|

चितवन : हामीले दैनिकरूपमा खाने विभिन्न प्रकारका तरकारी जुनसुकै प्रविधिबाट भए पनि सामान्यतय माटोमै उत्पादन हुनेगर्छ। माटोविना कुनै पनि तरकारी तथा अन्नवाली फलाउन त के हामीले सोचेका पनि हुँदैनौँ। तर, अब भने माटोविना तरकारी फलाउने नयाँ प्रविधि नेपालमै भित्रिएको छ।

रूपन्देहीमा व्यावसायिकरूपमै माटोविना तरकारी खेती गर्न थालिएको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिका ३ विस्नुपुरामा तीन परिवार मिलेर हाइड्रोपोनिक प्रविधिबाट माटोरहीत तरकारी उत्पादन सुरु गरेका छन्। पीताम्बर आचार्य, ईश्वर पौडेल र पुष्पा आचार्यले संयुक्त रूपमा माटोरहीत तरकारी उत्पादन सुरु गरेका हुन्।

अर्घाखाँचीका ईश्वर पौडेलले वैदेशिक रोजगारीका क्रममा ओमानमा रहँदा इजरायली प्रविधि हाइड्रोपोनिक प्रविधिलाई नजिकबाट नियालेका थिए। करीव १० वर्ष होटलमा काम गरे नेपाल फर्किएका पौडेलले आफन्तसँग मिलेर आधुनिक प्रविधिबाट तरकारी खेती सुरु गर्ने योजना बनाए। उनीहरूले २०७४ साल कात्तिक २० गते लुम्बिनी हाइड्रोपोनिक फार्म दर्ता गरी व्यावसायिक रूपमा सुरु गरेका हुन्।

३ गुणा बढी उत्पादन

१० वर्षे योजनाका साथ जग्गा लिजमा लिएर सुरु गरिएको यो व्यवसायमा उनीहरूले डेढ करोड लगानी गरेका छन्। ‘प्लास्टिकका टनेल’ ४ वटा ग्रीन हाउस र २ वटा नेट हाउस बनाएर साना जरा भएका टमाटर, साग, क्याप्सिकन, लसुन, धनिया, करेलालगायतका विभिन्न किसिमका १२ प्रकारका तरकारी लगाइएको सञ्चालक ईश्वरले बताए।

२०७५ साल पौषमा पहिलो चरणको उत्पादनस्वरूप टमाटर बजारसम्म पुर्‍याइसकेका उनीहरू उत्पादन सोचेभन्दा राम्रो भएपछि अहिले थप हौसिएका छन्। यसअघि परीक्षणका रूपमा उत्पादन गरिएको टमाटर एउटै बोटमा १५ केजीसम्म फलेको पीताम्बरले सुनाए।

उनीहरूका अनुसार माटोमा उत्पादन हुने तरकारीभन्दा यो प्रविधिबाट उत्पादन भएको तरकारीको मूल्य १० देखि १५ प्रतिशत बढी पर्नेगरेको छ। होइड्रोपोनिक प्रविधिबाट माटोको तुलनामा तीन गुणसम्म बढी उत्पादन हुने हुनेगर्छ। यस प्रविधिबाट उत्पादन हुने तरकारी तथा फलफूल सबै अर्गानिक हुनेहुँदा पनि केही महँगो पर्नेगरेको सञ्चालकको भनाइ छ।

फार्ममा अहिले टमाटर लटरम्म फलेको देख्न पाइन्छ भने साग, कांक्रो, करेललगायतका तरकारी हुर्किरहेका छन। हाउसभित्र किरा नलाग्ने तथा बेमौसमि तरकारी उत्पादन गर्न धेरै सहज हुने र मूल्य पनि राम्रो पाइने सञ्चालकहरूको भनाइ छ। यो प्रविधिबाट खेती गर्दा जनशक्ति कम लाग्नुका साथै कम लागतमै बढी उत्पादन हुनेगर्छ।

माटोविना कसरी फलाइन्छ त ?

विरुवालाई चाहिने पोषकतत्त्व पानीमा मिलाएर विद्युतीय प्रणालीबाट माटोविना तरकारी उत्पादन गर्ने प्रविधिलाई हाइड्रोपोनिक खेती प्रणाली भनिन्छ। ‘स्वाइललेस’ होइड्रोपोनिक प्रविधिबाट तरकारी उत्पादन सुरु गर्ने यो नेपालकै पहिलो व्यावसायिक फार्म भएको सञ्चालकहरूको दाबी छ।

यो प्रविधिमा माटोको स्थानमा कोकोपिट ‘नरिवालको जट्टा’ राखिन्छ। विरुवालाई आवश्यक पर्ने पोषणतत्त्व एनपिके मिसाइएको पानिलाई जरासम्म पुग्नेगरी सिस्टम जडान गरिएको हुन्छ। उनीहरूका अनुसार कोकोपिट भारतबाट ल्याउने गरिन्छ।हाउसभित्र अटोमेटिक सिस्टम पनि जडान गरिएको छ। बढी तापक्रम भएमा हाउसभित्र राखिएको सेन्सरले पंखा घुम्ने, तातो हावा बाहिर फाल्ने र बन्द हुँदा तापक्रम सन्तुलन हुन मद्दत पुग्छ। बजारको सुनिश्चितता

यो प्रविधिबाट उत्पादन हुने तरकारीको बजारको समस्या नरहेको सञ्चालक पीताम्बरले बताए । उत्पादन अर्ग्यानिक हुनेहुँदा पनि बजारमा यसको माग रहेको छ। यस्तै, बेमौसमी उत्पादन हुने भएकाले माटोमा उत्पादन हुने अन्य तरकारीसँग खासै प्रतिस्पर्धा पनि नहुने उनको भनाइ छ। दीर्घकालीन योजनाका साथ लगानी गरेको यो व्यवसायबाट चार वर्षपछि मात्रै मुनाफा लिने सञ्चालकहरूको सोच रहेको छ।

पछिल्लो समय यो प्रविधिप्रति अन्य किसानहरूले पनि चासो दिइरहेका छन्। नयाँ प्रविधिको नेपालमा परीक्षणकालजस्तै भएकाले विस्तारै यसको लोकप्रियता बढ्ने आचार्यको विश्वास छ।

ग्रीनहाउस निर्माणका लागि कृषि ज्ञान केन्द्रले २० लाख र र तिलोत्तमा नगरपालिकाले २ लाख ५० हजार रुपैयाँ अनुदान दिएको आचार्यले बताए। कृषि पेसालाई नेपालमा हेलाको दृष्टिले हेर्ने गरिएको भन्दै यसलाइ चिर्न नयाँ प्रविधिको प्रयोग आवश्यक रहेको उनको भनाइ छ। आधुनिक प्रविधिबाट खेती गर्नसके र सरकारको विशेष प्राथमिकतामा परे युवा आकर्षित हुने र सिंगो मुलुक तरकारीलगायत खाद्यवस्तुमा आत्मनिर्भर हुने आचार्यको भनाइ छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.