इगोको लडाइँबीच सहमति खोजिँदै

|

काठमाडौं : चर्चित व्यवसायी तथा पूर्व अर्थराज्यमन्त्री रुप ज्योति पक्राउ प्रकरणले नेपालको निजी क्षेत्र सन्त्रासमा देखिएको छ। परिचित उद्योगी व्यवसायी पक्राउ परेको यो पहिलो पटक होइन। तर रुप ज्योति पक्राउ प्रकरणमा निजी क्षेत्रका छाता संगठनले नै आश्‍चर्यसहित घुमाउरो भाषामा विरोध जनाएका छन्। 

अदालतको अनुमतिसहित थुनामा राखिएका उनलाई पक्राउ गर्दा अपनाइएको शैली र त्यसपछिका व्यवहारलाई लिएर निजीक्षेत्रले आपत्ति जनाएको हो। अन्य मुद्दा भन्दा फरक ढंगले यो मुद्दा प्रस्तुत भएको छ। 

पक्राउ अघिपछि

निजी क्षेत्रको सबैभन्दा पूरानो र सबैभन्दा ठूलो छाता संगठनले विज्ञप्ति नै निकालेर यो प्रकरणमा ध्यानाकर्षण गराए। अदालतमै पुगेको विषय त्यहीँ टुंग्याउन प्रक्रिया अघि बढेको छ। तर तर यस विषयलाई लिएर नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल चीन उद्योग वाणिज्य संघले आपत्ति जनाउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ। रुपज्योति अन्यायमा परेको भन्दै सडकमा जुलुस पनि निक्लिरहेको छ।

ज्योतिलाई ठगी आरोपमा पक्राउ गरिएको हो। स्रोतकाअनुसार सिंगापुरमा रहेका उनलाई नेपाल फर्किए पक्राउ गर्न सक्ने सूचना दिइएको थियो। प्रहरी पनि विमानस्तलमै आएकोबारे थाहा दिँदादिँदै पनि उनी नेपाल आएका थिए। मुद्दा मिलाएर मात्रै नेपाल आउन दिइएको सुझाव इन्कार गर्दै नेपाल आएपछि उनी पक्राउ परे। रुपसहित उनकी छोरी पनि पक्राउ परेकी छन्।

पक्राउ परेपछि छाती दुखेको उपचारका लागि अस्पतालमा बस्न आग्रह गरिएको थियो। तर उनले नियमित योगा गर्ने जनाउँदै थुनामा नै बस्ने बताए। अर्कातिर आफ्नो मुद्दामा उनी आफैँले बहस गर्ने भएका छन्। 

रुपविरुद्ध पहिलो पटक तीन दिन थुनामा राख्‍ने अनुमति प्रहरीले लिएको थियो। आइतबारको बहसपछि थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। ठगी गरेको भनिएको रकमबारे नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष तथा प्रदेश ३ अध्यक्ष दिनेश श्रेष्ठको फरक तर्क छ। 'ज्योति परिवारको अहिलेसम्मको अवस्था हरेर यदि त्यो रकम तिर्न नसक्ने स्थिति रहन्थ्यो भने देशभरका उद्योग व्यवसायीले आफ्नो तर्फबाट तिरिदिन्थे', उनले भने। 

ठगीको विषय र अदालतको बहस

बाँसबारीस्थित ल्याण्डमार्क डेभलपर्स प्रालि र विजेन्द्रकृष्ण मल्लबीच २०७१ सालमा घर निर्माणसम्बन्धी सम्झौतापछि  बढ्दै गएको विवाद यो अवस्थासम्म आएको हो।

सम्झौतामा ६ आना ३ दाम २.१६ पैसा जग्गामा घर बनाएर मल्ललाई हस्तान्तरण गर्ने कुरा उल्लेख गरिएको जनाइएको छ। त्यही सम्झौताको आधारमा मल्लले कम्पनीलाई १ करोड ३६ लाख बुझाएको जनाएका छन्।

ल्याण्डमार्क घर बनाउन सिई कन्स्ट्रक्सनलाई जिम्मा दिएको थियो । तर त्यसमा घर नबनेपछि मल्लले आफू ठगिएको भन्दै प्रहरी हुँदै अदालत पुगेका थिए। मल्लले २०७५ मंसिर १६ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए। त्यही केसमा प्रहरीले ज्योतिलाई पक्राउ गर्न अदातलबाट आदेश लिएको थियो।

मल्लको गुनासो

जुन प्रयोजनको लागि लगानी गरिएको त्यो नपाए पछि आफू ठगिएको मल्लको दाबी छ। सम्झौताअनुसारको काम नगरेपछि ठगीमा पर्ने कानुनका जानकारहरू बताउँछन्।

मल्लले ल्याण्डमार्कमा घर बनाउन सिई कन्स्ट्रक्सनलाई जिम्मा दिएपछि घरको लागि उक्त रकम बुझाएका थिए। अन्य घर दिए पनि सम्बन्धित घर दिन रुप ज्योतिले नमानेको मल्ल पक्षको भनाइ छ।

निर्माण व्यवसायीले आफूले घर बनाए पनि जग्गा ज्योतिको नाममा पास भएकाले उनैले दिनुपर्ने बताएका थिए। तर ज्योतिले दिन नमानेको गुनासो छ। लामो समय घर दिन नमानेपछि मल्ल ठगीको उजुरी बोकेर हिँडेका थिए। अहिले पनि एक करोड ३६ लाखको कुरा मात्रै होइन, त्यसमा भएको लगानी र फाइदाकोबारे पनि  मल्ल पक्षले कुरा उठाएको छ। 

अन्य पनि...

रुप ज्योतिले यथार्थमा अन्य विषय पनि जोडिएको दाबी गरेका छन्। अदालतमा उच्च तहबाट ठूलो रकम फिरौती मागिएको बयान दिएका छन्। कारोबार मात्रै नभएर रिसिबी साँधिएको गुनासो उनले गरेका छन्। लामो समय विवाद भएपछि मल्ल पक्षका कानुन व्यवसायीले एक दिन भए पनि थुनाएरै छोड्ने प्रतिवद्धता गरेको दाबी गरिएको छ।

यता नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसमेत यो विषय छिटो समधान गर्न चाहन्छन्। दुवै व्यवसायी भएकाले  उनीहरू समाधानमा केन्द्रित भएका छन्। ‘यो दुई व्यवसायीको मुद्दा हो, छिटो समधान गरिनु पर्छ। यस्ता विष बाहिर ल्याउनु हुँदैन’ महासंघका पूर्वउपाध्यक्ष क्षेष्ठ भन्छन्।

मल्लले दिएको रकम भुक्तानी गर्न ज्योति तयार भएको बताइएको छ। तर पनि मल्लको मागमा ज्योति समूहको सहमतिपछि मात्रै यो मुद्दा मिल्न सक्ने अवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.