|

इलाम : लियो क्लब अनारमनीकी प्रेसिडेन्ट शमिरा शिवाकोटी झापामा अलि बढी गर्मी महसुस हुन साथ इलाम उक्लिन्छिन्। इलामको हरियो चियाबारी र छिनछिनमा कुहिरोसँग लुकामारी खेल्ने कन्यामको मौसमले मात्र उनलाई आर्कषित गरेको भने होइन। त्यहाँ उपलब्ध जातीय र सांस्कृतिक पोशाकले समेत उनको मन तानेको छ। हरेक पटक कन्याममा उनी फरक–फरक जातीय पोशाकमा भेटिन्छिन्। 

‘कन्यामको सुन्दरता त छँदैछ यहाँ पाइने विभिन्न जातीय पोशाकले समेत लोभ्याएको छ,’ उनी भन्छिन् ‘एकतर्फ नयाँ अनुभव गर्न नि पाइने अनि परम्परागत पोशाक संरक्षणका लागि प्रयास पनि हुने।’ 

पछिल्लो समय पश्चिमा संस्कृतिले जरो गाडे पनि शमिराजस्ता युवा पुस्ताहरु क्रमशः परम्परागत पोशाकतर्फ आकर्षित बन्दै गएका छन्। हजारौंको संख्यामा इलाम भित्रिने पर्यटकको रोजाइ नै बनिसकेको छ  परम्परागत पोशाक। चिया बगान घुम्न आएकाहरु प्राकृतिक सुन्दरतामा रमाउँदै जातीय पहिरन लगाएर फोटो खिचेर मजा लिइरहेका छन्।

पर्यटक तान्ने यो नौलो काइदा सम्भवत नेपालमा पहिलो पटक सुरु भएको मानिन्छ। भारतको दार्जिलिङ र सिक्किममा यस्तो चलन पुरानो हो। थुम्काथुम्कामा फैलिएको चिया बगानमा उभिएर सेल्फी खिच्नुको रमाइलो बेग्लै छ। ‘हरियो कार्पेट’जस्तो देखिने चिया बगानमा खिचेको फोटो सामाजिक सञ्जालमा अपलोड गरे लाइक र कमेन्ट थामिनसक्नु हुन्छ। कोही शेर्पा त कोही लिम्बु जातीय पोशाकमा सजिएका भेटिन्छन्। 

यति मात्र होइन इलाममा मात्र बसोवास गर्ने लेप्चा समुदायको दमबोन र दमदेनमा सजिएका युवायुवतीको तस्विरले तेस्रो मुलुकको पर्यटकलाई समेत तानेको छ। आधा दर्जनभन्दा बढी जातीय पोशाक कन्यामको शोभा नै हो। ‘कल्चरल ड्रेस’ मा पर्यटकहरु आकर्षित हुन थालेपछि यहाँका व्यावसायीहरुले आफ्नो श्रमको मूल्यसँगै राम्रो आम्दानी गर्न थालेका थालेका छन्। 

यस्ता परम्परागत पहिरनका भाडामा दिनका लागि पोशाक सेन्टरहरू पनि खुलेका छन्। जहाँ गरगहना पनि उपलब्ध छन्। एउटा ड्रेस लगाएर तस्बिर खिचाएको समयअनुसार १०० देखि २०० रुपैयाँसम्म शुल्क लिने गरेका छन्। कन्याममा यस्ता जातीय पोशाक र गरगहना पाउने एक दर्जनभन्दा पसल छन्। कन्याममा पर्यटक भित्र्याउने माध्यम हरियाली मात्र नभएर जातीय पोशाक र घोडचढी समेत रहेको व्यवसायी सीता मोक्तान बताउँछिन्। 

उनका एउटा पसलले दैनिक दुई हजार रुपैयाँभन्दा बढी आम्दानी गर्छन्।  आदिवासी जनजातिको पोशाक चिनाउन र पर्यटन प्रवर्द्धन गर्न ‘कल्चरल ड्रेस’को महत्त्व बढ्दै गएको व्यवसायीहरूको भनाइ छ । ‘पर्यटकले छानीछानी परम्परागत पहिरन लगाई फोटो खिच्ने गरेका छन्,’ व्यवसायी मोक्तान भन्छिन् ‘अहिले १४/१५ प्रकारको ड्रेस छन्।’

परम्परागत पहिरनमा पर्यटक आकर्षित हुन थालेपछि त्यहाँका फोटो व्यवसायीहरुले समेत मनग्य आम्दानी गर्न थालेका छन्। कन्याममा अहिले फोटो व्यवसायीको संख्यासमेत बढ्दै गएको छ। ‘मासिक ३० हजार रुपैयाँसम्म आम्दानी हुन्छ,’ एडीआर फोटो स्टुडियोका सञ्चालक राजेश गुरुङले भने।

सूर्योदय नगरपालिकाको कन्याममा रहेको चियाबारी घोडचढी गर्न, फोटो खिच्न, पिकनिक, सूर्योदयको दृश्यावलोकन, चिया गार्डेन हाइकिङ गर्न तथा चियाबारे अध्ययन गर्नेहरुको रोजाइ बन्दै गएको छ। प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको कन्याम पूर्वी नेपालको हनिमुन गन्तव्यका रूपमा समेत र्चिचत हुँदै गएको छ। मेची राजमार्गसँगै जोडिएकाले पनि धेरै पर्यटक आउने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.