समर्थन बढ्दै, आन्दोलनको अग्रपंक्तिमा कांग्रेस

|

डडेल्धुरा : चिकित्सा शिक्षा सुधारका अभियन्ता अनशनरत प्राडा. गोविन्द केसी डडेल्धुरा आएर अनशन बसेको सात दिन पुगेको छ। भदौमा डा. केसीले डोटी र डडेल्धुराको भ्रमण गरेका थिए। उनी गत भदौ १२ गते पहिलोपटक डडेल्धुरा पुगेका थिए। उनले यतिबेला डडेल्धुरामा अस्पतालको अवलोकन गरे। तर, सुदूर पहाड आउनुको कारण भने खोलेनन्।

यद्यपि, उनले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै आफू पर्यटकका रूपमा सुदूरपश्चिम आएको प्रतिक्रिया दिएका थिए। त्यतिबेला उनले डडेल्धुरा राम्रो लागेको प्रतिक्रिया दिएपछि कतिपयले उनी डडेल्धुरामा अनशन बस्न आएको आँकलन गरेका थिए। तर, त्यो आँकलन त्यतिबेला सत्यसावित भएन। किनकि उनी त्यो बेला यहाँ अनशन बसेनन्। र, उनी लगत्तै काठमाडौं फर्किए।

पहिलो पटक यहाँ पुग्दा स्वास्थ्य शिक्षा सुधारका अभियन्ता केसीले डडेल्धुरा अस्पताल जनप्रतिनिधिहरूको बेवास्ताको सिकार भएको प्रतिक्रिया दिएका थिए। सुदूरपश्चिमको केन्द्रमा रहेको डडेल्धुरा अस्पताल र सुदूरपश्चिमेली पहाडी जनताको स्वास्थ्य उपचारको स्थिति देख्दा आफूलाई निकै चिन्ता लागेको बताएका थिए उनले।

कसैलाई जानकारी नदिई डडेल्धुरा आएका थिए केसी

केसीले बागबजारस्थित नेपाल चिकित्सक संघको भवनबाट १७औं अनशन थाल्ने बताइएको थियो। तर, उनी त्यहाँ अनशन बसेनन्। उनले रोजे सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा।

डडेल्धुरा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो। ‘पूर्वप्रधानमन्त्रीको जिल्ला भएर पनि डडेल्धुरा अस्पतालमा स्वास्थ्य उपचार सेवा गुणस्तरीय हुन नसक्नु विडम्बनापूर्ण हो’ उनी भन्छन्।

कात्तिक १८ गते उनी कसैलाई पनि जानकारी नदिइ डडेल्धुरा आए। उनी दिउँसो डडेल्धुरा सदरमुकाम खलंगा पुगेका थिए। त्यसपछि उनी यहाँ निजी घर खोजेर अनशन बसे।

त्यसपछि १७औं अनशन डडेल्धुराबाट सुरु गरे केसीले। १८ कात्तिकमा डा. केसीले पत्रकार सम्मेलन गरी बेलुकी ५ बजेदेखि डडेल्धुरा सदरमुकाममा अनशन सुरु गरेका थिए। सातबुँदे माग अघिसार्दै केसीले सत्याग्रह सुरु गरेका थिए, उनले। केसी डडेल्धुरा अस्पतालनजिकै रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तोस्रो तलाको एउटा कोठामा अनशन बसे।

अनशन बस्नुअघि यसो भनेका थिए केसीले

केसीले प्रधानमन्त्रीले मात्रै सुलभ उपचार पाएर मात्रै नहुने बताएका थिए। अनशन सुरु गर्नुअघि पत्रकार सम्मेलनमा डा. केसीले प्रधानमन्त्रीसँग जनताले पनि सुलभ उपचार पाउनुपर्ने धारणा राखे।

