पूर्वमाओवादी पनि समेट्ने, नेता कार्यकर्तालाई बालुवाटारमा सहज

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार टिम परिवर्तन हुने भएको छ। केही सल्लाहकारका कारण आफू अप्ठेरोमा परेको प्रधानमन्त्रीले महसुस गरेपछि पुरै टिम फेरिने भएको हो। 

प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि प्रमखु सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, सूचना प्रविधि सल्लाहकार अस्गर अली, प्रेस संयोजक चेतन अधिकारी, स्वकीय सचिव इन्द्र भण्डारी र सचिवालयका रामशरण बजगाईंले मंसिर १ गतेदेखि लागु हुनेगरी सामूहिक राजीनामा दिन लागेका हुन्। 

स्रोतका अनुसार प्रधानमन्त्रीको सहयोगीका रूपमा स्वकीय सचिव राजेश बज्राचार्य, प्रेस संयोजक चेतन अधिकारी र मेडिकल टिमकी डा. दिव्या सिंह शाह लगायतको टोली यथावत रहने सम्भावना छ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार सल्लाहकार टिमको बैठक शुक्रबार सरकारी निवास बालुवाटारमै बसेको थियो। सल्लाहकार टिमको साप्ताहिक बैठक प्रत्येक शुक्रबार बस्ने गरेको छ। 

उक्त बैठकमा प्रधानमन्त्रीले आमूल परिवर्तनको कुरा सोचेकाले आफूहरू बाहिरिनुपर्ने निचोड उनीहरूले निकालेको बैठकमा सहभागी प्रधानमन्त्रीका एक सल्लाहकारले बताए।

‘बैठकमा प्रधानमन्त्रीले आमूल परिवर्तनको कुरा सोच्नु भएको कुराबारे चर्चा भयो’, नाम उल्लेख नगर्ने शर्तमा ती सदस्यले भने, ‘त्यसैका लागि सहयोग गर्न सचिवालयका सदस्यहरूले राजीनामा दिने निर्णय भएको हो।’

तर, उनीहरूले राजीनामा भने प्रधानमन्त्रीकै निर्देशनमा दिन लागेका हुन्।

शुक्रबारको उक्त बैठकपछि सचिवालयका सबै सदस्यहरूले राजीनामा तयार गरिसकेको स्रोतले जनाएको छ। ‘राजीनामा तयार भइसकेको छ। सचिवालयका सबै सदस्यले मंसिर १ बाट लागु हुने गरी राजीनामा दिँदैछौं’, ती सदस्यले भने, ‘प्रधानमन्त्रीले फेरि राख्न चाहेजतिलाई पछि बोलाउन सक्ने पनि सम्भावना छ।’

सल्लाहकारका कारण प्रधानमन्त्री विवादमा

प्रधानमन्त्री ओली पछिल्लो समय आफ्नै सल्लाहकारका कारण विवादमा परिरहेका थिए। सिंगापुरमा उपचारमा गएपछि तथा काठमाडौंकै ग्राण्डी अस्पतालमा उपचारका लागि जाँदासमेत सल्लाहकारकै कारण प्रधानमन्त्रीको सार्वजनिक रूपमा चर्को आलोचना भएको थियो। पछिल्लो समय डा. कुन्दन अर्याल र विष्णु रिमालको भूमिकालाई लिएर प्रधानमन्त्रीकै सार्वजनिक आलोचना भएको थियो। 

‘प्रधानमन्त्रीको स्वास्थयमा देखिएको समस्याबारेमा प्रमुख राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकारले एकद्वारबाट सूचना नदिइ फरकफरक विवरण दिँदा जनस्तरबाट आलोचनाा भएको थियो’, स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको उपचारका क्रममा सूचना लुकाएको आरोप पनि लागेको थियो।’

अर्कातिर सल्लाहकार टिमले नेकपाकै नेता कार्यकर्तालाई प्रधानमन्त्रीसम्मको पहुँच नदिएको भन्दै पार्टीभित्रै आलोचना भइरहेको छ।

