|

सल्यान : जनताका लागि सबैभन्दा नजिकको सिंहदरबार वडा कार्यालय हो। संघीयताले जनताको कामको सबैभन्दा बढी चाप वडामा थोपारेको छ। तर वडा तहले भने स्रोत-साधन, संरचना र जनशक्तिको अभाव भोग्दै आइरहेको छ। 

सानो काँधमा ठूलो जिम्मेवारी दिँदा जनताका काम चुस्तदुरुस्त बनाउन समस्या भइरहेको बनगाड कुपिन्डे नगरपालिका ५ का अध्यक्ष कमल विकले बताए। उनले स्थानीय सरकासँग जनताको अपेक्षा धेरै रहेता पनि पर्याप्त स्रोत साधन, संरचना र जनशक्ति नहुँदा जनताको गुनासो सुनिरहनु परेको बताए। उनले भने, ‘जनताको माग छिटो हुनुपर्ने हुन्छ। हामीसँग भने त्यसका लागि पर्याप्त जनशक्तिको अभाव छ।’

प्रशासनिकदेखि विकास निमार्णका काम प्रभावित भइरहेको उनको भनाई छ। एक सचिवको भरमा वडा सरकार चलिरहेको त्रिवेणी गाउँपालिका ३ का वडा अध्यक्ष हुकुमप्रसाद महतराले बताए। एक वडा एक प्राविधिकको अवधारणा भए तापनि जनशक्ति नहुँदा कर्मचारीले गर्ने काम पनि आफूले गर्दै आइरहेको उनको भनाई छ।

उनले भने,‘जन्मदर्ता होस वा नागरिकताको लागि सिफारिस। घरजग्गाको तिरो तिर्न हो वा जग्गा नापजाँच गर्ने काम। यी सबै कार्यसम्पादन वडाबाटै हुन्छ। तर कर्मचारी नहुँदा कार्यालय सहयोगीले प्रशासनिक काममा सघाउँछन्।’ 

प्राविधि र प्रशासनिक कर्मचारी नहुँदा विकास निमार्णको निगरानी प्रभावकारी हुन नसकेको बागचौर नगरापालिका ६ का वडा अध्यक्ष भुपेन्द्रराज वलीले बताए। जनशक्ति नहुँदा सानो कामका लागि पनि नगरपालिका कार्यालयको मुख ताक्नु पर्ने वलीको भनाई छ। उनले भने, ‘वडाबाट आर्थिक, प्रशासनिक, पूर्वाधार विकास लगायतका धेरै काम हुन्छन्। कहिलेकाहिँ त हामी जनप्रतिनिधिले नै कर्मचारीको काम गर्नुपर्छ।’ 

जनतालाई राम्रो परिणामको अनुभूति गराउने काम वडामै भए पनि स्रोत साधन र जनशक्ति अभावले प्रभावित भएको कुमाख गाउँपालिका ६ का वडा अध्यक्ष विरबल शर्माले बताए।

शर्माले वडा सचिव मात्र होइन विकास निर्माणसँग सम्बन्धित कर्मचारी अभावले स्थानीय तहको काम प्रभावित भइरहेको बताए। उनले भने, ‘बजेट अनुसारको काम गर्ने गराउने कर्मचारी छैनन्। अनि कसरी विकास हुन्छ।’

जिल्लाका ८३ वडा मध्ये अधिकांशमा सचिवविहीन छन्। जिल्लाका दस स्थानीय तहमा पर्याप्त प्राविधिक लगायतका जनशक्तिको अभाव रहँदै आइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.