‘पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्यअवस्था बिग्रेको भन्ने समाचारहरू आइरहेका छन्। हामीले प्रधानमन्त्री ओलीको शीघ्रस्वास्थ्यलाभको कामना गर्दै के स्मरण गराउन चाहान्छौँ भने स्वस्थ भएर बस्न पाउने निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने तथा सुलभ र गुणस्तरीय विशेषज्ञ तहको स्वास्थ्य सेवा पाउनु प्रधानन्त्रीको मात्रै हैन सबै नेपाली नागरिकको अधिकार हो।’ केसीले भनेका थिए, ‘राज्यको वा कसैको खर्चमा विदेश उपचार गराउन सक्नेले मात्रै राम्रो स्वास्थ्य सेवा पाउने अनि विपन्नहरू उपचार नपाएर मर्ने अवस्था हाम्रा लागि स्वीकार्य छैन।’

सुलभ र गुणस्तरीय सेवाका लागि निरन्तर संघर्षरत रहँदा राज्य पक्षले माफियाहरूको स्वार्थमा मेडिकल शिक्षामा व्यापारीकरण गरेकैले र राज्यले ठूला स्वास्थ्य संस्थाहरू काठमाडौं र सीमित शहर क्षेत्रमा मात्रै केन्द्रित गरेकैले अहिले देशमा सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुग्न नसकेको उनको भनाइ थियो।

‘चिकित्सा शिक्षा ऐन जारी गर्ने बेला हामीलेसँग सरकारकाले गरेको सम्झौताविपरीत विद्यार्थी र जनतामुखी नभई माफियामुखी प्रावधानहरू राखेर जबरजस्ती ऐर पारित गरियो। त्यसयतासमेत ऐनलाई विद्यार्थीमुखी र जनतामुखी हुने गरी संसोधन गरिनुपर्छ भनेर हामी सात्याग्रह समेतको आन्दोलन गर्दै आएकाछौँ’ पत्रकार सम्मेलनमा डा केसीले भनेका थिए, ‘विश्वविद्यालय तथा प्रतिष्ठानहरूमा दलीय भागबण्डा नभई योग्यता र वरिष्ठताका ठोस आधारमा नियुक्ति हुनपर्छ र त्यसका लागि बस्तुगत मापदण्ड बन्नुपर्छ भनेर हामीले लामो संर्घष गरेका छौँ।’

त्यसक्रममा विद्यमान कानूनमा परिमार्जन परेर नयाँ व्यस्था गर्नेलगायतका सम्झौताहरुमा सरकारले पटकपटक हस्ताक्षर गरेको उनको भनाइ छ। ‘केही वर्षअगाडि पराशर कोइरालाको संयोजकत्वमा बनेको समितिले पदाधिकारी नियुक्तिको मापदण्डबारे प्रतिवेदन सरकारलाई बुझाइसेको छ।’ उनले अघि भने, ‘सो प्रतिवेदन कार्यान्वयन गरेर मात्रै विश्वविद्यायमा नियुक्ति गर्ने सरकारलाई हामीले बारम्बार आग्रह गर्दै आएको छौँ। तर, सरकारले त्यसको बदला दलीय भागवन्डा सुनिश्चित गर्ने पुरानो पद्धतीअन्तर्गत पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढाएको छ।’

सरकारले देशमा भएका नियम कानून पालना गरेर दोषीलाई कारबाही गर्नु त कताकता खुलेआम दसौँ अर्बको ठगी गरेर विद्यार्थी र अभिभावकमाथि चरमा आर्थिक शोषण गर्ने निजी मेडिकल कलेजलाई संरक्षण गरिरहेको उनले आरोप लगाएका थिए।

यसले विधिको शासनको खिल्लीमात्रै उठाएको मात्रै छैन मेडिकल शिक्षाजस्तो संवेदनशील क्षेत्रलाई देशकै ठूलो कालोबजारी र अपराध हुने क्षेत्र बनाएको उनको बुझाइ छ। शुल्क नियमन गर्ने जिम्मा लिएका सरकारका मन्त्रीहरू लचार निकम्मा भएका उनको आरोप छ।

‘चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयजस्ता नियामक निकायहरू तमाशे भएर बसेका छन्। यसले राज्य विधिको शासनको पालन नभई माफिया र अपराधीहरूको पालकमा परिणत भएको छ’ उनले भने, ‘अहिले यसै अस्तव्यस्त रहेका देशका सार्वजनिक अस्पताल र स्वास्थ्यसंघसंस्थाहरू माध्ये धेरै कर्मचारी समायोजनपछि सेवा नै रोक्ने अवस्थामा पुगेका छन्। त्यसले गर्दा दूरदराजका बिरामी सेवाबाट बञ्चित भइरहेका छन्।’

