|

अर्घाखाँची : अर्घाखाँची प्रिमियर लिग (एपिएल) को तेस्रो संस्करणको उपाधी एम्स स्टारले जितेको छ। फाइनल खेलमा नमस्ते अर्घाखाँचीलाई २६ रनले हराउँदै एम्स स्टारले पहिलो पटक उपाधी जितेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको एम्स स्टारले १९/५ बलमा सबै विकेट गुमाउँदै ११० रन बनाएको थियो।

एक सय ११ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नमस्ते अर्घाखाँची १८/४ बलमा ८४ रनमै अलआउट हुन पुग्यो। जितसँगै एम्स स्टारले नगद  १ लाख ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेतामा खुम्चिएको नमस्ते अर्घाखाँचीले नगद ५५ हजारमा चित्त बुझाउनु पर्‍यो। 

यस्तै, नमस्ते अर्घाखाँचीका सौरभ खत्री प्लेयर अफ द टुर्नामेन्टको रूपमा पुरस्कृत भएका छन्। उनले प्रतियोगिता भरी १६० रन बनाए भने १२ विकेट पनी लिएका थिए। प्रतियोगितामा १७५ रन बनाएका एम्स स्टारका सुवास थापा बेस्ट ब्याट्सम्यान, १७ विकेट लिएका नमस्ते अर्घाखाँचीका नवजीवन क्षेत्री बेस्ट बलर र १३ छक्का प्रहार गरेका नमस्ते अर्घाखाँचीका कप्तान मनोज सापकोटा मोस्ट सिक्सेस अफ द टुर्नामेन्ट भए।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी सन्धिखर्कका नगरप्रमुख कमल प्रसाद भुसालले खेल स्वच्छ स्वास्थ्यको लागि अपरिहार्य भएकाले यसको विकासमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताए। खेल क्षेत्रमा नगरपालिकाले उदारता देखाएको भन्दै उनले अनुशासित र मर्यादित भएर खेल्न तथा भविष्य बनाउन खेलाडीलाई सुझाव समेत दिए।

कार्यक्रममा नगर उपप्रमुख ठाकुर कुमार बिकले खेल मैदान टुडिखेलको तारबार संरक्षणका लागि ५ लाख छुट्टाइएको भन्दै केही महिनाभित्र काम हुने उनले जानकारी दिए। खेल क्षेत्रको विकासमा नगरपालिका पछि हड्दैन तर हरेक खेल क्षेत्रमा योग्य र दक्ष भएर जिल्लाकै नाम उच्च स्थानमा राख्न खेलाडीले सक्नु पर्छ भन्ने खेलाडीलाई उनको सुझाव थियो।

प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, सन्धिखर्क १ का वडाध्यक्ष युवराज बन्जाडेलगायतको उपस्थिति रहेको थियो। अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईको अध्यक्षता र लक्ष्मण घिमिरेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.