सीमा समाधानमा सरकारले कूटनीतिक आँट गरेन
सीमा समाधानमा सरकारले कूटनीतिक आँट गरेन
पोखरा : देशमा भएका राजनीतिक परिवर्तनका लागि माओवादी आन्दोलनले पनि केही न केही भूमिका खेल्यो। त्यही भूमिका खेल्नेमध्येका एक नेता हुन् सिपी गजुरेल। हिजो उनीसँगै युद्धको मैदानमा लडेकाहरू केही अहिले सरकारमा छन् भने उनी अहिलेको सरकारको विरोध गर्दैै बाहिरै बसेका छन्। देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्षसमेत रहेका गजुरेलसँग पोखरामा थाहाखबरकर्मी सन्तोष अधिकारीले समसामयिक विषयमा गरेको कुराकानीको संक्षिप्त अंश :
भारतलाई तपाईंहरूले विस्तारवाद भन्दै विरोध गरिरहनुहुन्छ। यही भारतले अहिले नेपालको भूभाग समेटेर आफ्नो नयाँ नक्सा जारी गर्यो। हेर्नुभयो भारतको नयाँ नक्सा?
भारतले नक्सा बनाएको अहिले भर्खरै होइन। कालापानी, लिपुलेक र लिम्पियाधुरा यो क्षेत्र राखेर नक्सा बनाएको धेरै अगाडि हो। हामीले, हाम्रो पाटीले अभियानै चलाएको थियो। काठमाडौंमा कार्यालयहरूमा, मन्त्रालयमा गएर छुट्टै नक्सा लिएर गएर नेपालको नक्सा यो हैन भनेर भन्दा यो थाहा छैन भन्थे। नेपाल सरकारले बाँडेको नेपालको नक्सा त ठीक छैन।
अहिले भारतको मोदी सरकारले विभिन्न ठाउँमा केन्द्रीय शासन लागू गरिसकेपछि नयाँ नक्सा आवश्यकता पर्यो। त्यही गर्न हाम्रो भूभाग कायम गरेको हो। पाकिस्तानको पनि त्यस्तै गरेको छ। पाकिस्तानले संयुक्त राष्ट्रसंघमा जाने भनेको छ। हाम्रो देशको केही सुरसार छैन।
परराष्ट्र मामला सम्बन्ध बैठक बोलाउने भनेर बल्ल भनेको छ। सरकारले अब त राष्ट्रघाती नै हुने भइयो भनेर, आफ्नै विद्यार्थी संगठन विरोधमा उत्रेको, सत्ताधारी पार्टीकै घटकहरू विरोधमा उत्रेको हुनाले अब सरकारले एउटा वत्तव्य जारी गरेको छ। यो सरकारले यो समस्या समाधान गर्ने आँट यो सरकारले गर्नै सक्दैन।
कूटनीति क्षेत्रलाई तपाईंको पार्टीले कसरी हेरेको छ?
अहिलेको सरकारको अन्तरदेशीय कूटनीति सफल हुँदै भएन। विदेशीको दलाली गर्ने राष्ट्रघाती गर्ने नीति हो। राष्ट्रिय स्वाधीनताको पक्षमा छैन यो सरकार। यसले कूटनीति मर्यादा पालना गर्ने सक्दैन। राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन नसक्ने सरकारले के कूटनीति चाल बुन्छ र?
तपाईंहरू त कम्युनिष्ट। केही समयअघि मात्रै चीनका राष्ट्रपतिको भ्रमण पनि भयो। सी विचार धाराको खुबै बहस भयो, भइ पनि राख्या छ। अब नेपालमा पनि सी विचारधारा स्थापित हुन लाग्या हो ?