औषधिको अनियन्त्रित बजारीकरणका कारण बिरामीहरू महँगा औषधिहरू छिमेकी भारतमा भन्दा ४/५ गुणा बढी तिर्न बाध्य रहेको उनले बताए। यसले बिरामीहरूको अवश्यक औषधिसम्मको पहुँच नै काम भएर गएको उनको भनाइ थियो।

ओली प्रधानमन्त्री हुँदा आफू चार पटक अनशन बसेको उनले स्मरण गरे। प्रत्येक पार्टीको सरकार हुनेबेला आफू अनशन बसेको समेत उनले सुनाए। ‘अहिले ओलीजी प्रधानमन्त्री हुनुहुन्छ। उहाँ प्रधानमन्त्री हुँदा म चारचोटि अनशन बसें। अरु पाटीले सरकारको नेतृत्व गरेका बेला पनि बसेकै हुँ’ उनले भने, 'मेरा मागहरू पूरा नहुँदासम्म अनशन बसिनै रहन्छु।’

जटिल बन्दै केसीको स्थास्थ्य

अनशनको तेस्रो दिनमा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गयो। चिसोका कारण अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको र ब्लड प्रेसर पनि घटेको थियो। केसी अनशन बसिरहेको क्षेत्रमा घाम नै लाग्दैन थियो।

अहिले केसीलाई अनसनस्थलबाट डडेल्धुरा अस्पताल सारिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि केसीलाई अनशन बसेको निजी घरबाट डडेल्धुरा अस्पताल सारिएको हो। सदरमुकामस्थित अस्पतालनिजिकै रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा केसी अनशन बसिरहेका थिए।

शुक्रबार राति केसीलाई अस्पताल सारिएको हो। डा. केसीको स्वास्थ्यमा प्रतिकूल समस्या देखिएपछि जनप्रतिनिधि, स्थानीय नागरिकको रोहबरमा अनशन बसेको पाँचौं दिनमा अस्पताल सारिएको हो।

उनलाई डडेल्धुरा अस्पतालको आकस्मिक कक्षमा राखिएको छ। उनको हाल अस्पतालको आकस्मिक कक्षको १६ नम्बर बेडमा उपचार भइरहेको अस्पतालका निमित्त मेसु डा.जितेद्र कँडेलले जानकारी दिए।

केसीको पक्षमा समर्थन बढ्दै, आन्दोलनको अग्रपंंतिमा कांग्रेस

अहिले आमरण अनशनरत डा. केसीको पक्षमा समर्थन बढ्दै गइरहेको छ। डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्थानीय अगुवाले डा. केसीलाई भेट्दै ऐक्यबद्धता जनाइरहेका छन्। सुदूरपश्चिमका विभिन्न जिल्लासँगै काठमाडौंबाट डडेल्धुरा पुगेर डा. केसीले राखेका मागमा ऐक्यबद्धता जनाइरहेका हुन्।

शनिबार कैलालीबाट आएको एक टोलीले केसीको अनशनमा ऐक्यबद्धता जनाए। नागरिक समाज कैलाली, कैलाली बहुमुखी क्याम्पस धनगढी र प्रध्यापकहरूको टोलीले उनले राखेका मागमा ऐक्यबद्धता जनाएको हो।

केसीले उठाएका मागहरू जनता हितमा रहेको उल्लेख गर्दै कैलाली बहुमुखी क्याम्पस धनगढीका सहप्रध्यापक डा. लोकबहादुर विष्टले उनको अनशनमा सबैले साथ दिनुपर्ने बताए।

