प्रधानमन्त्रीलाई सुझाव : मोदीसँग वार्ता थाल्नू

|

काठमाडौं : भारतले नेपालको भूमि अतिक्रमण गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा एकमत देखिएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ४ घण्टासम्म बसेको यो बैठकमा कालपानी क्षेत्र अन्तरगर्तका भूभाग नेपालकै हो भन्ने कुरामा सबै दलले एउटै आवाज बनाएका हुन्। 

बैठकपछि बालुवाटारबाट बाहिरिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी क्षेत्र (लिम्पियाधुरा, लिपुलेक र कालापानी) निर्विवाद नेपालकै हो भन्ने कुरामा सबै दलको एकमत भएको जानकारी दिए।

‘राष्ट्रियता, सार्वभौम सत्ता र भौगोलिक अखण्डताको मामिलामा दलहरूबीच अभूतपूर्व एकता देखिएको छ’, ज्ञवालीले भने, ‘भारतको अतिक्रमणमा परेको यो भूभाग फिर्ता ल्याउने कुरामा सरकारलाई राष्ट्रिय शक्ति प्राप्त भएको छ।’ 

ज्ञवालीले बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेता, सबै पूर्वप्रधानमन्त्री र सबै पूर्वपरराष्ट्रमन्त्रीहरू सहभागी भएको जानकारी दिए। 

‘सबैजनाको एकै स्वर छ, कालापानी क्षेत्र निविर्वादरुपमा नेपालकै हो’, ज्ञवालीले अगाडि भने, ‘महाकालीको उद्गमस्थल लिम्पियाधुराबाट बग्ने कुटियान्दी भन्ने नदी हो। त्यहाँसम्म नेपालको सिमाना फैलिएको छ। यसमा सबै दलबीच साझा स्वर छ।’

यो बैठकमा भारतले अतिक्रमण गरेका भूमि फिर्ताका लागि राष्ट्रिय सहमति प्राप्त भएको ज्ञवालीले जानकारी दिए। ‘यो राष्ट्रिय एकतालाई आधार बनाएर नेपालले भारत सरकारसँग वार्ता गर्नुपर्छ’, उनले भने, ‘बैठकका सहभागीले न्यायोचित भूभाग फिर्ता लिनुपर्छ भन्नु भएको छ। सबै राजनीतिक दलले हाम्रो बलियो साथ छ भनेका छन्।’ 

प्रधानमन्त्रीले यो राष्ट्रिय एकताका लागि सबै राजनीतिक दलहरूलाई धन्यवाद दिएको पनि उनले जानकारी दिए। ‘अब राष्ट्रिय एकता जुटेको छ’, उनले भने, ‘राष्ट्रिय हितका निम्ति चाहिने बलियो राष्ट्रिय सहमति पनि प्राप्त भएको छ। सहमतिलाई आधार बनाएर वार्ता गर्न सक्ने बलियो सरकार पनि छ। अब हामी भारतसँग वार्ता गर्छौँ, साना कुरामा अल्झिँदैनौँ।’

ज्ञवालीले वार्ताबाट समाधान हुनेमा सरकार विश्वस्त रहेको पनि बताए। ‘सबै राजनीतिक दल आएर सरकारलाई आड भरोसा दिएका छन्’, ज्ञवालीले थपे, ‘यो छलफलपछि आन्तरिक छलफल थाल्नेछौँ। छलफलपछि भारतसँग कूटनीतिक पहल अघि बढाउँछौँ।’

ज्ञवालीले अहिले देखिएको समस्या समाधानका लागि नेपाल–भारत संयुक्त सीमा कार्यदलसहित विभिन्न तीन संयन्त्र अहिले पनि क्रियाशील रहेको जानकारी दिए।
‘नेपाल–भारत संयुक्त सीमा कार्यदलले चारवटा समिति बनाएर काम गर्दैछ’, उनले भने, ‘तर त्यो कार्यदललाई कालापानीबारे म्यान्डेट छैन।’

परराष्ट्र सचिवस्तरीय संयन्त्रले पनि सीमा विवादबारे काम गरिरहेको ज्ञवालीले जानकारी दिए । ‘हामीबीच परराष्ट्रमन्त्रीस्तरीय आयोग पनि छ’, उनले भने, ‘यो तहबाट समाधान निस्किएको छैन, त्यसैले अब सरकारले कूटनीतिक पहल अघि बढाउनेछ।’

संयम हुनु

सरकारले राष्ट्रियताको पक्षमा उभिएकोमा नेपाली जनतालाई धन्यवाद पनि दिएको छ। ‘बैठकमा राष्ट्रियताको पक्षमा बलियोसँग उभिने नेपाली जनतालाई धन्यवाद दिएको छ। जनताको यो प्रयत्नबाट सरकारलाई ठूलो ऊर्जा मिलेको छ’, ज्ञवालीले थपे, ‘तर दुई देशबीच सम्बन्धमा खराबी र समस्या आउने गरी गतिविधि नर्ग आग्रह गर्छौँ। सबैले संयमता अपनाएर खबरदारी गरिदिनिुहोला।’

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासहितका पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्री कमल थापासहित सबैजसो पूर्वपरराष्ट्रमन्त्रीहरू, संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरू उपस्थित थिए।

बैठकमा पालैपालो बोल्दै निस्कने क्रममा सबै दलका शीर्ष नेताहरूले भारतले मिचेको कालापानी क्षेत्रको भूभाग फिर्ता ल्याउन आफुहरूको बलियो साथ रहने बताएका थिए। 

कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी क्षेत्र नेपालकै भएको बताउँदै कूटनीतिक पहलमार्फत भारतलाई त्यहाँबाट फिर्ता पठाउनुपर्ने बताए। 

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कालीनदीको उद्गमस्थल लिम्पियाधुरादेखि यताको भूभाग नेपालकै भएको प्रष्ट पारे। उनले नेपालको भूभाग मिच्दै भारत काली नदी वारीसम्म आएकाले त्यहाँबाट फिर्ता पठाउने पहलका लागि सरकारलाई साथ रहने जानकारी दिए। 

बैठकमा आफ्ना कुरा राखेर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतले नेपाली भूमि मिचेको मुद्दामा दलहरू एकैठाउँ रहेको बताए।

‘लिपुलेक, कालापानी र लिम्पियाधुराबारे सबै दल एकमत छन्। यो संवेदनशील विषयमा प्रम केपी शर्मा ओलीले सर्वपक्षीय बैठक बोलाउनु भएको रहेछ’, उनले भने, ‘बैठकका प्रायः सबै वक्ताहरूले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको नेपालको भूभागबारे कुनै विवाद द्विविधा नरहेको मत राख्नुभयो। आफ्नो भूभागको सुरक्षा र संरक्षणमा नेपाल प्रतिवद्ध रहने कुरामा सबै सहमत छौँ।’

सम्बन्धित समाचार :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.