विशेष गरी प्रमुख राजनीतिक सल्लाहकार रिमालमाथि यस्तो आरोप लागिरहेको थियो। ‘प्रधानमन्त्रीलाई सीमित व्यक्तिको घेरामा राख्ने कोसिस सल्लाहकारबाटै भएको थियो’, नेकपाका एक नेता भन्छन्, ‘पूर्वमाओवादीलाई त बालुवाटरमा प्रवेश एकदमै मुस्किल थियो, पूर्वएमालेलाई पनि प्रधानमन्त्रीसम्मको पहुँच नदिएको आरोप सल्लाहकाहरूमाथि लागेको थियो।’

प्रमुख सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको तर्फबाट आफैँ ‘ब्रिफिङ’ लिएको भन्दै मन्त्रीहरूले पनि असन्तुष्टि जनाउँदै आएका थिए। पछिल्लो पटक पर्यटनमन्त्री बनेका योगेश भट्टराईले प्रधानमन्त्रीसँग नै आफूले रिमालसँग कुनै किसिमको ‘ब्रिफिङ’ नगर्ने अडान राखेका थिए। रिमालले प्रधानमन्त्रीलाई आफ्नो ‘कोटरी’ मा राखेको भन्दै नेकपाकै सांसदहरूले पनि आलोचना गर्दै आएका थिए। 

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतसँग पूर्वमाओवादीहरू पनि रुष्ट रहेको स्रोत बताउँछ। उनीमाथि पूर्वमाओवादीलाई बालुवाटारमा प्रवेश गर्नै नदिएको आरोप लागिरहेको थियो। पार्टी एक भइसक्दा र दुई अध्यक्षमध्येका एक ओली प्रधानमन्त्री रहेको अवस्थामा पनि पूर्वमाओवादीलाई बालुवाटार प्रवेशमा कडाइ गरेको र त्यसमा मूल भूमिका रिमालले खेलिरहेको पूर्वमाओवादीका नेताहरूले बताउँदै आएका छन्।

प्रधानमन्त्रीसम्म जनताका र आफ्ना कुरा राख्न नपाएको पूर्वमाओवादीका गुनासा थिए। ‘बैठकमा यी कुराहरूबारे पनि चर्चा भएको हो’, स्रोत भन्छ, ‘आफुहरूका कारण प्रधानमन्त्रीले आलोचित हुनुपरेको विषयबारे पनि कुरा भयो।’

एकताको भाव देखाउने 

नेकपा माओवादी केन्द्रसँग एकता भएर पनि प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयमा पूर्वएमालेबाट मात्रै सल्लाहकारहरू राखेका थिए। यसले गर्दा प्रधानमन्त्री ओलीमाथि माओवादीतर्फका नेता कार्यकर्तालाई भेदभाव र अविश्वास गरेको आरोप लागेको थियो। 

ओलीले शपथ ग्रहण गरेपछि माओवादीका तर्फबाट सचिवालयमा राख्न रामदीप आचार्यसहित चार जनाको नाम अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट प्रस्ताव भएको थियो। तर ओलीले उक्त प्रस्तावको बेवास्ता गर्दै आफू निकटलाई मात्रै सचिवालयमा नियुक्ति दिएका थिए।

‘ओलीले त्यसबेला माओवादीका तर्फबाट सचिवालयमा राख्न मानेनन्’, स्रोत भन्छ, ‘पछिल्लो समय प्रधानमन्त्रीको सचिवालयमा पूर्वमाओवादी तर्फबाट राख्न कुनै प्रस्ताव गरिएको छैन।’ 

अहिलेको सचिवालय परिवर्तनलाई पार्टी एकताको भाव दिने कोसिसका रूपमा पनि हेरिएको छ। ‘यो पटक ओलीले आफ्नो सचिावलयमा एकताको भाव दिने गरी टिम बनाउन खोजेका हुन्’, नेकपाका एक केन्द्रीय सदस्यले भने, ‘पर्यटनमन्त्री योगेश भट्टराईले पूर्वमाओवादीका तर्फबाट सचिवालयमा प्रतिनिधित्व गराइसकेका छन्। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि पूर्वएमालेकालाई सचिवालयमा राखेर एकताको भाव दिने कोसिस गरिसकेका छन्।’ 

प्रमुख सल्लाहकार प्रदीप ज्ञवाली!