‘उहाँ(केसी)ले थाल्नुभएको अनशन गरिब दुखी जनताको लागि हो। उहाँको जीवन रक्षाको लागि हामी सबै सुदूरपश्चिमबासी अघि बढ्नु पर्दछ’ उनले भने, ‘उहाँ सुदूरपश्चिममा आएर अनशन बस्नुभएको छ। सुदूर पहाडका नागरिकले उपचारका लागि कैलाली, कञ्चनपुर जानुपर्छ।’ सरकारले केसीले उठाएका मागहरूलाई सम्बोधन गर्नुपर्नेसमेत उनको भनाइ छ।

एचआइभी संक्रमित अभियान्ता राजिव काफ्ले पनि डा. केसीलाई भेटेर ऐक्यबद्धता जनाएका छन्। काठमाडौंबाट डडेल्धुरा पुगेर उनले केसीले उठाएका मागमा समर्थन जनाएका हुन्।

‘विगत लामो समयदेखि जनताको स्वास्थ्यको पक्षमा विभिन्न मुद्दा उपर लड्दै आउनुभएका डा.केसीलाई सम्पूर्ण एचआइभी संक्रमित तथा क्यान्सर प्रभावितहरूको तर्फबाट धन्यवादसहित उहाँको आन्दोलनमा ऐक्यबद्धता जनाउन चाहन्छौँ’ काफ्ले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। क्यान्सरलगायतका महँगा औषधिहरू भारतभन्दा ४/५ गुणा महँगो भएकाले सुपथ मूल्यमा उपलब्ध गराउने व्यवस्था गरिनुपर्नेलगायतका केसीका मागमा आफूहरूको ऐक्यबद्धता रहेको उनको भनाइ छ।

उनको समर्थनमा डडेल्धुरा सदरमुकामा दैनिक प्रदर्शन भइरहेको छ। केसीले सुरु गरेको १७औँ चरणको अनशनमा ऐक्यबद्धता जनाउँदै प्रदर्शन भइरहेको हो।

नागरिक समाज तथा पेशाकर्मी एवं व्यावसायिक संघसस्थाहरूको अगुवाइमा सदरमुकामको बसपार्क-तुफानडाँड हुँदै डडेल्धुरा अस्पतालदेखि तुफानडाँड चोकसम्म उनको माग सम्बोधन गराउन सिटी जुलुस प्रदर्शन गरिएको हो। यी आन्दोलनको अग्रपंतिमा डडेल्धुरा कांग्रेस छ। नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेशसभाका सदस्य कर्णबहादुर मल्ल अग्रपंतीमा देखिन्छन्।

अघि बढ्नुहोस् डाक्टर साप’ डडेल्धुराबासीको साथ छ

डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष भट्टले सरकारले डा. केसीको आन्दोलनलाई बेवास्ता गरिरहेको बताउँदै तत्काल माग सम्बोधन नगरिएमा अझ कडा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने चेतावनी दिन्छन्। उनले सुदूरपश्चिम प्रदेशको केन्द्रविन्दु डडेल्धुरामा चक्काजाम भएमा सिँगो प्रदेश ठप्प हुने जिकिर गर्दै तत्कालमाग सम्बोधन गर्न सरकारलाई आग्रह गरे।

डा. केसीको समर्थनमा डडेल्धुरामा भइरहेको आन्दोलन अझ कडा हुने नागरिक समाज डेल्धुराका प्रवक्ता पत्रकार टेकराज अवस्थीले जानकारी दिए। ‘हालसम्म शान्तिपूर्ण रूपमा सरकारलाई दबाब दिइरहेका छौँ’ उनले भने।

‘डाक्टर केसीका माग पूरा गर, अघि बढ्नुहोस् डाक्टर साप’ डडेल्धुराबासीको साथ छ, डडेल्धुरामा मेडिकल कलेज स्थापनाको निर्णय गर, डडेल्धुरा अस्पतालमा दरबन्दी पूर्ति गर, डाक्टर केसीको जीवन रक्षा गर’लगायतका नारा दैनिकरूपमा डडेल्धुरा सदरमुकामा घन्किन्छन्।

सरकार ‘तै चूप मै चूप’

