|

धनगढी : लिटल फ्लावर स्कुल धनगढी निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो संस्करणको च्याम्पियन भएको छ। संस्कार क्रिकेट एकेडेमीको आयोजनामा संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा मंगलबार भएको फाइनलमा हिमालय ह्वाइट हाउस वर्ल्ड स्कुल काठमाडौंलाई ९ विकेटले हराउँदै चौथो संस्करणको च्याम्पियन बनेको हो।

कप्तान विपिन रावल र सुवाश ऐरले उत्कृष्ट प्रदर्शन गरेपछि लिटल फ्लावर लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। तेस्रो  संस्करणमा लिटल फ्लावर लिटिल बुद्ध एकेडेमीलाई हराएर च्याम्पियन बनेको थियो। चौथो संस्करणको विजेता भएसँगै लिटल फ्लावरले नगद २ लाखसहित टफी पाएको छ। उपविजेता हिमालय ह्वाइट हाउसले एक लाख नगदसहित टफी पाएको छ।

संघीय प्रहरी कार्यालयको खेल मैदानमा भएको फाइनल खेलमा टस जितेर पहिले व्याटिङ गर्दै हिमालय ह्वाइट हाउसले दिएको एक सय ३८ रनको लक्ष्य लिटल फ्लावरले ११ बल बाँकी रहँदै भेट्टायो। १८.१ ओभरमा जित हात पार्नका लागि सुवास ऐर र कप्तान विपिन रावलले उत्कृष्ट प्रदर्शन गरे। सुवासले ५४ वलमा ३ छक्का र ९ चौकाको मदत्तमा अविजित ६८ रनको पारी खेल्दा विपिनले ३८ वलमा ३ छक्का र ४ चौकाको सहयोगमा ४७ रन बनाए। दुवै ओपनर व्याट्सम्यानले पहिलो विकेटका लागि एक सय ३ रनको शतकीय साझेदारीसमेत गरे। हिमालय ह्वाइट हाउसका विक्रम ठगुन्नाले कप्तान विपिन रावललाई अर्धशतक बनाउनबाट रोक्दै क्याच आउट गराएपछि मैदान प्रवेश गरेका लिटल फ्लावरका नरेन भट्टले अविजित १२ रन जोडे।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको हिमालय ह्वाइट हाउसले उत्कृष्ट सुरुवात गरे पनि मध्यक्रमको पारी धर्मराउँदा उसले २० ओभरमा एक सय ३७ रन बनायो। हिमालयका लागि ओपनरद्वय दिपक वोहोराले ३४ रन र सुदीप बस्नेतले १८ रन बनाए। उनीहरूले पहिलो विकेटका लागि ६ ओभरमा ६१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए।

त्यसपछि हिमालयको मध्यक्रम मैदानमा टिक्क सकेन्। छैटौँ नम्बरमा मैदान छिरेका सुमीत श्रेष्ठले २५ रन बनाउनुबाहेक अन्य व्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। लिटल फ्लावरका लागि दीपक रोकाया र अनुराग सिंहले दुई/दुई विकेट लिँदा विपिन रावलले एक विकेट लिए।

फाइनल खेलमा अविजित ६८ रन बनाएका लिटल फ्लावरका सुवाश ऐर म्यान अफ द म्याच भए। उनले नगद एक हजार पाँच सयसहित टफी पाए। कात्तिक १६ गतेदेखि कात्तिक २६ गतेसम्म धनगढीमा सञ्चालन गरिएको प्रतियोगिताका उत्कृष्ट खेलाडी हिमालय ह्वाइट हाउसका आरियो पौडेल भएका छन्। उनले नगद १५ हजार रुपैयाँ पाएका छन्। त्यस्तै, प्रतियोगितामा शारदा विद्या निकेतनका वीरेन्द्र नाथ उत्कृष्ट ब्याट्सम्यान, लिटल फ्लावर स्कुलका दीपक रोकाया उत्कृष्ट बलर र लिटल  फ्लावरका अनुराग सिंह उदयमान खेलाडी बनेका छन्। उनीहरूले जनही नगद ५ हजार पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.