परीक्षणको रिपोर्ट आउँदा फलफूल र तरकारी चट्

|

पर्सा : सरकारले भन्सार नाकामा नै विषादी परीक्षण गराउने नयाँ नीति ल्याउन लागे पनि वीरगन्ज भन्सार कार्यालय भने बेखबर छन्। माथिबाट  कुनै नयाँ सर्कुलर नआउँदा मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज भन्सार कार्यालय बेखबर भएको हो। 

‘फलफूल तथा तरकारीको विषादी परीक्षण गर्ने प्रविधि त के प्रयोगशाला कार्यालयसमेत वीरगन्जमा नै छैन' वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले थाहाखबरसँग भने।

कर्मचारीले त यहीँ विषादी परीक्षण गर्ने भन्ने आधिकारिक हल्ला पनि नसुनेको उनको भनाइ छ। 'वीरगन्ज भन्सारले बाहिरबाट आयातित फलफूल तथा तरकारीको नमूना परीक्षणका लागि सर्लाहीको नवलपुरमा  पठाइरहेका छौँ' साहले भने।

भन्सारमा परीक्षण नहुँदा उपभोक्ता विष खाँदै

कृषि प्रधान देशमा पछिल्लो समयमा तरकारीसमेत भारतबाट आयात हुँदा आएको छ। प्रमुख भन्सार नाकामा तरकारीको विषादी चेक गर्ने प्रविधि नहुँदा उपभोक्ता विषादीयुक्त तराकारी खान बाध्य छन्।

व्यवसायीहरूले तरकारी तथा फलफूल आयात गरिएको सवारीमा नै नकुहियोस् भनी विकल्पको बाटो अपनाउने गर्दा अझ त्यस्तो तरकारी उपभोक्ता लागि विषाक्त हुने गरेको छ। व्यवसायीले भन्सारबाट ल्याउँदा परीक्षणका लागि समय लाग्ने भएकाले उनीहरूले वैकल्पिक बाटो प्रयोग गरेर तरकारीजन्य पदार्थ नेपाल भित्र्याउने गरेका छन्।

परीक्षणको रिपोर्ट आउँदा फलफूल तथा तरकारी चट 

सवारी साधनमा राखेर आयात भएको काँचो तरकारी घण्टौँ भन्सारमा रोकिँदा आयातकर्ताको ठूलो लगानी फलफूल तथा तरकारी कुहिएर नष्ट हुने गरेको व्यवसायीले बताए। 'यस्तो भएको कति धेरै उदाहरण छन्' तरकारी तथा फलफूल व्यवासायी अखिलेश प्रसाद साहले भने 'गएको दीपावली तथा छठ पर्वका लागि व्यवसायीले आयात गरेको तरकारी तथा फलफूल पनि धेरै बर्वाद भएको छ।' विषादी प्रयोग भएका तरकारी तथा फलफूल बढी समयसम्म भन्सारमा नै रोकिँदा गाडीमा नै गुम्सिएर कुहिन सक्ने उनले बताए।

छठ पर्वलाई लक्षित गरी आयातित कति फलफूल तथा तरकारी पनि यस्तै भएको व्यवसायीहरूको भनाइ छ। भन्सार जाँच पास गर्न २ देखि ३ दिन लाग्दा भन्सार कार्यालयमा आफ्नो तरकारी तथा फलफूल सडेको व्यापारी चन्दन साहले बताए। भन्सारमा परीक्षण चाँडो नहुँदा गाडीमा नै फलफूल तथा तरकारी सडेर नष्ट हुँदा लगानी नै स्वाहा भएको उनले गुनासो गरे।

तीन घण्टा परको मोटरबाटो पूरा गरी परीक्षण

भारतका विभिन्न स्थानबाट आयात भएको हरियो तरकारी तथा फलफूलको विषादी ३ घण्टा परसम्मको मोटर बाटो पार गरी परीक्षण गराई त्यसको रिपोर्ट आएपछि मात्र भन्सार जाँच पास हुने गरेको छ। 'सर्लाही नवलपुरको प्रयोगशालामा नमूना परीक्षण गराई परीक्षण रिपोर्ट नआएसम्म बाहिरबाट आयात भएको तरकारी तथा फलफूल वीरगन्ज भन्सारमा नै रोकिन्छ,' व्यवसायीहरूले भने।

मुलुकभित्र तरकारी उत्पादन पनि गर्न नसक्ने, अनि बाहिरबाट आयात भएर आएको काँचो फलफूल तथा तरकारी कुहिएर उपभोक्ता त्यहि खान बाध्य हुँदा पनि अझै राज्यको ध्यान नपुग्नु ठीक तरिका नभएको उनीहरुको तर्क छ।

व्यापारीसमेत मर्कामा

परीक्षण रिपोर्ट कुर्दाकुर्दै व्यापारीहरूले आयात गरेको काँचो तरकारी धेरै पटक गाडीमा सडेको छ। उपभोक्ता कहाँ पुर्‍याउन नमिल्ने भएपछि त्यसलाई त्यहीँ मिल्काउनुको अर्को विकल्प नभएको व्यापारीहरूको गुनासो छ।

'हाम्रो त लगानी जसरी पनि उठाउनु पर्‍यो। कहिले काही सड्नै लागेको भए पनि तरकारी बजारमा पठाउँछौं। उपभोक्तालाई अर्को विकल्प पनि हुँदैन। आखिर अन्तिममा साह्रै मर्कामा पर्ने त उपभोक्ता नै हुन्। म पनि धेरै प्रकारको उपभोक्ता पनि हुँ' एक तरकारी व्यवसायीले नाम नलेख्ने सर्तमा भने।

'कर्मचारीलाई केही नजराना दिएर कहिलेकाहिँ परीक्षण नै नगराई पनि भन्सार जाँचपास पास गरेका उदाहरण पनि नभएका होइनन्' उनले थपे 'यसले पनि त उपभोक्ता त मारमा परेका छन् नि!' 

भन्सारमा नै राजश्व तिरेजस्तै परीक्षण पनि यहिँ होस्

तेस्रो मुलुक तथा भारतबाट अन्य सामान आयात हुँदा तुरुन्त भन्सारमा राजश्व बुझाएर सामान छुटाउन मिलेजस्तो तरकारी तथा  फलफूलको पनि विषादी परीक्षण वीरगन्ज भन्सार एरियामा नै हुने अवस्था भए आफूहरूलाई सजिलो हुने व्यवसायी साहले बताए।

यसरी कुरालाई अर्का व्यापारी रेखा साहले पनि जोड दिइन्। भन्सारमा नै विषादी परीक्षण गर्ने कार्यालय र प्रविधि भए व्यवसायीको समयम बचत र तरकारी पनि ताजा नै हुने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.