प्रधानमन्त्रीले सचिवालयमा व्यापक हेरफेर गर्न लागेपछि नयाँ अनुहारको पनि चर्चा सुरु भएको छ। तत्कालीन नेकपा एमालेको नीति निर्माण तहको दस्तावेज लेखनमा ओलीका विश्वास पात्र प्रदीप ज्ञवाली प्रमुख सल्लाहकार बन्ने दाबी स्रोतले गरेको छ। 

हाल उनी परराष्ट्रमन्त्रीको भूमिकामा छन्। मिजासिला स्वभावका उनको सहयोगमा जनतस्तरसम्म सम्बन्ध बढाउन सहयोग पुग्ने विश्वास प्रधानमन्त्री ओलीले गरेका छन्। 

प्रधानमन्त्री कार्यालयमा जान सक्ने छनक ज्ञवालीले एक सातायता केही सार्वजनिक कार्यक्रममा दिइसकेका छन्। उनले दशैँ तिहार सकिएपछि परराष्ट्र मन्त्रालयका कर्मचारीहरूसहित केही दिनअघि वनभोज कार्यक्रम गरेका थिए। उक्त कार्यक्रममा मन्त्री ज्ञवालीले आफूलाई सहयोग गरेकोमा धन्यवाद दिएका थिए। परराष्ट्रका एक कर्मचारीले भने, 'उहाँको प्रस्तुती विदाइकै जस्तो थियो।'

त्यसलगत्तै ज्ञवालीले काठमाडौंस्थित दैनिक पत्रिकादेखि अनलाइन, रेडियो र टेलिभिजनसम्मका सम्पादकहरूलाई बोलाएर आफूलाई सहयोग गरेकोमा धन्यवाद दिएका थिए। त्यससँगै सम्पादकहरूसँग उनले आफ्नो कार्यकालका उपलब्धि पनि सुनाएका कार्यक्रममा सहभागीहरूले बताए।

मन्त्री ज्ञवालीलाई प्रमुख राजनीतिक सल्लाहकार बनाएर बालुवाटर लग्ने चर्चासँगै मन्त्रिपरिषद पुनर्गठनको सम्भावना पनि बलियो बनेको छ। प्रधानमन्त्रीले केही मन्त्रीलाई सरकारबाट हटाएर नयाँ मन्त्री ल्याउने तयारीस्वरुप पनि सचिवालयमा परिवर्तनलाई हेरिएको छ।

रिमाल कता? 

प्रमुख राजनीतिक सल्लाहकारबाट बाहिरिन लागेका विष्णु रिमालको व्यवस्थापनका लागि विकल्प खोज्न थालिएको छ। स्रोतका अनुसार उनलाई अमेरिकाको राजदूत बनाएर पठाउने प्रधानमन्त्री ओलीको तयारी छ।

कार्यकाल सकिएका अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीको कार्यकाल गत वैशाखमा नै सकिएको थियो। सरकारले कार्कीको कार्यकाल गत वैशाख २३ गते थप गरेको थियो। मन्त्रिपरिषद बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कार्कीको कार्यकाल थपेको थियो।

कार्कीलाई बिस्थापित गर्दै रिमाललाई राजदूत बनाएर पठाउने तयारी भएको हो। ओलीलाई लामो समययता सघाउँदै आएका रिमाललाई राजदूत बनाएर पठाउने तयारी भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.