केसी डडेल्धुरा आएर अनशन बसेको सात दिन पुग्दासमेत सरकारले उनका माग सम्बोधन प्रति कुनै प्रतिक्रिया जनाएको छैन। केसीले उठाएका मागबारे सरकार अहिले ‘तै चूप मै चूप’को अवस्थामा छ। केसीका माग तत्काल सम्बोधन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत पठाइसकिएको छ। केसीको समर्थनमा विभिन्न आन्दोलन भइरहँदासमेत सरकारले कुनै धारण सार्वजनिक गरेको छैन।

उनको आमरण अनसनबारे प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्रालयमा खबर गरेको भएपनि सात दिनसम्म सरकारका तर्फबाट आधिकारिक रूपमा कुनै पनि खबरजानकारी नभएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए।

‘डाक्टर केसीले अनशन थालेको दिनदेखि जिल्लामा दैनिक रूपमा भइरहेका सबै गतिविधिबारे र उहाँको अवस्थाबारे मैले माथि जानकारी गराइ नै रहेको छु,’ प्रजिअ पौडेलले भने, ‘तर यस विषयमा सरकारका तर्फबाट आधिकारिक रूपमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।’

डा केसीलाई डडेल्धुराबाट रेफर गर्ने तयारी

केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि डडेल्धुराबाट रेफर गरिने भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा अस्पतालमा उपचाररत केसीलाई थप उपचारका लागि जिल्लाबाहिर रेफर गर्ने तयारी अस्पतालले गरेको हो। उनलाई कैलाली वा काठमाडौं रेफर गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ।

अनशनको ५औं दिन शुक्रबार स्वास्थ्यमा समस्या आएपछि उनलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा अनशन नबस्ने डा. केसीको अडान भए पनि नागरिक समाज डडेल्धुराको दबाबपछि डडेल्धुरा अस्पताल सारिएको थियो। डा. केसीको पिसाबमा क्रियटिनिन बढेको र चिनीको मात्रा घटेको चिकित्सकहरू बताउँछन्।

डा. केसीको शरीरमा पानीको मात्रा घटेको, कमजोर हुँदै गएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए। स्लाइन नचढाउने उनको अर्को पनि अडान थियो। तर, स्वास्थ्य अवस्था निकै कमजोर बनेपछि उनलाई स्लाइन चढाउन थालिएको छ।

‘डडेल्धुरा अस्पतालमा अब डा. केसीलाई उपचार गराउनु पर्ने सघन उपचार कक्ष (आइसीयू) र एबिजी छैन, भने यो संचालन गर्ने डाक्टरहरू पनि छैनन्,’ मेसु कँडेलले भने, ‘डडेल्धुरा अस्पतालमा ओपिडी, एक्सरे, भिडियो एक्स-रे, समान्य अपरेसनलगायतका सेवा मात्र उपलब्ध छन्।’

डा. केसीको उपचारमा निरन्तर विशेषज्ञसहितको चिकित्सक टोली खटिएको छ। उनको रक्त चाप घटबढ भइरहेको अस्पतालका मेसु डा. कँडेलले बताए। आकस्मिक कक्षमै उपचार गराई रहेका उनलाई रेफर गर्ने विषयमा उनका भाइ किशोरसँग छलफल भइरहेको डा. कँडेलको भनाइ छ।

‘अब उहाँको यो अस्पतालमा उपचार संम्भव छैन। अबको विकल्प भनेको सुविधासम्पन्न अस्पताल नै हो। त्यसबारे उहाँका भाई किशोरसँग छलफल गर्ने तयारीमा छौँ’ उनले भने, ‘अबको केही दिनमै उहाँलाई अन्यत्र सार्नपर्छ होला।’

डडेल्धुरामा सोमबारदेखि अनसन सुरु गरेका डा. केसी सदरमुकामस्थित अस्पताल निजिकै रहेको निर्मल क्लिनिक रहेको घरको तेस्रो तलामा अनशन बसिरहेका थिए। उनको स्वास्थ्य अवस्थाबारे डडेल्धुरा अस्पतालसँग स्वास्थ्य मन्त्रालय र अन्य सम्बन्धित निकायले कुनै प्रतिक्रिया नदिएको तर आफूले स्वास्थ्य मन्त्रालयका सचिवलाई अस्पतालमा भर्ना गरिएकोबारे जानकारी गराएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.