सी विचारधारा चाइनिज कम्युनिष्ट पार्टीले ल्याएको हो। उनीहरूको विचार किन ल्याएको भनेर हामी भन्दैनौँ। जहाँसम्म सी विचार धाराको नेपालसम्बन्धी विचार छ यसलाई हामीले मान्दै मान्दैनौँ। हामी मार्क्सवाद, लेनिनवाद माओवादलाई मान्छौँ। त्यहाँबाट अघि बढेर कुनै विचारधारा थप्नपर्छ भन्ने हाम्लाई लाग्दैन।
अहिलेको सरकारले उनीहरूसँग सहकार्य गरेको हो। अहिलेको सरकारले उनीहरूको विचार स्थापित गर्न सहयोग गर्यो। उनीहरूलाई सी विचार स्थापित गर्नु थियो। यहाँ सरकारले नै त्यसका लागि कार्यक्रम आयोजना गर्दिन्छ भने चाइनिजलाई दोष दिने कुरा भएन। चीनको यसमा हस्तक्षेप देखिन्न। यहाँ डबल नेकपाको स्कुल विभागले गरेको गल्ती हो। यहो हामी उचित ठान्दैनौँ।
इन्डोप्यासेफिक नीतिले पनि निकै स्थान पाइरहेको छ। बहस भइराखेको छ। यसै नीतिमार्फत अमेरिकाले हस्तक्षेपकारी भूमिका खेल्न लागेको हो भन्ने टीकाटिप्पणी पनि सुनिन थालेको छ। तपाईंहरूको पार्टीले यस विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन नि?
इन्डोप्यासेफिक स्टाटेजी भनेको अमेरिकाको सामरीकरण नीति हो। अहिले उसले विरोध गर्दै आएको छ। हाम्रो केही हैन विकास निर्माण गर्न मित्रराष्ट्रलाई सहयोग गर्ने नीति हो भनेको छ। यो ट्रम्प प्रशासनको सुरक्षा विभागले तयार पारेको डकुमेन्ट हो यो। यो कुनै कारणवश बाहिर आयो। यो मिलिनियम च्यालेन्ज कर्पाेशन भन्नेबाट ५० अर्ब आएको छ नि। यत्रो रकम दिन अमेरिका कसरी उदार भयो सोचनीय विषय छ।
नेपाल सरकारले मागेकै छैन अमेरिका पैसा लाउलाउ भनेको छ। यसको केही डकुमेन्ट हाम्रो हात परेको छ। हाम्ले अध्ययन गरिरहेका छौँ। मिलिनीयिम च्यालेन्ज कर्पाेशन भनेको इन्डोप्यासिफिकको एउटा अंग हो। यसद्वारा लगानी गर्नुपर्छ भनेर ल्याएको हो। उनीलाई एकैपटक आउन समस्या हुने र कमजोर राष्ट्रलाई सहयोगको नाममा सहयोग गर्ने। पछि इन्डोप्यासेफिक स्टाटेजीमा समावेश गर्ने रणनीति हो। यस्तो प्रयोजनको लागि आएको पैसा लिन अहिलेको सरकार मरिहत्ते गरिरहेको छ।
कम्युनिष्ट एक हुनुपर्छ भनेर एमाले र माओवादी एक भए। तपाईंहरूको तयारी के छ? देशमा कम्युनिष्टकै सरकार छ। वास्तवमा कम्युनिष्ट को हो? तपाईंहरू हो कि, विप्लव?
