकी चलाउन समस्या भएको छ। गाउँपालिकाका ७ वटै वडामा यस्तै अवस्था रहेको उनीहरूको भनाइ छ।

छत्रेश्वरी गाउँपालिका-५ का ७० वर्षीय दुर्गा बहादुर खत्रीलाई तिहार अगाडि नै सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउने आशा थियो। उनले भने  ‘आएको रकमले तिहारमा न्यानो र नयाँ कपडा किनौँला, केही मीठो मसिनो खाउला भन्ने लागेको थियो। तर गाउँपालिकाले सामाजिक भत्ता कात्तिकको अन्तिम साता सुरु हुँदा पनि नदिएपछि यसपालिको तिहार निकै खल्लो लाग्यो।’

७० वर्षीय खत्री मात्रै होइनन् छत्रेश्वरी गाउँपालिका भित्रका पाँच वर्ष मूनिका बालबालिका, ६० वर्ष माथिका वृद्धवृद्धा, एकल र असक्त अपांगता भएका गरी करिब १ हजार ७ सय जनाले समयमा नै सामाजिक सुरक्षा रकम पाउन सकेका छैनन्। 'स्थानीय सरकार आएपछि जनताको सेवा सुविधा छिटो उपलब्ध हुन्छ भन्ने सोचेको थियौँ। तर, दशैं तिहारमा समेत भत्ता पाउँन छाडियो' खत्रीले बताए।

गाउँपालिकाले भने सामाजिक सुरक्षा भत्ता वितरण बैंकिङ प्रणालीबाट हुने भएकाले केही ढिला भएको जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले अघिल्लो चौमासिकदेखि गाँउपालिकाले सामाजिक सुरक्षा भत्ता लान्तिमा रहेको इन्भेष्टमेन्ट बैंकबाट वितरण गर्न थालेकाले केही समय ढिला भएको जानकारी दिए।

‘पहिलो चौमासिक भत्ता कात्तिकको सुरुमा नै वितरण गरिसक्नुपर्ने हो, तर बैंकिङ सिस्टमबाट काम गर्नुपर्ने भएकाले केही ढिला भएको हो’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.