अहिले देशमा कम्युनिष्टको नाम राखेर कम्युनिजमलाई सिध्याउने ठूलो षड्यन्त्र हो। नेपालमा कम्युनिष्टलाई बुझेर नबुझेर मान्ने धेरै छन्। को कम्युनिष्ट त्यस्ता मानिसलाई मतलव नै हुँदैन नाम भए हुन्छ। त्यस्ता मान्छेलाई भ्रमित पार्न केपी र प्रचण्डले कम्युनिष्ट पार्टीको साइनबोर्ड राखे। कम्युनिजमको कुनै पनि सिद्धान्त उनीहरूले मान्दैनन्। उनीहरूले सबै सिद्धान्त छोडीसके। अहिले उनीहरूले माओवादीको ट्रेडमार्क मात्रै लिएका छन्। कम्युनिष्ट पार्टीको दुरुपयोग गरिरहेका छन्।
प्रचण्डले म ओरिजीनल माओवादी हैन भनिसके। विप्लवजी, कट्टेलजीसँग हाम्रो कतिपय लाइन मिल्दैन। तर, कम्युनिष्ट नाम उहाँहरूले राख्दा हाम्लाई आपत्ति छैन। सत्ताधारी दल जुन छ डबल नेकपा त्यसले राख्दा हाम्लाई आपत्ति छ। यो कम्युनिष्ट नै हैन। कार्यकर्ता, जनता ठग्नका निम्तिका नाम राखेको छ।
उपनिर्वाचन पनि आइसकेको छ। पहिले चुनावमा भाग लिएको पार्टी हो तपाईंहरूको पनि। अहिले लिन्छ कि लिँदैन?
यो चुनावमा भाग नलिने र हामी बहिष्कार गर्ने निर्णय गरेका छौँ। योभन्दा अघिल्लो चुनाव हामीले उपयोग गरेकै हो। त्यो किन उपयोग गर्यौँ भने भर्खरै संविधान जारी भएको बेला थियो। यो व्यवस्थाप्रति भ्रम थियो। समाजवाद आयो। देश समृद्धि नै समृद्धिको लाइनमा गयो।
कुनै पनि नेपाली दुखी भन्ने हुँदैहुँदैन, सबै सुखी नेपाली भन्ने भ्रम फैलिएको थियो। त्यसलाई चिर्न त्यही मञ्चलाई प्रयोग गर्न भनेर प्रयोग गरेका हौँ। त्यो बेला घोषणापत्रमै लेखेका थियौँ। यो सरकार भन्नै लाज लाग्नेगरी बदनाम भएको छ की भन्नै लाज लाग्ने। महरालगायत ८० जना जनप्रतिनिधि फौजदारी अभियोगमा कस्टडीमा रहेछन्। यो व्यवस्थामा यस्तो के हो यो? यस्तो व्यवस्था रहेको राज्यको चुनावमा भाग लिन कसरी जाने?
वहिष्कार गरेर विप्लवलाई सहयोग गर्नु भएको त हैन ?
कुनै पार्टीलाई सहयोग गर्न हामी नीति बनाउँदैनौँ। विप्लवजीको अहिले जुन बहिष्कारबारे हाम्रो वार्ता, छलफल केही भएको छैन। बहिष्कार गर्नेहरूसँग कार्यगत एकता गरेर सशक्त बनाउन पाए हुने भन्ने चाहिँ हाम्रो नीति छ। गोपाल किराँतीजी र ऋषि कट्टेलजीसँग छलफल पनि गरेका छौँ।
हाम्रो पार्टीले वार्ता गर्न मलाई नै जिम्मा दिएको छ। विप्लवहरूसँग हाम्रो भेट छैन। उहाँहरू भूमिगत हुनुहुन्छ भेटघाट गर्ने छलफल गर्न सहज छैन। हाम्रो नीति प्रष्टै छ। अहिलेको सरकारको भण्डाफोर गर्ने, सरकार, ब्यवस्था र संविधान खारेजीको निम्ती अहिलेको बहिष्कारलाई हामी प्रयोग गर्छाैँ। जनतालाई बुझाउन हामी लागीपर्छाैँ। अहिलेको संविधान पश्चगामी छ।
तपाईंहरूको कुरा कस्ले सुन्ने, नीतिगत तहमा उनीहरू छन्?
उनीहरूले सुन्छन् भन्दा पनि उनीहरूले सुने पनि नसुनेझैँ गर्छन्। लागू गर्दैनन्। मुख्य बुझाउनुपर्ने शक्ति जनता हो। प्रचण्ड र ओलीले बुझेकै छन् के बुझाउनु तिनलाई। बुझेर बुझ पचाए। जनता ठूलो भ्रममा छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।